माइतीघर मण्डलामा उखु किसानको आन्दोलन आज १५ औं दिनमा पनि जारी

माइतीघर मण्डलामा उखु किसानको आन्दोलन आज १५ औं दिनमा पनि जारी

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

उखुको भुक्तानी माग गर्दै विभिन्न जिल्लाबाट काठमाडौं आएका किसानहरु विगत १५ दिनदेखि माइतीघर मण्डलामा प्रदर्शन गरिरहेका छन् । तरपनि सरकारले उनीहरुको भुक्तानी दिलाउन कुनै पहल गरेको छैन ।

यो बीचमा केही उद्योगीले किसानको खातामा रकम पठाएका छन् । तर सरकारले तोकेको भन्दा पनि कम दरमा भुक्तानी पाएको किसानहरुको गुनासो छ । त्यसैले सबै किसानको खातामा सबै भुक्तानी नपाउँदासम्म आन्दोलन जारी राख्ने किसानहरु बताउँछन् ।

हलो, उखु र विभिन्न माग लेखिएका प्लेकार्ड लिएर विगत १५ दिनदेखि उखु किसानहरु आफ्नो पसिनाको भुक्तानी पाउनु पर्ने माग गर्दै केन्द्रीय राजधानीको माइतीघर मण्डलामा आन्दोलन गर्दै आएका छन् । विगत सात वर्ष देखिको भुक्तानी मिल सञ्चालकहरुले नदिएपछि किसानहरु निर्णयक आन्दोलन गर्न भन्दै काठमाडौं आएका हुन् । गत वर्ष पनि उनीहरुले यस्तै आन्दोलन गरेका थिए । सरकारको रोहबरमा किसान र उद्योगीबीच एक महिना भित्र भुक्तानी दिने सहमति भएपछि किसान घर फर्किएका थिए ।

तर एक वर्षसम्म पनि भुक्तानी नपाएपछि तिनै किसान फेरि काठमाडौं आई आन्दोलन गरिरहेका छन् । १५ दिनसम्म आन्दोलन गर्दा पनि सरकार नसुने झैं गरी बसिरहेको छ । किसानहरु आन्दोलन गरेको देखेपछि केही उद्योगीले किसानको खातामा रकम पठाउन थालेका छन् । तर सरकारले तोकेको मूल्य भन्दा पनि कम दरमा भुक्तानी पठाएको किसानहरुको गुनासो छ ।

उखु किसान संघर्ष समितिका सदस्य मायाशंकर प्रसाद यादवले सरकारले प्रति क्वीन्टल ४ सय ७१ रुपैयाँ २८ पैसा मूल्य तोकेको भएपनि उद्योगीहरुले ४ सय ३५ रुपैयाँ मात्रै भुक्तानी दिएको गुनासो गरे । सबै किसानले पाउनु पर्ने सम्पूर्ण भुक्तानी नपाउँदा सम्म आन्दोलन जारी राख्ने पनि उनले बताए ।

चिनी उद्योगीहरुबाट उखु किसानहरुले करिब ९० करोड रुपैयाँ भुक्तानी लिन बाँकी छ। विगत सात वर्ष देखिको भुक्तानी पाउन बाँकी रहेको आन्दोलनमा सहभागि किसानहरुले बताएका छन् । आफूहरुले दुःख गरेर उब्जाएको उखुको भुक्तानी नपाउँदा सम्म आन्दोलनलाई जारी राख्ने किसानहरुले बताए ।

आन्दोलनरत किसानहरुले ‘सरकार तिमी कहाँ छौ, हामी किसान यहाँ छौं’, ‘हाम्रो आन्दोलन जारी छ’, ‘किसान मार्न पाइदैन’, ‘हाम्रो रकम भुक्तानी गर’, ‘किसानलाई क्षतिपूर्ति देउ’ लगायतका नारा समेत लगाएका थिए ।

Logo