- अनिश मिजार
काठमाडौं ।
एक महिनादेखि चीनमा फैलिएको कोरोना भाइरसको प्रभावले विश्वको अर्थतन्त्रलाई समेत संकटमा पारेको छ । विश्वका झण्डै ७० मुलुकमा संक्रमण फैलिएका कारण त्यसको असर नेपालको होटल तथा पर्यटन क्षेत्रमा पनि परेको हो ।
यसको असरले नेपालका ८० प्रतिशत होटल बुकिङ फिर्ता भएका छन । यसको प्रभावले उपत्यका लगायत देशभरका प्रमुख पर्यटकीय गन्तव्य सुनसान हुदै गएका छन् । नेपाल भ्रमण वर्ष २०२० सुरु हुनु भन्दा अगाडिदेखि नेपालमा चिनीयाँ पर्यटकहरु बृद्धि हुँदै गएका थिए । तर, विगत एक महिनादेखि चीनमा कोरोना भाइरसको संक्रमण देखिएपछि चीन लगायत अन्य देशबाट पर्यटकहरु आउन कमि भएकाले नेपालमा सञ्चालनमा रहेका होटलको अकुपेन्सी १० प्रतिशतमा झरेको होटल संघका पुर्वअध्यक्ष अमरमान शाक्यले बताए ।
उनले केही होटलका अकुपेन्सी मात्रै २५ देखि ३० प्रतिशत रहेको जानकारी दिए । उनले भने, ‘होटल व्यवसाय अहिले संकटमा परेको छ । यस्तै भइरहेमा होटलका कर्मचारीलाई तलब दिन समेत मुस्किल हुने भएको छ ।’
अहिलेको यो अवस्था नेपालको मात्र नभएर अन्तर्राष्ट्रियस्तरको समस्या भएकाले व्यवसाय संकटमा प¥यो भनेर निराश हुने बेला नभएको उनको भनाइ छ । व्यवसायी र सरकारको सहकार्यमा व्यवसायलाई कसरी लैजाने र यो प्रकोपबाट कसरी बच्ने भन्ने विषयमा केन्द्रित हुनुपर्ने होटल संघकी अध्यक्ष सृजना राणाले बताइन् । उनका अनुसार व्यवसायमा आज भन्दा पहिला पनि समस्या आएका हुन् । तर, अहिलेको अझ जटिल रहेकाले यो बेला कसरी व्यवसाय सञ्चालन गर्ने र कर्मचारीलाई कसरी वित्तिय व्यवस्थापन गर्ने भनेर अन्योल छाएको छ ।
उनले भनिन्, ‘सरकारले व्यवसायलाई सुरक्षा राख्नको लागि अन्य मुलुकको जस्तै कर छुट तथा बैंकबाट सहुलियत ऋण उपलब्ध गराउने व्यवस्था गरिनु पर्छ ।’ सरकारले २०२० लाई भ्रमण वर्षको रुपमा घोषणा गरेर २० लाख पर्यटक भित्र्याउने लक्ष्य रहेको थियो । तर, अध्यागमन विभागको तथ्याङक अनुसार पछिल्लो फेब्रुअरी महिनाको अन्तिमसम्ममा हवाइमार्ग र पदमार्गबाट गरी एक लाख एक हजार ४ सय मात्र विदेशी पर्यटक आएका छन् । यो संख्या गत २०१९ फेब्रुअरीको भन्दा एक हजार २३ ले कम हो । गत वर्ष यही समयमा १ लाख २ हजार ४२३ रहेको थियो ।
कोरोनाको सन्त्रासले पर्यटक आवागमन बन्द भएर त्रास नघटेसम्म पर्यटक नआउने हुदाँ होटल तथा पर्यटक व्यवसायीबिच निराशा छ । अब सरकारले यो वर्षलाई आन्तरिक पर्यटन वर्षको रुपमा मनाउनु पर्ने शाक्यको भनाइ छ । कोरोना भाइरसको प्रकोप बढ्दै गएकाले सरकारले नेपालमा प्रकोप देखिएका मुलुकबाट आवागमन नै बन्द गरेको छ । त्यस्तै, सरकारले नेपाल भ्रमण वर्ष २०२० लाई खारेज गर्ने विषयमा पनि छलफल गरिरहेकोछ ।































प्रतिक्रिया