अर्थमन्त्री खतिवडाको अबको भविष्य के ?

अर्थमन्त्री खतिवडाको अबको भविष्य के ?

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

केपी शर्मा ओली नेतृत्वको सरकारमा अबको अर्थमन्त्री को हुने भन्ने अन्योलता बढेको छ । मन्त्री खतिवडाकोे राष्ट्रिय सभा सदस्यको कार्यकाल पूरा हुने मिति नजिकिएसँगै नयाँ अर्थमन्त्री को हुने भन्ने अन्योलता बढेको होे ।

मन्त्री खतिवडाको फागुन २० गते दुई वर्षे राष्ट्रिय सभा सदस्यको कार्यकाल पूरा हुँदैछ । संविधानको धारा ८६ (३) मा एक तिहाइ राष्ट्रिय सभा सदस्यको समयावधि दुई वर्षको हुने व्यवस्था गरिएको छ । ५९ सदस्यीय राष्ट्रिय सभामा पहिलो पटक दुईवर्षे कार्यकालका लागि गोलाप्रथाबाट टुङ्गो लगाइएको थियो ।

आगामी फागुन २० गते एक तिहाइ सदस्यको पदावधि सकिँदै छ । जसमा मन्त्री खतिवडालगायत सरिता प्रसाई, सुरेन्द्रराज पाण्डे, हरिचरण सिवाकोटी, रामप्रीत पासवान, बिन्दादेवी आले, वृषेशचन्द्रलाल, बद्रीप्रसाद पाण्डे, बलरामप्रसाद बाँस्कोटा, मीना बुढा, मुक्ताकुमारी यादव, युटोल तामाङ, रमेशप्रसाद यादव, राजकुमार यादव, दुर्गाप्रसाद उपाध्याय, धनकुमारी खतिवडा, कमलाकुमारी ओली, कालीबहादुर मल्ल र  खेमराज नेपाली रहेका छन् ।

फागुन २० गते सकिने पदावधिका लागि गत माघ ९ गते निर्वाचन गरिएको थियो । राष्ट्रिय सभा सदस्यको रिक्त १९ पदमध्ये १८ पद निर्वाचनका माध्यमबाट र १ प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।

गत माघ ९ गते भएको निर्वाचनमा १८ सिटमध्ये नेकपाले १६ र राष्ट्रिय जनता पार्टीले २ सिट जितेका थिए । संविधानमा मन्त्री पदमा नियुक्त हुन संघीय संसद्को राष्ट्रिय सभा अथवा प्रतिनिधि सभा सदस्य अनिवार्य हुनुपर्ने व्यवस्था रहेको छ ।

संविधानको धारा ७८ मा प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले संघीय संसद्को सदस्य नभएको व्यक्तिले पनि मन्त्री बन्न पाउने व्यवस्था गरिएको छ । तर (२) उपधारा (१) बमोजिम शपथ ग्रहण गरेको मन्त्रीले ६ महिनाभित्र संघीय संसद्को सदस्यता अनिवार्य प्राप्त गरेको हुनुपर्छ ।

त्यसैले राष्ट्रिपतिले नियुक्त गर्ने १ सदस्यमा प्रधानमन्त्रीले मन्त्री खतिवडालाई निरन्तरता दिए उपाध्यक्ष बामदेव गौतम राष्ट्रिय सभा सदस्य बन्नबाट बन्चित हुने छन् । त्यस्तै बामदेव गौतमलाई सदस्य बनाए मन्त्री खतिवडाले अर्थमन्त्रीबाट हात धुनुपर्ने हुन्छ ।

नेकपा स्थायी समितिमा पार्टी उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउने चर्चा चलेसँगै अर्थमन्त्री खतिवडाबारे बहस सुरु भएको छ ।

Logo