आर्थिक विकास र समृद्धिका लागि सर्वपक्षीय पहल आवश्यक छः महासंघ अध्यक्ष ढकाल

आर्थिक विकास र समृद्धिका लागि सर्वपक्षीय पहल आवश्यक छः महासंघ अध्यक्ष ढकाल

केन्द्रबिन्दु
14
Shares

काठमाडाैँ। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको विकास र समृद्धिका लागि सबै राजनीतिक दलहरूको समान धारणा र समझदारी आवश्यक रहेको बताएका छन्। शुक्रबार भरतपुर भ्रमण वर्ष २०२४ को उद्घाटन समारोहमा बोल्दै अध्यक्ष ढकालले यस्तो बताएका हुन्।

उनले मुलुकलाई अहिलेको आर्थिक अवस्थाबाट बाहिर ल्याउन र जनताको अपेक्षा अनुसारको विकास र समृद्धि हासिल गर्न सबै राजनीतिक दलहरूबीच सहकार्य र समझदारी आवश्यक रहेको बताए। यसका लागि निजी क्षेत्र सरकारसँग हातेमालो गर्न तयार रहेको पनि उनले बताए।

अध्यक्ष ढकालले राखेको उक्त प्रस्तावमा पूर्वप्रधानमन्त्रीहरूले समेत सहमति व्यक्त गरेका थिए। अध्यक्ष ढकालले मुलुक समृद्धिको सूत्र पर्यटन भएकाले सरकारले पनि त्यही अनुसार नीति कार्यक्रम र बजेट ल्याउनु पर्नेमा जोड दिए।

उनले नेपालमा पर्यटनको सम्भावना अथाह भएपनि तिनीहरुको प्रचारप्रसार गर्न नसकिएको उल्लेख गरे। उनले पर्यटकहरुको लागि आवश्यक पूर्वाधारहरुको विकास गर्न सके मात्र पर्यटक आगमनको अहिलको अवस्थामा गुणात्मक रुपमा परिवर्तन ल्याउन सकिने बताए।

उनले अर्बौं लगाएर बनाएका दुईवटा अन्तर्राष्ट्रिय विमानस्थलहरु सञ्चालनमा आउन नसकेको भन्दै सञ्चालनमा ल्याउन आवश्यक रहेको बताए। उनले पर्यटन सुधारको लागि हिल स्टेशनको विकास गर्न जरुरी रहेको बताए।

Logo