काठमाडौं ।
संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री यागेश भट्टराई समक्ष ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान) र नेपाल टेकिङ ट्राभल राफ्टिङ एयरलाइन्स संस्कृति पुरातात्विक कार्गो कुरियर श्रमिक युनियन (युनिट्राव) ले पर्यटन व्यवसायी तथा श्रमिकहरुको पुनर्जीवनका लागि ध्यानाकर्षण पत्र बुझाएका छन् ।
ध्यानाकर्षण पत्र बुझ्दै मन्त्री भट्टराईले कोरोना भाइरसका कारण पर्यटन क्षेत्रमा परेको असरलाई पुर्नजीवन दिने गरी सरकारले आगामी वर्षको नीति तथा कार्यक्रम तथा बजेटमार्फत ठोस कार्यक्रम ल्याउने बताए । मन्त्री भट्टराईले सरकार एक्लैको प्रयासबाट यो क्षेत्रलाई माथि उकास्न नसकिने उल्लेख गर्दै सरकार र नीजि क्षेत्रको संयुक्त पहलमा मात्र व्यवसायीको लगानी र श्रमिक तथा कर्मचारीको जीवनयापन सुरक्षित गर्न र पर्यटन व्यवसायलाई बिउँताउन सकिने बताए ।
यस्ता खालका प्रकोपबाट मात्र नभएर अन्य उतार चढावले पनि पहिलो निशाना पर्यटन क्षेत्रलाई नै पार्ने उल्लेख गर्दै मन्त्री भट्टराईले जनसंख्याको ठूलो हिस्सा धानेको पर्यटन क्षेत्रलाई फेरी कसरी बिउँताउन सकिन्छ भनेर सरकारले गृहकार्य गरिरहेको बताए । नेपालको पर्यटन क्षेत्रमा १५ खर्ब ९५ अर्ब भन्दा वढी र आठ–नौ लाख प्रत्यक्ष रोजगारी रहेको प्रारम्भिक तथ्यांक रहेको उल्लेख गर्दै मन्त्री भट्टराईले भने–‘आठ–नौ लाख जनसंख्या प्रत्यक्ष रोजगारीमा जोडिएको यो क्षेत्रबाट आश्रित जनसंख्याको हिस्सा ठूलो छ, तीनको जीवनयापनलाई सुरक्षित बनाउन सरकारले उचितकदम चाल्छ ।’
यसअघि मन्त्रिपरिषद्को बैठकबाट पनि तत्काल राहतका लागि व्यवसायीहरुले तिर्नु पर्ने व्याजको समयसीमा बढाउने, घरभाडा छुटका लागि घरधनीसँग आग्रह गर्ने लगायतका केहि घोषणा भइसकेको उल्लेख गर्दै मन्त्री भट्टराईले दीर्घकालीन राहतका प्याकेजबारे पनि आन्तरिक तयारी भइरहेको बताए ।
उनले भने–‘व्यवसायीलाई पछि पनि कसरी वित्तिय सहयोग उपलब्ध गराउने र श्रमिकलाई पनि सरकार वा सम्बन्धित कम्पनी जमानी बसेर केहि गर्न सकिन्छ कि भनेर गृहकार्य गरिरहेका छौं ।’ त्यस्तै, यदि यो क्षेत्रमा आवद्ध श्रमिकहरु जान चाहन्छन् भने हाइड्रो पावर, सडक निर्माण, विमानस्थल निर्माण, सगरमाथा सरसफाई, सम्पदा सरसफाइ लगायतका काममा लगाउन सकिने गरि बैकल्पिक रोजगारीका बारेमा पनि गृहकार्य भइरहेको मन्त्री भट्टराईले बताए । कोरोनाका कारण अलपत्र परेका तथा खान नपाएका कोही श्रमिक÷कर्मचारी छन् भने तीनको समस्याको तत्काल सम्बोधन गरिने उल्लेख गर्दै मन्त्री भट्टराईले समस्यामा परेकाहरुको तथ्याङक तत्काल उपलब्ध गराउन टान र युनिट्रावका प्रतिनिधीसँग आग्रह गरे ।
टान र युनिट्रावका तर्फबाट बुझाईएको ध्यानाकर्षण पत्रमा ब्याज मिनाहा, एक बर्षसम्म विनाधितो दुई प्रतिशत व्याजदरमा २० लाख सम्म कर्जा सुविधा तथा घरभाडा छुटका लागि पहल गर्नु पर्ने, टिम्स अन्तर्गत मजदूर कल्याण कोषको जम्मा भएको रकम श्रमिक हितको लागि प्रयोग गर्नु पर्ने, ट्रेकिङ कम्पनीको नविकरणको समयावधि ६ महिना थप्नु पर्ने, आउँदो बजेट मार्फत पर्यटन क्षेत्रमा विशेष छुटका योजना ल्याउनु पर्ने लगायतका माग उल्लेख गरिएका छन् ।





























प्रतिक्रिया