कोरोना रोकथाममा सहयोग बढाउँदै रेडक्रस

कोरोना रोकथाममा सहयोग बढाउँदै रेडक्रस

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपाल रेडक्रस सोसाइटीले कोभिड–१९ रोकथाम र प्रतिकार्यका लागि आपत्कालीन सेवालाई सजगताका साथ तीव्र गति दिएको जनाएको छ ।

रेडक्रसले देशभरिका क्वारेन्टाइन क्षेत्रमा तीन हजार ४८९ कम्मल, दुई हजार २०० तारपोलिन र टेन्ट, एक हजार १४२ बाल्टिन र जग, पाँच हजार एक सय साबुन, एक हजार ५०३ वटा म्याट्रेस, २५३ तन्ना, एक हजार २०० सय झुल लगायतको सामग्री सहयोग उपलब्ध गराएको रेडक्रसका सञ्चार निर्देशक दिव्यराज पौडेलले जानकारी दिए ।

रेडक्रसले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग निकटमा रही गत जनवरीदेखि कोरोना भाइरसको प्रतिकार्य र रोकथाममा काम गर्दै आएको छ । कोरोनाको समस्या शुरु हुने बित्तिकै रेडक्रसले आपत्कालीन अपरेशन सेन्टरलाई सक्रिय बनाएको रेडक्रसका उपमहामन्त्री हरिप्रसाद न्यौपानेले जानकारी दिए। जोखिम न्यूनीकरणका लागि नेपाल सरकार, रेडक्रसका अन्तर्राष्ट्रिय महासङ्घ, संयुक्त राष्ट्रसङ्घलगायतका निकायसँग आवश्यक समन्वय गरी काम भइरहेको उनले बताए ।

समुदायमा चेतना कार्यक्रम, स्थानीय सङ्घसंस्थाहरूसँग बैठक, सूचना, शिक्षा तथा सञ्चार सामग्रीको वितरण, एफएम रेडियोमार्फत समुदायलाई आवश्यक सही सूचनाहरू प्रचारप्रसार गतिविधिहरुमा रेडक्रसका युवा स्वयंसेवकहरु परिचालित भएका छन् । अग्रपङ्क्तिका स्वयंसेवकहरुले हात धुने अभियान, जानकारी पत्र वितरण, माइकिङ, औषधि छर्ने, मास्कहरुको वितरण गर्ने जस्ता कामहरु लकडाउनमा पनि स्थानीय निकायको सहकार्यमा गरिरहेका छन् । यस्तो गतिविधिबाट एक लाख ४२ हजार ५६ जना प्रत्यक्ष लाभान्वित भएको रेडक्रसले जनाएको छ ।

क्षतिको रोकथाम तथा नियन्त्रण गर्न मद्दत पु¥याउने गरी आगामी दिनमा प्रतिकार्य गतिविधिको कार्यविधि र कार्ययोजना तयार भइसकेको तथा सामुदायिक आवश्यकता र संलग्नताको अवधारणा बमोजिम जनचेतनामूलक र सहयोग कार्यक्रमहरु केन्द्रदेखि जिल्लास्तरमा सञ्चालन हुने रेडक्रसका कार्यकारी निर्देशक उमेश ढकालले बताए ।

रेडक्रसको निःशुल्क हटलाइन ११३० सञ्चालन गरिएको र यसमा लकडाउन लागू भएपछि १७५ टेलिफोनको सम्बोधन गरिएको रेडक्रसले जनाएको छ । त्यस्तै मनोवैज्ञानिक समस्या, महिला तथा बालबालिका हिंसा विषयमा परामर्शको लागि छुट्टै दक्ष समूह बनाइएको छ । विभिन्न तरिकाले फैलिएको अफवाह वा भ्रम कम गराई मानसिक दबाब, पीडा, डरका साथै समुदायमा हुनसक्ने हेयभाव कम गराउनतर्फ पनि वेब, सामाजिक सञ्जाल, रेडियो, टेलिभिजन जस्ता माध्यमबाट सञ्चार भइरहेको निर्देशक पौडेलले जानकारी दिए ।

अस्पताल तथा स्वास्थ्य डेस्कमा खटिएका रेडक्रस स्वयंसेवक र कर्मचारीका लगि स्वास्थ्य सुरक्षाका उपायहरु अवलम्बन गरिएको र रक्तसञ्चार केन्द्रमा रगतको मागका लागि आउने बिरामीका आफन्तलाई पनि यस्तै सुरक्षाका उपायहरु अपनाइएको छ । रेडक्रसले शव व्यवस्थापनका लागि नेपाल प्रहरीको विपत् व्यवस्थापन विभागलाई १५०, धुलिखेल अस्पताललाई ५० थान र नेपाली सेनालाई ५० वटा शव व्यवस्थापन ब्याग उपलब्ध गराएको जनाएको छ ।रासस

Logo