यातायात व्यवसायीको मोबाइलमा बज्न थाल्यो ऋणको घण्टी

यातायात व्यवसायीको मोबाइलमा बज्न थाल्यो ऋणको घण्टी

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

कोरोना भाइरस (कोभिड-१९) ले यति बेला विश्वलाई नै आक्रान्त बनाएको छ । यसले मानव जगत लगायत विश्व अर्थतन्त्रलाई समेत तहसनहस बनाएको छ । अहिले विश्व नै लकडाउनमा रहेको छ । यसरी लकडाउनमा रहेकाले सम्पूर्ण आर्थिक गतिविधि ठप्प रहेका छन् ।

यसरी सम्पूर्ण गतिविधि ठप्प रहेता पनि अहिले यातायात व्यवसायीका मोवाइलमा बैंक तथा वित्तिय सहकारी संस्थाबाट म्यासेज र घण्टी बज्न थालेका छन् । चैत मसान्तको बिहानैदेखि बैंक तथा वित्तिय संस्थाबाट ऋणको ‘ब्याज’ तिर्नका लागि मोबाइलमा फोनको घण्टी तथा म्यासेज आउन थालेको यातायात व्यवसायीहरुले बताएका छन् ।

उनीहरुका अनुसार अहिले देश लकडाउनमा रहेको अवस्थामा पनि पहिलेकै जस्तै चैत मसान्तको घण्टी बझ्न थालेकाले कोरोना भाइरसको सन्त्रासले मारमा परेका व्यवसायीहरु अझ समस्यामा परेका हुन् ।

बैंकका घण्टी र म्यासेजका अलर्ट बज्न थालेपछि बैंकमा तीनपुस्ते तथा सवारीसाधन राखेर कर्जा लिई दैनिक गुजारा गर्ने यातायात व्यवसायी त्रसित बन्न थालेको गुनासो आएको नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले बताए ।

२२ दिनदेखि सरकारले मुलुक लकडाउन गरेको छ । सरकारले यो विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको प्रकोपका कारण बैंकको ब्याजमा छुट र सहुलियत दिने आश्वासन दिएको थियो । तर पनि बैंकको घण्टी र म्यासेजले आतङ्कित बनाउन थालेकाले व्यवसायीहरु आतिन थालेको महासचिव सिटौलाको भनाइ छ।

उनका अनुसार अहिले ९० प्रतिशत व्यवसायीहरुले बैंक तथा सहकारीबाट कर्जा लिएर यातायात सञ्चालन गरिरहेका छन् । मुलुक नै लकडाउनमा रहेकाले यातायात सञ्चालन नगरि ऋणको किस्ता तिर्न कठिन भएकोले सरकारले बैंक तथा सहकारीको किस्ता र ब्याजमा केही सहुलियत दिनु पर्ने व्यवसायीको माग रहेको छ ।

उनले भने, ‘यातायात व्यवसायीहरुले ५ वर्षे किस्तामा सवारीसाधन सञ्चालन गरेका हुन्छन् । यसमा व्यवसायीले तिर्नु पर्ने किस्ताको समय तीन महिना थप तथा कर्जाको ब्याजमा बैंक तथा सहकारीलाई पनि मार नपर्ने गरि छुट दिने व्यवस्था गर्नु पर्ने हाम्रो माग रहेको छ ।’

कोरोना भाइरसका कारण यतिबेला यातायात, पर्यटन, विकास निर्माण, उद्योग कलकारखाना र सेवा व्यवसाय ठप्प रहेता पनि सबै बैंक तथा वित्तिय संस्थाहरूले आ–आफ्ना ऋणीहरूलाई हैसियत र अवस्था अनुसार ब्याज बुझाउन मोबाइलमा घण्टी र म्यासेज पठाउन थालेपछि साना–ठूला सबै व्यवसायीहरु त्रसित हुन थालेको उनको भनाइ छ।

लकडाउनका कारण मुलकभर लामो तथा छोटो दूरीका यात्रुबाहक बस, मिनिबस, माइक्रोबस मालबाहक ट्रक, ट्याक्सी, जिप भ्यान गरी ४ लाख सवारी साधन बन्द भएका छन् । तर यातायात क्षेत्रले बैंक तथा वित्तीय संस्थाहरूबाट करिब साढे ३ खर्बभन्दा बढी कर्जा लिएर व्यावसाय चलेको महासंघका महासचिव सिटौलाले बताए ।

