अर्घाखाँची,
बजारको सुनिश्चित, मनग्य आम्दानी र सजिलैसँग खेती गर्न सकिने भएपछि यहाँका कृषकहरु छ वर्षदेखि कफीखेतीमा आकर्षित भएका थिए । चार वर्ष पहिला १८ टन कफी उत्पादन भएकामा गबारोले कफीका बोट मरेपछि गएको वर्ष उत्पादन घटेर छ टनमा झरेको जिल्ला कफी व्यवसायी सङ्घका कोषाध्यक्ष पुष्करनाथ बन्जाडेले बताउनुभयो ।
विश्वमै उत्कृष्ट ब्राण्ड पाएको यहाँको कफीमा पछिल्लो चार वर्षदेखि उप्पादनमा कमी आएको हो । वि.सं ०७० देखि झण्डै १२ टन कफी उप्पादनमा कमी आएको हो । सो वर्षभन्दा अगाडि १६ टन उत्पादन हुँदै आएको थियो । गबारोले कफीका बोटमा आक्रमण गरी ध्वस्त पारेपछि पकेट क्षेत्रका रुपमा रहेका सन्धिखर्क नगरपालिकाका अर्घा, किमडाँडा र बाङ्गला, छत्रदेव गाउँपालिकाका ठूलापोखरा र बल्कोट, भूमिकास्थान नगरपालिकाका धारापानी र ढाकाबाङग, शीतगङ्गा नगरपालिकाका ठाडा र सीतापुर लगायतका ठाउँमा उत्पादनमा कमी आएको हो ।
वि.सं ०५८ देखि कफी व्यवसायी सङ्घ स्थापना गरी, व्यावसायिकरूपमा व्यवसाय शुरु गरिएको हो । वि.सं. २०६०/६१ मा जिल्लाका विभिन्न स्थानमा ४१ समूह गठन गरी एक हजार १६५ सदस्य रहेका बजान्डेले बताउनुभयो । जिल्लामा उत्पादन भएको अग्र्यानिक र पार्चमेन्ट कफी कोरिया, अमेरिका र जापानमा निर्यात भएको छ । जिल्ला कफी व्यवसायी सङ्घले सघाउँदै सङ्कलन गरिदिएपछि नेपाली कफीको विदेशमा बजारीकरण हुँदै आएको हो ।
नेपालमा सात वर्ष पहिले भएको ३२ देशका कफी व्यवसायीको तालीममा कप टेष्ट गर्दा पनि नेपालकै अर्घाखाँची र गुल्मीको कफी स्वादिलो भएको प्रमाणित भएको तालीममा सहभागी बजान्डेको भनाइ छ । विश्वमा नेपालको कफी उत्कृष्ट भएर माग बढ्दै गएकाले, कफी खेतीलाई व्यवस्थित बनाएर उत्पादनमा वृद्धि गर्न, कफी कृषक लागेका छन् । करिब १.०९ हेक्टर जमीनमा कफी खेती हुँदै आएको कृषि ज्ञान केन्द्रले जनाएको छ । गवारो नियन्त्रणका लागि प्रयास भइरहेको जिल्ला कृषि ज्ञान केन्द्रका थीरलाल गैरेले बताउनुभयो ।
कफी उत्पादन दुई वर्षदेखि घट्दै गएको र कफीका बिरुवा लगाउँदा कृषकले छहारीमा लगाउनुको सट्टा नाङ्गो जमीनमा लगाउँदा र चिस्यान बारीको सट्टा सुक्खा जमीनमा लगाउँदा गबारो लाग्ने सम्भावना बढी हुन्छ । समुद्री सतहदेखि ८०० मिटरको उचाइमा हुने कफी बढी स्वादिलो हुने भएपछि यहाँको कफीले अन्तर्राष्ट्रिय स्तरमा राम्रो बजार पाएको छ ।





























प्रतिक्रिया