बीमालेख नवीकरणको अवधि थप

बीमालेख नवीकरणको अवधि थप

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
बीमा समितिले लकडाउनको समयमा सङ्कलन गर्नुपर्ने जीवन बीमा प्रिमियम बापतको रकम सङ्कलन गर्ने अवधि आगामी जेठ मसान्तसम्म थप गरेको छ । समितिले सो अवधिको ब्याज नलाग्ने व्यवस्था मिलाइएको जनाएको छ । समितिले गत चैत २० गते जारी गरेको परिपत्रमा केही विषय संशोधन गरी नयाँ व्यवस्था गरेको हो ।

कोरोनाको सङ्क्रमणका कारण सिर्जना भएको असामान्य परिस्थितिमा बीमा अवधि समाप्त भएको बीमालेखको हकमा सम्बन्धित बीमितको लिखित अनुरोधका आधारमा बीमालेख नवीकरण गर्ने व्यवस्थालाई लकडाउन अवधि सकिएको मितिले थप १५ दिन कायम गर्ने व्यवस्था मिलाएको जनाएको छ ।

गत चैत र वैशाखमा नवीकरण गर्नुपर्ने बीमा अधिकर्ता र सर्भेयरको इजाजतपत्र नवीकरणको म्याद आगामी असार मसान्तसम्म थप गरी सो बापतको जरिवाना नलाग्ने व्यवस्था मिलाइएको समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए । उनका अनुसार निर्जीवन बीमकले तत्काल सिर्जना हुने दाबी भुक्तानीका लागि विद्युतीय माध्यमबाट समेत निवेदन प्राप्त भएकामा अवस्था सामान्य भएपछि तत्काल सर्भे गराई क्षति यकिन गरी दाबी भुक्तानी गर्ने व्यवस्थालाई निरन्तरता दिने व्यवस्था मिलाइएको छ ।

Logo