वैदेशिक लगानी भित्र्याउँदा स्वदेशी लगानीकर्ता डराउनु पर्दैन : उद्योग मन्त्री भट्ट

वैदेशिक लगानी भित्र्याउँदा स्वदेशी लगानीकर्ता डराउनु पर्दैन : उद्योग मन्त्री भट्ट

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

उद्योग मन्त्री लेखराज भट्टले वैदेशिक लगानी भित्र्याउँदा स्वदेशी लगानीकर्ता डराउनु नपर्ने बताएका छन् ।

उनले सरकारले लगानी बढाउने राष्ट्रिय अभियान अन्तर्गत वैदेशिक लगानीलाई आकर्षित गरेको तर स्वदेशी लगानीकर्ताहरु प्रतिस्पर्धा गर्न सक्दैनौं की भन्ने चिन्तामा रहेको बताएका हुन् । उनले भने ‘अहिलेको उद्देश्य लगानी बढाउन राष्ट्रिय अभियान कसरी अगाडी बढाउन सकिन्छ भन्ने हो, तपाईंहरुलाई निजी क्षेत्र भनिन्छ अव अलिकति तपाईहरुमा आतंक पैदा भएको जस्तो छ । बाहिरको लगानीकर्ता आयो भने हाम्रो के हुने भन्ने पनि एउटा दबाब पैदा भएको जस्तो छ । त्यो लगानीलाई त तपाईहरुले स्वीकार्नुपर्छ भन्ने लाग्छ’ ।

उनले सरकारले सबै लगानीकर्तालाई एउटै दृष्टिबाट हेरेकाले आतंकित नहुन आग्रह गरे । बिहीबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले काठमाडौंमा आयोजना गरेको उद्योग वाणिज्य क्षेत्रको विकास चुनौती र भावी कार्यदिशा सम्बन्धी अन्तक्रियामा मन्त्री भट्टले बाहिरी लगानीकर्तासँग प्रतिस्पर्धा गर्न सक्दैनौ भन्ने डर उद्योगी व्यवसायीहरुले हटाउनु पर्ने बताए । उनले मुलुकमा आर्थिक समृद्धिका लागि औद्योगिकरण आवश्यक रहेको र त्यसका लागि उद्योगहरुको मुनाफा सुनिश्चित हुनुपर्छ भन्नेमा सरकार जानकार रहेको समेत बताए । उनले त्यसका लागि के कस्ता नीतिगत व्यवस्था आवश्यक छ , सरकार छलफल गरी अगाडी बढ्न तयार रहेको समेत बताए ।

कार्यक्रममा उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले पछिल्लो समय नीतिगत व्यवस्थामा सुधार आएको तर यसको कार्यान्वयन पक्ष फितलो हुँदा उद्योगी व्यवसायीहरुले दुख पाउने गरेको बताइन् । उनले कानून निर्माण हुनु अघि छलफल हुने कुरा र विधेयकमा आउने विषय नमिल्ने गरेको समेत बताए ।

कार्यक्रममा उद्योगी व्यवसायीहरुले सरकारले लगानीको वातावरण निर्माण गर्न प्रयत्न गरिरहे पनि उद्योग दर्ता, इजाजत लिने प्रकृया झन्झटिलो र समय लाग्ने तथा बैंकमा देखिने समस्या र राजश्व लगायतका विषय हुने जटिलताका कारणले पनि लगानी प्रवद्र्धन हुन नसकेको बताएका थिए ।

Logo