काठमाडौं ।
सरकारले लकडाउनका कारण समस्यामा परेका उद्योगहरुलाई बुस्टअप गर्नेगरी बजेट ल्याउनु पर्ने उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले बताएका छन् ।
उपाध्यक्ष ढकालले मध्यकालिन र दीर्घकालिन योजनासहित उद्योग प्रतिष्ठानहरुलाई बुस्टअप गर्ने व्यवस्था बजेटमार्फत आउनु पर्ने बताएका हुन् । उनले कोरोना भाइरस (कोभिड–१९) को रोकथामका लागि लकडाउन गरिएपछि उद्योग प्रतिष्ठानहरु बन्द रहेको र बेरोजगारीको समस्या देखिएको भन्दै बजेट मार्फत नै संरक्षण गरिनु पर्ने बताए । यस्तै सरकारको राजस्व आम्दानी बढाउन पनि उद्योग प्रतिष्ठानहरुलाई जोगाउनु अपरिहार्य रहेको उपाध्यक्ष ढकालको भनाइ थियो । उनले उद्योग व्यवसायको संरक्षणका लागि उद्योग वाणिज्य महासंघसहितका व्यसायिक संगठनहरुले सरकारलाई सुझाव दिइसकेकाले सोही अनुसार नै बजेटले सम्बोधन गर्ने अपेक्षा गरिएको समेत बताए ।
देश भित्र बढ्ने बेरोजगारी र वैदेशिक रोजगारीबाट फर्केर आउनेहरुको संख्या ठूलो हुने भएकोले उनीहरुको व्यवस्थापनका लागि पनि बजेटको प्रकृति फरक हुनुपर्ने उपाध्यक्ष ढकालले बताए । उनले उद्योग प्रतिष्ठानहरुले रोजगारी सिर्जना गर्न सक्ने, उत्पादन बढाउने तथा सरकारको आम्दानी बढ्ने किसिमबाट बजेट आउनुपर्ने बताए । रेमिट्यान्स आप्रवाहमा हुने कमिबाट अर्थतन्त्रमा पर्ने असरलाई पनि बजेटले सम्बोधन गर्नुपर्ने उनले बताए ।





























प्रतिक्रिया