काठमाडौं ।
भारतले नेपालको पाम आयल निकासीमा लगाएको प्रतिबन्धलाई खुला गरेको छ । आफ्ना आयातकर्ताले अनुमतिपत्र लिनुपर्ने व्यवस्था गर्दै भारतले त्यसकै आधारमा पाम आयल आयात गर्न पाउने व्यवस्था गरेको हो । यससँगै अब नेपाली पाम आयल भारतमा निर्यात गर्न बाटो खुलेको उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतीलाल दुगडले जानकारी दिए ।
भारतको वाणिज्य मन्त्रालयले २३ पुसदेखि नेपाली पाम आयल निकासीमा रोक लगाएको थियो । त्यसपछि सरकार, निजी क्षेत्र र स्वयं भारतीय आयातकर्ताले पाम आयल खुलाउन आग्रह गर्दै आएका थिए । भारतले ठाडै खुला नगरेपछि घुमाउरो बाटोबाट खुला गरेको हो । अब पूर्ववत् रूपमै निकासी हुने दुगडले जानकारी दिए । बिहीबार एक भारतीय आयातकर्ताले पाम आयल आयातका लागि अनुमतिपत्र पनि लिएका छन् ।
घुमाउरो बाटोबाट आयात खुला गरे पनि भारतले केही संकुचन नीति लिन सक्ने नेपाली व्यवसायीको आशंका छ । ‘पहिला जस्तो सहज र खुला रूपमा पाम निकासी हुने, अनुमतिको व्यवस्था गरेर केही टाइट गर्न खोजेको देखिन्छ,’ उद्योग, वाणिज्य तथा आपूर्ति सचिव वैकुण्ठ अर्यालले भने, ‘त्यसै पनि निकासी खुल्नु सकारात्मक हो ।’ ठूलो परिमाणमा पाम आयल निकासी हुन थालेपछि भारतले चासो राख्दै आएको थियो । उसले पाम आयलमा हुने ३ सय ५ प्रतिशत मूल्य वृद्धिप्रति आपत्ति जनाउँदै रोक लगाएको थियो ।
नयाँ पत्रिकाबाट































प्रतिक्रिया