काठमाडौँ ।
कोरोना संक्रमणका कारण सरकारले मुलुकैभरी लकडाउन गरेपछि दुग्ध किसानहरु मारमा परेका छन् ।
मुलुकभरी दैनिक ५२ लाख लिटर दुध उत्पादन हुँदै आएको छ । त्यसको ३० प्रतिशत मात्रै बजारमा गएको छ भने ७० प्रतिशत दुध खेर गएको छ । ठूला ठूला फर्म खोलेर दुधको व्यवसाय गर्दै आएका किसानहरु बढी मर्कामा परेको नेपाल डेरी एशोसिएशनका अध्यक्ष राधाकृष्ण सापकोटाले बताए । ‘दुध मलखादमा फाल्नुको विकल्प छैन ।’ अध्यक्ष सापकोटाले भने । बजारमा दुध विक्रि नभएपछि कोही बस्तुलाई नै खुवाउने त केही मलखादमा फाल्ने भन्दा अरु विकल्प नभएको उनले बताए ।
केन्द्रीय सहकारी संघका अनुसार चितवनको भण्डारा दुग्ध उत्पादन सहकारीले दैनिक १२ हजार लिटर दूध संकलन गरी बजार पठाउने गथ्र्यो । तर लकडाउनको घोषणा भएसँगै सो सहकारीले दुध बजार पठाउन नसकेपछि फाल्नु परेको छ । त्यसपछिका दिनहरुमा त सहकारीले दुध नै संकलन गरेको छैन । लकडाउनका कारण एकातिर लाखौँ लिटर दुध खेर गएको छ भने अर्कातिर बस्तुभाउका लागि दाना प्रशस्त मात्रामा नपाएका कारण किसानहरु दोहोरो मारमा परेको अध्यक्ष सापकोटाको भनाइ छ ।
मुलुकभरी दूध उत्पादनको काम गर्ने १ हजार ८ सय ७२ सहकारी रहेका छन् । जसमा ४ लाख भन्दा बढी किसानहरु आबद्ध छन् । कुल उत्पादनको ७० प्रतिशत दुध खेर गएपछि किसानहरुको दैनिक ३ करोड रुपैयाँ बराबरको आयमा नोक्सान भएको संघको भनाइ छ ।
सरकारसँग राहत माग
लकडाउनका कारण दुग्ध व्यवसायीहरुले करोडौँ रुपैयाँ घाटा खानु परेपछि सरकारसँग क्षतिपूर्ति माग गरेका छन् । केन्द्रीय दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष नारायणप्रसाद देवकोटाले घाटा लागेको प्रति लिटरलाई आधार मानेर राहत माग गरेको बताए । ‘प्रतिलिटरलाई आधार मानेर राहत मागेका छौँ, हाम्रा मागमा सरकार सकारात्मक छ ।’ अध्यक्ष देवकोटाले भने । मन्त्रिपरिषद्मा समेत आफूहरुका मागका विषयमा छलफल भएको उनले बताए ।





























प्रतिक्रिया