हेटौँडा औद्योगिक क्षेत्रमा दैनिक ३० करोड घाटा

हेटौँडा औद्योगिक क्षेत्रमा दैनिक ३० करोड घाटा

केन्द्रबिन्दु
0
Shares

हेटौँडा ।

कोभिड–१९ को जोखिम हुन नदिन लकडाउन जारी रहेपछि यहाँस्थित औद्योगिक क्षेत्रमा रहेका उद्योगमा दैनिक ३० करोड घाटा भइरहेको छ ।

हेटौँडा औद्योगिक क्षेत्रमा ठूला र मझौला गरी १११ उद्योग छन् । औद्योगिक क्षेत्रमा पाँच हजार कर्मचारीसहित मजदूर कार्यरत रहेका छन् । लकडाउनका कारणले सो उद्योग बन्द भएपछि अहिले उद्योगको अवस्था दयनीय छ भने मजदुरको समेत रोजगारी गुमेको छ । लकडाउन हुनुभन्दा अगाडि प्रत्येक उद्योगको करिब रु तीन करोडभन्दा बढीको कारोवार हुने गरेको थियो ।

हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड कार्यालयका अनुसार अति आवश्यक वस्तुहरु उत्पादन गर्ने २०/२१ उद्योग मात्र सञ्चालनमा रहेको छ । सामाजिक दूरी तथा स्वास्थ्य जाँचको समेत व्यवस्था गरिएको ती उद्योगसमेत आंशिकरूपमा चलेको बताइन्छ । उद्योगमा कच्चा पदार्थ, मजदूर अभाव, दुवानी र बिक्री वितरणको समस्याले आंशिकरूपमा चलेको छ ।

कार्यालय प्रमुख राजेन्द्र कँडेलका अनुसार अतिआवश्यक वस्तु उत्पादन गर्ने उद्योगमा दुग्ध उद्योग, खानेपानी उद्योग, बेकरी तथा बिस्कुट उद्योग, मैदा उद्योग, पशुपक्षी दाना उद्योग, प्लास्टिक उद्योगलगायतका उद्योग सञ्चालनमा रहेका छन् । सञ्चालित उद्योग पनि मझौला उद्योगहरु हुन् । उद्योग बन्दले घाटा खानु परेकाले बैंकको ऋण तिर्न समस्या परेको तथा कर्मचारीको तलब दिनुपर्ने लगायतका थुप्रै समस्या आएको उद्योग सङ्घले जनाएको छ ।

सङ्घका अध्यक्ष लेखराज पोखरेलका अनुसार उद्योगीको व्यापक गुनासो रहेको उल्लेख गरे । उद्योग बाहिर बस्ने मजदूरलाई काम गर्न जाँदा बाटोमा प्रहरीले अप्ठ्यारो पार्ने गरेको मजदूरको गुनासो छ । त्यस्तै हेटौडा सिमेन्ट उद्योग, शिवम सिमेन्ट उद्योग, रिद्धिसिद्धि सिमेन्ट उद्योग र एशियन पेन्टस उद्योग लगायतका अन्य ठूला उद्योग बन्द छन् ।

त्यसैगरी हेटौँडा उपमहानगर क्षेत्रमा रहेका कवार खानामा कवार संकलन गर्ने मजदूर पनि बेरोजगार छन् । लोहा, टिना प्लास्टिक तथा सिसाको बोतल र टुटफुट भएका सामान सङ्कलन गर्ने व्यवसायी एवं मजदूरी गर्ने कारोवार ठप्प छ । हेटौँडामा विभिन्न टोलमा गरी चार दर्जनभन्दा बढी कवारखाना रहेको र ५०० भन्दा बढी मजदूर आश्रित रहेको हेटौँडा–४ कवारखानाका सञ्चालक राम एकवाल गुप्ताले जानकारी दिए ।

सर्लाही सुदरमुकामका बासिन्दा रहेका हेटौँडामा कवार सङ्कलन गर्ने दिनेश साहले मासिक २५ हजार कमाउने गर्थे तर लकडाउनले खान पनि आपत परेको गुनासो गरेको पाइएको छ । त्यस्तै ग्रिल र फर्निचर उद्योगमा कार्यरत मजदूर उद्योगीको समेत समस्या भएको गुनासो छ । वाग्मती प्रदेश नेपाली काँग्रेस प्रतिपक्षी दलका नेता ईन्द्रबहादुर बानियाँले मजदूरको समस्याप्रति सरकार गम्भीर नभएको आरोप लगाएका छन् । उनले भने, “यस्तो अवस्थामा सबै दलबीच समन्वय जरुरी छ । ”रासस

Logo