अहिले सरकारले चैत महिनाको ब्याज असारमा तिर्नू भनेको छ, तर बैंकहरूले गाडीवालाहरूलाई फोन गरेर हैरान पारेका छन्, सिटौलाको आक्रोश थियो । उनले आक्रोश पोख्दै भने, ‘मुलुक लकडाउनमा हुँदा पनि बैंकको ब्याज ट्याक्सीको मिटर घुमेजसरी घुमेको छ भने सरकारले व्यवसायीलाई कसरी सहुलियत दियो प्रश्न गरे ।

सिटौलाका अनुसार नेपालमा यातायात व्यवसाय ठप्प हुँदा प्रत्यक्ष रुपमा १० लाख र अप्रत्यक्ष रुपमा उनीहरुका परिवार समेत गरि ४० लाख मजदुर प्रभावित भएका छन् । सरकारले कुनै पनि सहुलियतको व्यवस्था नगर्ने ‘यही स्थिति हो भने गाडी मजदूरहरूले कसरी बाँच्ने ? सरकारले ब्याज मात्रै हिसाब गरेर बस्ने हो भने यातायात क्षेत्र अबको ५ वर्षमा पनि माथि नउठ्ने उनले बताएका छन् ।

मुलुकको यातायात क्षेत्रमा प्रत्यक्ष–अप्रत्यक्ष रुपमा ४० लाख मजदूरहरू आबद्ध छन् । यातायात क्षेत्रमा करिब ८० प्रतिशत बैंकको लगानी छ भने बाँकी २० प्रतिशत फाइनान्स, सहकारी र अन्य क्षेत्रको छ ।

यता, नेपाल बैंकर्स एशोसिएसनले बैंकको नियम अनुसार व्याज र किस्ता असुली गर्ने बताउँदै आएको छ। बैंकर्सहरुले केही दिन अगाडी नै भनेका छन्, चैत्रमा बुझाउनेलाई १० प्रतिशतसम्म छुट छ । तर, असारभित्र त जसरी पनि साँवा र ब्याज असुल गर्नुपर्ने हुन्छ ।

नेपाल राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्ट सरकारले दिएको ब्याजको अवसरलाई सदुपयोग गरेर बैंकको ब्याज र किस्ता बुझाउनु पर्ने बताउँछन् । उता उद्यमीहरूले लकडाउनमा पनि बैंकहरूले मिटर ब्याज उठाएको भन्दै खुलेआम रुपमा विरोध गरेका छन् । सरकारले अप्ठ्यारोमा पनि जनतासँग ब्याज उठाएको भन्दै सरकारको आलोचना पनि भइरहेको छ ।

१० लाख मजदूरको रोजीरोटी बन्द

कोरोनाका कारण यति बेला १० लाख मजदुरको रोजीरोटी बन्द भएको छ भने यसको प्रभावसँगै अर्थतन्त्रमा पुगेको असरले यातायात क्षेत्रका साढे ३ लाख मजदुर बेरोजगार हुने अवस्थामा पुगेका छन् । त्यसमध्ये ६५ प्रतिशत (६ लाख ५० हजार) स्वरोगार छन् भने बाँकी ३५ प्रतिशत (३ लाख ५० हजार) मजदुर श्रमिकका रूपमा कार्यरत छन् । अहिले कोरोना संकटबाट साहुको बस, ट्रक, ट्याक्सी चलाएर गुजारा गर्ने ३ लाख ५० हजार चालक तथा सहचालक बेरोजगार बनेको महासंघका महासचिव सरोज सिटौलाले जानकारी दिए ।

अर्का तर्फ स्वरोजगार साढे ६ लाख पनि समस्यामा छन् । उनीहरु कर्जामा निकालेको सवारीको किस्ता तिर्न नसकेर समस्यामा परेका हुन् । सवारीसाधन भएकामध्ये ९० प्रतिशतले बैंकबाट कर्जामा सवारीसाधन निकालेका हुन्छन् । तर, अहिले सवारीसाधन ठप्प भएपछि बैंकको ब्याज तिर्न सक्ने अवस्थामा नभएको व्यवसायीको भनाइ छ ।

ब्याजदर घटाउनु पर्ने

यातायात व्यवसायीले बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋणको ब्याजदर घटाउनु पर्ने सरकारसँग माग गरेका छन् ।व्यवसायीले विभिन्न बैंक, सहकारी तथा अन्य वित्तीय संस्थाबाट २४ प्रतिशतसम्मको ब्याजदर लिइरहेका छन् । त्यस्तै, सरकारले यातायात व्यवसायीलाई सहुलियतपूर्ण रुपमा ब्याजदर घटाउनु पर्ने पृथ्वी राजमार्ग प्रालिका अध्यक्ष योगेन्द्र केसीले बताए ।

Skip This
Skip This
Logo