‘यो मुलुककै पहिलो बिल्डटेक एक्सपो हो’ : रवि सिंह अध्यक्ष, (नेपाल निर्माण व्यवसायी महासंघ)

‘यो मुलुककै पहिलो बिल्डटेक एक्सपो हो’ : रवि सिंह अध्यक्ष, (नेपाल निर्माण व्यवसायी महासंघ)

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ ।

नेपाल निर्माण व्यवसायी महासंघले भक्तपुरको सल्लाघारी मैदानमा माघ ३ गतेदेखि ५ गते सम्म ‘नेपाल बिल्डटेक एक्सपो २०२०’ आयोजना गर्दैछ । एक्सपोमा विश्व बजारमा आएका नयाँ नयाँ निर्माण यन्त्र र उपकरणबारे अवगत गराउने महासंघले जनाएको छ । नेपालमै पहिलो ‘नेपाल बिल्डटेक एक्सपो २०२०’ भनिएको यो एक्सपोका आयोजक निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहलाई एक्सपो बारे केन्द्रबिन्दुकर्मी जितेन्द्र रसिकलले राखेको ५ जिज्ञासा ।

प्रश्न १
समग्रमा ‘नेपाल बिल्डटेक एक्सपो २०२०’ को तयारी के कसरी कसरी गरिरहनु भएको छ ?

हामीले माघ ३ गते देखि ५ गतेसम्म नेपालमै पहिलो ‘नेपाल बिल्डटेक एक्सपो २०२०’ आयोजना गर्दैछौं । त्यसैले यसको तयारी पनि सोहि प्रकारले गरिरहेका छौं । यो एक्सपोमा मुलुकभरका र मुलुक बाहिरका पनि व्यवसायीहरु सहभागी हुने भएकाले सोहि अनुरुप व्यवस्थापनमा जुटेका छौं । अधिकांश व्यवसायीहरु एक्सपोमा सहभागी हुन काठमाडौं आइपुगिसकेका छन् । एक्सपो भक्तपुरको सल्लाघारीमा अवस्थित मैदानमा आयोजना हुँदैछ । यहि मौकामा हामीले महासंघको साधारणसभा पनि गर्दैछौं । ७७ जिल्लाकै हाम्रा प्रतिनिधिहरु काठमाडौं आउने क्रम जारी छ ।

प्रश्न २
‘नेपाल बिल्डटेक एक्सपो २०२०’ लाई नेपालकै पहिलो एक्सपो भन्नु भएको छ । विगतमा पनि साना ठूला एक्सपो भएको पाइन्छ । यो एक्सपो नै नेपालको पहिलो एक्सपो भनि दावी गर्ने आधार के ?

विगतमा केहि कम्पनीहरुले एक्सपो गरे पनि त्यो प्रभावकारी हुन सकेको थिएन । सूचनाको अभावमा मुलुकभरका निर्माण व्यवसायीलाई समेत समेट्न सकेको थिएन । यो पटक हामीले मुलुकभरका व्यवसायी र मुलुकबाहिरका कम्पनीहरुलाई समेत समेटेर यो ‘नेपाल बिल्डटेक एक्सपो २०२०’ आयोजना गर्दैछौं । हामीले यो एक्सपोको लागि व्यापक तयारी गर्दै सबै व्यवसायीहरुलाई एउटै थलोमा ल्याउने काम गरिरहेका छौं । यसले नेपालमा लगानी भित्र्याउन मात्र नभई नयाँ प्रविधिहरुलाई नेपाली व्यवसायीमाझ चिनाउने काम समेत गर्दछ । त्यसैले पनि हामी यो एक्सपोलाई नेपालको पहिलो ‘नेपाल बिल्डटेक एक्सपो २०२०’ भन्न सक्छौं । यो एक्सपो मार्फत निर्माण व्यवसायी र सरोकारवालाहरुवीच दुईपक्षिय तथा बहुपक्षिय सम्वन्ध प्रागढ बन्नुका साथै मुलुकमा लगानीको वातावरण निर्माण हुनेछ ।

प्रश्न ३
एक्सपोका आकर्षणहरु के के रहनेछन् ?
भारत र चीन लगायतका मुलुकले एक्सपोकै लागि भनेर निर्माण गरेका इक्विपमेन्ट र प्रविधिहरु नै यो एक्सपोको आकर्षण हुनेछन् । भारतका विभिन्न कम्पनीले घर निर्माणमा प्रयोग हुने टायलदेखि विकास निर्माणमा प्रयोग हुने पछिल्लो समय आविष्कार गरेका नयाँ प्रविधिमा आधारित विभिन्न निर्माण सामाग्री र हेभी इक्विपमेन्टसम्म प्रदर्शनीमा राख्ने तयारी गरेका छौं । यसले निर्माण व्यवसायीलाई नयाँ प्रविधिमा अभ्यस्त बनाउन सघाउने छ । सर्वसाधारणले पनि घरदेखि विकास निर्माणमा प्रयोग हुने विभिन्न सामाग्री र प्रविधिबारे जानकारी लिन सक्नेछन् ।

प्रश्न ४
महासंघ बाहेक एक्सपोका आयोजनाका साझेदारी संस्थाहरु कुन कुन छन् ?

एक्सपोका सहयोगी साझेदारीका रुपमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्वर्श अफ कमर्स, नेपाल इन्जिनियर एशोसिएशन्स, नेपाल हेवी इक्विपमेन्ट व्यवसायी महासंघ, सोसाइटी अफ कन्सल्टिङ आर्किटक्चरल एण्ड इन्जिनियरिङ फर्मस्, युथ कम्युनिटी पर नेपलिज कन्ट्राक्टर्स, एलमोनियम व्यवसायी संघ, नेपाल फर्निचर संघ, स्वतन्त्र उर्जा उत्पादक संघ नेपाल, भारतको राजकोट हार्डवेयर म्यानुफ्याक्चर एसोसिएसन र निजी संघ संस्थाका छाता संगठनहरु, लगायत रहेका छन् । ३ दिन हुने प्रदर्शनीमा २० हजार जनाले अवलोकन गर्ने हाम्रो अपेक्षा छ । मुलुकभरका २ हजार व्यवसायीेहरुले एक्सपोमा सहभागी जनाउनेछन् ।

प्रश्न ५
एक्सपोमा कति मुलुकले सहभागीता जनाउनेछन् ?

युरोप र अमेरिकाको सामान हामीले उपभोग गर्न सक्दैनौ । त्यसैले एक्सपोमा सहभागी हुने भनेको चीन र भारत लगायतका कम्पनीहरु नै हुन् । अहिले विश्व बजारमा जाने सबै सामाग्रीहरु चीन र भारतले नै निर्माण र निर्यात गरिरहेका छन् । त्यसैले चीन र भारतको सहभागिताले नै एक्सपोमा विश्वको प्रतिनिधित्व गर्दछ । किन पनि भने विश्वका अधिकांश मुलुकमा चीन र भारतमा निर्मित सामाग्री नै उपभोग भइरहेका छन् ।

Logo