काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले मुलुकको अर्थतन्त्रलाई बदनाम गर्ने प्रयास भईरहेको उल्लेख गर्दै त्यसो नगर्न सचेत गराएका छन् । अर्थमन्त्री खतिवडाले अर्थतन्त्रका सबै सूचकहरु सकारात्मक हुँदाहुँदै पनि सरकारविरुद्ध भ्रम छर्न खोजिएको उल्लेख गर्दै त्यसले कसैलाई पनि फाईदा नपुर्याउने पनि स्पष्ट पारे ।
नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को १० औं वार्षिकोत्सवलाई आईतबार काठमाडौंमा उद्घाटन गर्दै उनले मुलुकको अर्थतन्त्रलाई कमजोर देखाएर आफ्नै खुट्टामा बञ्चरो हान्ने काम कसैले पनि गर्न नहुने बताए ।
अर्थमन्त्री खतिवडाले अर्थतन्त्रका सबै परिसूचक सकारात्मक ढंगले अघि बढेको सरकारको तथ्यांक सही भएको तर त्यसलाई असत्य भनेर अन्तर्राष्ट्रिय दाताहरुलाई भ्रम छर्ने काम भईरहेकोमा आपत्ति जनाए ।
अर्थमन्त्री खतिवडाले पूँजी बजारको नियमन राम्रोसँग गर्न नेपाल राष्ट्र बैंक, धितोपत्र बोर्डलगायतका निकायलाई पनि निर्देशन दिए । उनले सरकारले उत्पादनमा जोड दिएर पूँजी बजारको विकासलाई उच्च प्राथमिकता दिएको दावी गरे ।
अर्थमन्त्री खतिवडाले मुलुकको आर्थिक विकासका लागि उत्पादनमा बढावा दिन सरकारले लगानीको क्षेत्रको पहिचान गरिरहेको पनि बताए ।





























प्रतिक्रिया