०७६ मा शेयर बजार : कहिले अर्थमन्त्री त कहिले कोरोना तगारो

०७६ मा शेयर बजार : कहिले अर्थमन्त्री त कहिले कोरोना तगारो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

०७६ साल शेयर बजारका लागि खासै सुखद रहेन । यो वर्षको सुरुवातदेखि नै शेयर बजारले निराश हुनुपर्यो । डा. युवराज खतिवडा अर्थमन्त्रीको रुपमा आएदेखि नै शेयर बजारले उनलाई पटक्कै मन पराएन । शेयर बजारका लगानीकर्ताहरुले अर्थमन्त्री खतिवडालाई तगारोका रुपमा मात्रै हेरिरहे । सुरुदेखि नै शेयर बजारका विषयमा विवादास्पद कुरा बोलेपछि उनी शेयर लगानीकर्ताका आँखामा कसिङगर जस्तै बनिरहे । तर पछिल्लो समय अर्थमन्त्री खतिवडाले आफ्नो छवि सुधार्न शेयर बजारका बारेमा सकारात्मक कुरा बोल्दै आएका थिए । तर पनि बजारले समस्या झेलेको झेल्यै भयो ।

पछिल्लो समय अब त केही सुधार होला भन्ने अपेक्षा लगानीकर्ताले गरेका थिए । तर त्यस्तो हुन सकेन । नयाँ वर्ष लागेपछि त बजारमा केही सुधार आउला भन्ने थियो लगानीकर्ताहरुलाई । खासै सुधार आउन सकेन । लामो समयदेखि मारमा परेका लगानीकर्ताले नयाँ वर्षको पूर्वसन्ध्यामा कोरोना भाइरसको संक्रमणका कारण फेरी समस्या झेल्नु प¥यो । कोरोनाको संक्रमण सुरु भएपछि सरकारले गत चैत्र ११ गतेदेखि लकडाउन गरेको छ । त्यसको मार पनि लगानीकर्तालाई परेको छ ।

०७६ सालको शेयर बजारमा वित्त समूहको उपसूचक ६१६.१२ बिन्दुबाट ६३६.१३ बिन्दुमा पुगेको थियो भने ट्रेडिङ २४७.६० बाट बढेर ७६३.७३ बिन्दुमा रोकिएको थियो । त्यस्तै, अन्य समूहको उपसूचक ७००.४२ बिन्दुबाट घटेर ६७९.९४ बिन्दुमा रोकिएको थियो । गतवर्ष समग्र कारोबारलाई हेर्दा बैंकिङ समूहको उपसूचकमा सबैभन्दा बढी गिरावट आएको देखिएको छ । यस समूहको उपसूचकमा ३५.२६ अंकको गिरावट आएको छ ।

०७६ चैतमा २ मा बैंकिङ समूहको उपसूचक १०५८ बिन्दुमा रहेको थियो । शेयर बजार चैत ९ गतेसम्म आइपुग्दा १०९३.२६ बिन्दुमा रोकिएको थियो । चैत ११ बाट त मुलुकमा सरकारले लकडाउन नै घोषणा गरेको छ । त्यसैगरी होटल समूहतर्फको उपसूचकमा पनि गिरावट आएकोे छ । यस समुहको कारोबार १८७.५५ अंकले घटेको देखिएको छ । गतवर्षको सुरुमा १७५१.०१ बिन्दुमा रहेको उपसूचक अन्तिम समयमा १५६३.४६ बिन्दुमा बन्द भएको थियो । त्यस्तै, गतवर्ष जलविद्यूत समूहको उपसूचक पनि घटेको छ । सो समूहको उपसूचक २००.३६ अंकले घटेर वर्षको अन्तिम कारोबारमा ९३३.०६ बिन्दुमा रोकिएको थियो ।

त्यसैगरी, गतवर्ष डेभलपमेन्ट बैंक समूहको उपसूचकमा भने सुधार देखिएको छ । गतवर्षको सुरुमा १४८३.८३ बिन्दुमा रहेको कारोबार अन्तिम अवधिमा २२७.१९ अंकले बढेर १७११.०२ बिन्दुमा पुगेर कारोबार बन्द भएको थियो । त्यस्तै, लघुवित्त वित्तीय संस्थाहरुको समूहको उपसूचकमा पनि सुधार देखिएको छ । यो समूहको उपसूचक १४३७.६० बिन्दुबाट ६१२.७ अंकले बढेर २०५०.३० बिन्दुमा पुगेको थियो ।

त्यस्तै, उत्पादन तथा प्रशोधन समूहको उपसूचकहरुमा पनि सुधार आएको थियो । गतवर्षको सूरुवातमा १९९२.०९ बिन्दुमा रहेको उपसूचक ४६७.२३ अंकले बढेर अन्तिममा २४५९.३२ बिन्दुमा रोकिएको थियो । गतवर्ष बीमा कम्पनीहरुको कारोबारमा पनि निकै उताव चढावको अवस्था रह्यो । जीवन बीमा समूहको उपसूचक ५९८०.२८ बाट ८१६.९३ अंकले बढेर ६७९७.२१ बिन्दुमा रोकिएको थियो भने निर्जीबन बीमा समूहको उपसूचकमा १७०.९१ अंकले घटेर ५२७१.७६ बिन्दुमा झरेको थियो ।

Logo