सिन्धुपाल्चोक,
सिन्धुपाल्चोकमा निर्माणाधीन १०२ मेगावाटको मध्यभोटेकोशी जलविद्युत् आयोजनाको सुरुङ निर्माणको काम ७५ प्रतिशत सम्पन्न भएको छ ।
भोटेकोशी गाउँपालिका–५ मार्मिङस्थित भोटेकोशी र चाकुखोला दोभानदेखि बाह्रविसे नगरपालिका–१ जम्बुस्थित विद्युतगृहसम्मको सात हजार १२४ मिटर सुरुङमार्गमध्ये हालसम्म पाँच हजार ३०० मिटर सम्पन्न भएको आयोजना प्रमुख डा सुनिलकुमार लामाले जानकारी दिनुभयो ।
चिलीमे जलविद्युत् आयोजनाको अगुवाइमा सन् २०१३ को जनवरीमा शुरु भई सन् २०१६ को डिसेम्बरमा सम्पन्न गर्ने लक्ष्य रहेको आयोजनाको काम समय लम्बिँदै गएपछि अब सन् २०२० डिसेम्बरमा सम्पन्न गर्ने समय निर्धारण गरिएको छ । विसं २०७२ को भूकम्प, भारतीय नाकाबन्दी र हरेकवर्ष तिब्बतबाट आउने गरेको भोटेकोशी बाढीले गर्दा निर्धारित समयभन्दा चार वर्ष ढिलाइ हुन गएको बताइएको छ ।
हाल विद्युतगृहको जग खन्ने काम सम्पन्न भएको छ । भोटेकोशी र चाकुखोला दोभान भन्दा १०० मिटर तल निर्माण गरिने बाँधको उचाइ ६ मिटर र लम्बाइ ३४ मिटरको हुनेछ । हेडबक्सको काम भने वर्षात् कम भएपछि मात्र शुरु गरिनेछ । कर्मचारी सञ्चयकोष र नागरिक लगानी कोषको ऋण तथा सर्वसाधारणको शेयरसहित १४ अर्ब ५० करोड लागत रहेको आयोजनाका लागि आवश्यक जग्गाको व्यवस्थापन भइसकेको छ ।
आयोजनाको सिभिल कार्य चिनियाँ वाङसी हाइड्रो इलेक्ट्रिक कन्स्ट्रक्सन ब्यूरो र इलेक्ट्रिकको काम अष्ट्रियाको एण्डिज हाइड्रो भारतीय कम्पनीद्वारा भइरहेको छ । सो आयोजनाबाट वार्षिक बिक्रीयोग्य विद्युत् ५४ करोड २३ लाख युनिट उत्पादन हुनेछ । आयोजनाबाट वर्षायाममा ४५ करोड ८६ लाख युनिट तथा सुक्खायाममा आठ करोड ३८ लाख युनिट विद्युत् उत्पादन हुनेछ ।
नेपाल विद्युत् प्राधिकरणले माथिल्लो तामाकोशी आयोजनाका लागि २२० केभीए प्रसारण लाइन बाह्रविसे सवस्टेशन रहने गरी निर्माण गरिने जनाएको छ । त्यहाँ सवस्टेशन रहेपछि आयोजना स्थलबाट चार किलोमिटर प्रसारण लाइनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिने आयोजनाले जनाएको छ ।
रासस































प्रतिक्रिया