म्याग्दी,
गत असोज २१ गते बडादशैँका दिन परेको भीषण असिनापानीका कारण म्याग्दीको बेनी नगरपालिका र मङ्गला गाउँपालिकाका गरी तीनवटा वडामा चार करोड बढीको क्षति भएको छ । बेनी नगरपालिका–२ ज्यामरुककोटको गौश्वारा, सानालेक, फापरखेत, मङ्गाला गाउँपालिका–१ को थाइबाङ र सोही गाउँपालिकाको वडा नं ३ बरन्जामा दशैँमा भीषण असिना पानी परेको थियो ।
कृषि ज्ञान केन्द्र म्याग्दीले विपद् व्यवस्थापन समितिका पदाधिकारीलाई समेत समेटेर असिनाले क्षति पु¥याएका तीनवटै वडामा स्थलगत अनुगमन गरी क्षतिको विवरण सङ्कलन गरेको हो । कृषि ज्ञान केन्द्र म्याग्दीका प्रमुख गोविन्दराज कोइरालाका अनुसार असिनापानीबाट तीनवटै वटाका ८५५ घरधुरीका कृषकको पाँच हजार ६५७ रोपनी क्षेत्रफलमा लगाएको चार करोड एक लाख ४१ हजार ९०५ रुपैयाँ बराबरको धान, कोदो र दलहन, लहरेबाली र तरकारीको क्षति भएको छ ।
कृषि ज्ञान केन्द्रले सङ्कलन गरेको तथ्याङ्क अनुसार असिनाले सबैभन्दा बढी क्षति बेनी नगरपालिका–२ ज्यामरुककोटमा गरेको छ । ज्यामरुककोटका ४२० घरधुरी कृषकको दुई करोड १७ लाख दुई हजार ६००, बरन्जाका ३२० घरधुरी कृषकको एक करोड ३३ लाख ५८ हजार १६० र थाइवाङका ११५ घरधुरी कृषकको ५० लाख ८१ हजार ४५ मूल्य बराबरको बर्खे बालीमा क्षति पुगेको छ ।
तथ्याङ्क अनुसार २ हजार ७४२.२ रोपनीमा धान, एक हजार ६८८.५ क्षेत्रफलमा लगाएको कोदो र एक हजार २२६ रोपनीमा लगाएको सिमीमा क्षति गरेको छ । सङ्कलित विवरण एकीकृत गरी जिल्ला विपद् व्यवस्थापन समितिको मङ्गलबारको बैठकबाट निर्णय गरी राहतका लागि मन्त्रालयमा पठाइएको कोइरालाले बताउनुभयो । केन्द्रका प्रतिनिधि, स्थानीय तहका जनप्रतिनिधिसहितको टोली असिनापीडित कृषकको खेतबारीमै पुगेको थियो ।































प्रतिक्रिया