‘बजारमा कुनै पनि सामानको अभाव छैन, कालोबजारी गरे तत्काल कारबाही हुने’

‘बजारमा कुनै पनि सामानको अभाव छैन, कालोबजारी गरे तत्काल कारबाही हुने’

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

कोरोना भाइरसको प्रभाव विश्वका १६२ देशमा देखा परेको छ । नेपालमा पनि यसको प्रकोप देखा पर्न सक्ने भन्दै सरकारले सावधानीका लागि विभिन्न नाकादेखि उडान समेत बन्द गरेको छ । यहि मौका छोपेर व्यापारीहरुले बजारमा दैनिक उपभोग्य वस्तु ग्यास तथा औषधीको कालोबजारी गर्न सुरु गरेका छन् ।

यति बेला देश संकटमा परेको छ । कोरोना भाइरसको प्रकोपबाट कसरी बच्ने भन्ने उपायमा लागेको छ । सरकार प्रकोप रोकथाम गर्न लागेका बेला सर्वसाधारण भने सरकारले सबै नाका बन्द गर्ने, ग्यास लगायतका सामान अभाव हुने भन्दै चुलो बाल्ने जोहोमा लागेका छन् । यति बेला ग्यासका पसलमा उपभोक्ताको लाइन लागेको देख्न सकिन्छ । तर, सरकारी निकाय तथा व्यवसायीहरु भने नेपालमा कुनै पनि वस्तुको अभाव नहुने बताइरहेका छन् ।

भारतबाट ग्यास तथा पेट्रोलियम पर्दाथको आयात भइरहेको र उपभोक्ताहरु सन्त्रासमा परेर ग्यास लगायत खाद्यानको मौज्दात गर्न थालेकाले मात्र अभाव देखिएको एल.पि ग्यास उद्योग संघका अध्यक्ष गोकुल भण्डारीले बताए । उनका अनुसार उपभोक्ताहरु त्रासमा परेकाले र घरमा भएका सबै खाली सिलिन्डर भर्न लागेपछि अभाव भएको हो, दैनिक एक लाख सिलिन्डर ग्यास आयात भइरहेको छ । उनले भने ‘उपभोक्ताहरुले आवश्यकता भन्दा बढी ग्यास लगायतका सामान मौज्दात नगर्न अनुरोध छ ।’

सरकारसँग अहिले ६ महिनालाई पुग्ने खाद्यान लगायतका सामाग्री रहेकाले कोही पनि उपभोक्ता आत्तिनु पर्ने अवस्था नरहेको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले बताए । उनका अनुसार यस्तो संकटको घडीमा कसैले पनि दैनिक उपभोग्य बस्तु, ग्यास, मास्क लगायत औषधीहरु व्यापारीहरुले कालोबजारी गरेको थाहा पाएमा तुरुन्त जरिवानासहित कारबाही गरिन्छ । उनले भने ‘अहिले हामी कालोबजारी र कुनै पनि बस्तुको अभाव हुन नदिन छुट्टीको दिन समेत बजारमा अनुगमन गरिरहेका छौं ।’

अहिले बजारमा आएको हल्ला जस्तो ग्यास तथा पेट्रोलियम पदार्थको अभाव नभएको नेपाल आयल निगमका महानिर्देशक सुरेन्द्रकुमार पौडेलले बताए । पेट्रोलियम पदार्थ आयातमा रोकिएको छैन । अब मूल्यमा समायोजन भएर बजारमा तेल गएकाले कुनै अभाव नहुने र यसको कालोबजारी पनि नहुने उनको भनाइ रहेको छ ।

त्यस्तै आजदेखि सरकारले नेपालमा अनअराइभल भिसा बन्द गरिएका समुद्रपारका आठ मुलुकबाट कृषिजन्य, पशुजन्य र बिरुवाजन्य सामग्रीको पैठारी गर्न तत्कालका लागि रोक लगाएको छ । कोरोना त्रासको कारण देखाउँदै कृषि मन्त्रालयले आठवटा मुलुकबाट हुने तीन प्रकारका आयातमा रोक लगाएको हो । रोक लगाइएका मुलुकमा चीन, जापान, दक्षिण कोरिया, इटाली, फ्रान्स, इरान, स्पेन र जर्मनी रहेका छन् । यसले गर्दा पनि जनता त्रासमा पर्ने देखिएको छ । आयात बन्द हुँदा बजारमा बस्तुको मुल्य बढ्ने तथा कालोबजारी बढ्ने देखिएको छ ।

Logo