“बुकिङ भएका होटलहरु धमाधम रद्द” – हरिभक्त शर्मा (पूर्वअध्यक्ष उद्योग परिसंघ)

“बुकिङ भएका होटलहरु धमाधम रद्द” – हरिभक्त शर्मा (पूर्वअध्यक्ष उद्योग परिसंघ)

केन्द्रबिन्दु
0
Shares

चीनबाट सुरु भएको कोरोना भाइरसका कारण अहिले विश्व आतंकित छ । चीनलगायतका विभिन्न मुलुकबाट आउने पर्यटकको संख्या घट्दा पर्यटन वर्ष २०२० लाई प्रत्यक्ष असर परेको छ । नेपालका विभिन्न ठाउँमा बुकिङ भएका होटलहरु धमाधम रद्द भएका छन् भने हवाई बुकिङहरु पनि रद्द भएका छन् । यसले गर्दा मुलुकको अर्थतन्त्रमा प्रत्यक्ष असर पर्ने देखिन्छ । यस सम्बन्धमा उद्योग परिसंघका पूर्व अध्यक्ष हरिभक्त शर्मासँग केन्द्रविन्दुका लागि अर्थ ब्यूरो प्रमुख कमला अर्यालले गरेको छोटो कुराकानीः

कोरोना भाइरसका कारण नेपाली अर्थतन्त्रमा कस्तो प्रभाव पारेको छ ?

कोरोना भाइसरका कारण नेपाली अर्थतन्त्रमा मात्रै होइन विश्वको अर्थतन्त्रमा नै असर पारेको छ । यो प्रकोप विश्वको प्रकोप हो । तर यति नै प्रभाव पार्‌यो भन्न त गाह्रो छ । प्रभाव त पारिनै हाल्छ । चीनको पर्यटकको मात्रै कुरा गर्ने हो भने पनि आगमनमा बन्द भएका कारण नेपाललाई कयौँ घाटा लागेको छ । पर्यटकको मात्रै नभएर चीनसँग नेपालले ठुलो मात्रामा व्यापार पनि गरिरहेको छ । त्यसलाई पनि असर गरेको छ । हामी यो प्रकोपबाट व्यवसायलाई कसरी बचाउने भन्नेमा लागिरहेका छौँ । अर्थतन्त्रका विविध पक्षमा यसले असर पार्ने देखिन्छ । समग्रमा हाम्रो अर्थतन्त्रमा कति असर पर्‌यो भन्ने कुरा त हेर्न बाँकी नै छ । अहिले चीन स्वास्थ्य, सीमा, व्यापार तथा अध्यागमनलगायतका कुरामा निकै टाइट गरिरहेको छ ।
कोरोनाको प्रकोपबाट व्यवसायलाई कसरी बचाउने ?
यो हामी एक्लैले गरेर हुने कुरा होइन् । व्यवसायीहरुले अथवा सरकार एक्लैले मात्रै प्रयास गरेर व्यवसायलाई बचाउन सक्दैनौँ । सबै व्यवसायीहरुले आ–आफ्नो तर्फबाट प्रयास गर्नुपर्छ । त्यसका साथै हामी र सरकार मिलेर कसरी अगाडि बढ्न सकिन्छ भन्ने विषयमा व्यापक छलफल हुन जरुरी छ ।

यस प्रकोपले त पर्यटन वर्ष २०२० लाई त निकै असर पार्‌यो हैन ?

त्यो त भन्नै परेन । चीनबाट पर्यटक आउनै बन्द भयो । यो प्रकोपको हल्लाले अन्य मुलुकबाट आउने पर्यटकहरुको संख्या पनि घटेको छ । होटलहरुको बुकिङ धमाधम रद्द भएको छ । एयरलाइन्सका बुकिङहरु पनि रद्द भएका छन् । पर्यटन वर्ष २०२० मा विभिन्न मुलुकबाट २० लाख पर्यटक भित्र्याउने सरकारले जुन लक्ष्य राखेको थियो त्यसलाई त सबैभन्दा ठुलो असर पारेको छ । विभिन्न मुलुकहरुले आफ्ना नागरिकलाई देश छोडेर यात्रा नगर्न भनिरहेका छन् भने जनवरी १५ यता चीन गएका नागरिकलाई भारतले फर्कन नदिने भनेको छ । यस्ता कारणहरुले पर्यटक घट्दा पर्यटन वर्षलाई असर परेको देखिन्छ । नेपालको मात्रै पर्यटनलाई होइन,यस समस्याले विश्वको पर्यटनलाई डाउन बनाएको छ ।

समाधान के हो त ?

समस्या आयो भन्दैमा हामी आत्तिहाल्नु पर्ने भन्ने होइन । जहाँ समस्या छ त्यहाँ समाधान पनि छ । हामी आशाबादी हुनुपर्छ, कसरी कम भन्दा कम क्षति हुने गरी काम गर्ने भनेर । तर यहाँमा समस्या देखा परिसकेको छैन । देखा पर्‌यो भने कसरी व्यवस्थापन गर्ने भन्ने कुरा छ । हामी पूर्ण रुपमा कोरोनासँग लड्न तयारै भएका छैनौँ । हाम्रा स्वास्थ्य संस्थाहरुमा त्यस्ता विरामी राख्ने वार्डहरु छैनन् । नर्स,डाक्टर तथा अन्य स्वास्थकर्मीहरु जो विरामीको उपचारमा प्रत्यक्ष रुपमा सहभाभागी हुन्छन्, तिनलाई सुरक्षित राख्नुपर्‌यो । अब हामी अलि बढी तयारी गर्नुपर्ने बेला आएको छ । ट्राभल एभोइड गर्ने,रोग लागेको संका भएमा त्यसलाई आसुलेट गर्ने, एरपोर्टमा पनि निगरानीको क्षमता बढाउने गर्नुपर्छ ।

Logo