आर्थिक एजेण्डामा सबै राजनीतिक दलहरुको साझा धारणा आवश्यक छः अध्यक्ष ढकाल

आर्थिक एजेण्डामा सबै राजनीतिक दलहरुको साझा धारणा आवश्यक छः अध्यक्ष ढकाल

केन्द्रबिन्दु
42
Shares

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले मुलुकको अर्थतनत्र जटिल मोडमा रहेको वताउँदै सबै राजनीतिक दलहरुको साझा एजेण्डा बनेर सुधार नभए दुर्घटना हुनसक्ने तर्फ सचेत गराएका छन् ।

राज्य व्यवस्था समितिमा बिहीबार भएको छलफलमा अध्यक्ष ढकालले सरकार र राजनीतिक दलहरु संवेदनशील नहुने हो भने स्वदेशी र विदेशी लगानी हुन नसक्ने अवस्था रहेको बताएका हुन् । ‘सबै मिलेर अर्थतन्त्रको जटिलता समाधानमा पहल नहुने हो भने निजी क्षेत्र लगानी बढाउने नभइ कसरी व्यवसायबाट बाहिरिने भन्ने बाटो खोज्ने अवस्था आउनेछ,’ उनले भने ।

महासंघ र अन्तराष्ट्रिय वित्त निगमले सार्वजनिक गरको अध्ययन अनुसार अर्थतन्त्रमा ८१ प्रतिशत रोजगारीमा ८७ प्रतिशत योगदान निजी क्षेत्रको छ । अहिले निजी क्षेत्रमा समस्या आउँदा समाधानको उपायको खोजी हुनुपर्ने अध्यक्ष ढकालले वताउनुभयो । सरकारभित्र पनि अन्तर निकाय समन्वय नहुँदा समस्या बल्झिदै गएको उनको भनाइ थियो ।

‘सबैले राम्रो काम गरेको भनिरहनुभएको छ, ’ उनले भने, ‘तर नतिजा सकारात्मक आएको छैन । मुलतः निजी क्षेत्रले काम गर्न नसक्दा सरकारको राजश्वमा पनि असर परेको छ । चालु आर्थिक बर्षको पहिलो ६ महिनामा सरकारको घाटा करिब ५० अर्ब रुपैया छ । निजी क्षेत्रले निर्वाध काम गर्न नसक्दा राजश्वमा चाप परेको हो ।’

यसैगरी आगामी लगानी सम्मेलनलाई लक्षित गरि तयार पारिएको कानुन सुधार सम्बन्धि व्यवस्था पारित गर्नुपर्नेमा पनि अध्यक्ष ढकालको जोड थियो ।

महासंघले करिब एक दर्जन कानुन सुधार आवश्यक रहेको तीन महले सुझाव सरकारलाई बुझाएको छ । सोही अनुसार प्रधानमन्त्री कार्यालयका सचिव एक नारायण अर्यालको संयोजकत्वमा निजी क्षेत्र सम्मिलित कार्यदलले सुधार सुझाव तयार पारि मुख्य सचिव डा. बैकुण्ठ अर्याललाई बुझाइसकेको छ ।

अध्यक्ष ढकालले लगानी आकर्षित गर्न तयार पारिएका सुझाव संसदले पारित गर्नुपर्ने बताए ।

सोही छलफलको कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले नीति नियमनहरु बनाउदा सरकारले निजि क्षेत्रलाइ साक्षीको रुपमा मात्र लिने गरेको बताए । उनले निजि क्षेत्रले दिएका सुझावहरु नीति नियमनहरुको मस्यौदा तयार पार्दा सरकार ले ध्यान दिएर समावेश गरे देशको अर्थतन्त्रमा अझै सुधार आउने जानकारी दिए ।

उनले नीति नियमनहरु बनाउने निकायहरुको संख्याको तुलनामा निगरानी गर्ने निकायहरु बडी भएको र यसले व्यवसायीहरु हतोत्साहित भएको जानकारी गराए ।

Logo