हलेसीमा चिस्यान केन्द्रसहितको कृषि बजार सञ्चालनमा

हलेसीमा चिस्यान केन्द्रसहितको कृषि बजार सञ्चालनमा

केन्द्रबिन्दु
112
Shares

खोटाङ। हलेसी तुवाचुङ नगरपालिकाले वडा नं ७ महादेवस्थानस्थित त्रिधार्मिकस्थल हलेसी बजारमा कृषि मार्ट (बजार) सञ्चालनमा ल्याएको छ। कृषकले उत्पादन गरेका कृषिउपज बजारीकरणको लागि नगरपालिकाले आइतबारदेखि औपचारिकरुपमा चिस्यान केन्द्रसहितको कृषि मार्ट सञ्चालनमा ल्याएको हो।

सहज नेपाल संस्थाको प्राविधिक सहयोगमा निर्माण गरिएको भवन निजी संस्थालाई भाडामा दिएर कृषि मार्ट सञ्चालन गरिएको हो। गत आर्थिक वर्षमा विनियोजित रु १८ लाख ४४ हजार र चालु आव २०८०-०८१ मा विनियोजन गरिएको रु १९ लाख ९४ हजार ८३१ लगानीमा कृषि मार्ट र चिस्यान केन्द्र निर्माण गरिएको नगर प्रवक्ता एवं वडा नं ७ महादेवस्थानका वडाध्यक्ष कमल गिरीले जानकारी दिए।

नगरपालिकाभित्रका कृषकले उत्पादन गरेका कृषिउपज कृषि मार्टमा लगेर कृषिउपज बिक्री गर्ने छन्। केही दिनअघि नगरपालिकाले नगरपालिकाभित्रका कृषक र होटल व्यवसायीसँग छलफल गरेर तरकारीको मूल्यसमेत निर्धारण गरेको थियो। सोही मूल्यअनुसार कृषकले उत्पादन गरेको कृषिउपज कृषि मार्टमा बिक्री हुने जनाइएको छ।

नगर प्रमुख विमला राई र उपप्रमुख रमेशकुमार राउतले ‘हलेसी कृषि मार्ट’को शुभारम्भ गरेका थिए। कृषकले उत्पादन गरेर ल्याएका कृषिउपज सङ्कलन गरेर बिक्री गर्नसमेत सुरु गरिएको छ। कृषकले आलु, साग, धनिया, कोभी, मुलालगायतका तरकारी बिक्री गर्न कृषि मार्टमा ल्याएका थिए।

आफूले उत्पादन गरेर ल्याएको कृषिउपज एकै ठाउँमा बिक्री गर्न पाउँदा खुसी लाग्नुका साथै सहज भएको अगुवा कृषक अनिता राईले बताइन्। “अरु बेला आफूले उत्पादन गरेका कृषिउपज बोकेर सबै घर, होटलमा डुलेर कराउँदै बेच्नुपथ्र्यो। आज सहजै यहाँ एकै ठाउँमा बिक्री हुँदा धेरै खुसी लागेको छ”, उनले भनिन्,“कृषिउपजको बजारीकरणका लागि सञ्चालन गरिएको कृषि मार्टले निरन्तरता पाउन आवश्यक छ। यसप्रति सम्बन्धित निकायले ध्यान दिन जरुरी छ।”

नगरपालिकाले निर्धारण गरेको मूल्य आवश्यकता र समयको आधारमा परिवर्तन गर्दै जाने गरी हलेसी बजारमा कृषि मार्ट सञ्चालन गरिएको नगर प्रमुख राईले बताए। “त्रिधार्मिकस्थल हलेसी सबैको आस्थाको धरोहर हो।

यहाँ हजारौँ मानिसको आवतजावत हुन्छ। यहाँ आउने पर्यटकलाई अर्गानिक खानेकुरा पुर्याउन सकिएको छैन। नगरपालिकाले यसतर्फ मध्यनजर गर्दै कृषि मार्ट सञ्चालनमा ल्याइएको छ”, उनले भने, “मार्ट सञ्चालकले नगरपालिकाले तोकेको मूल्यमा कृषकबाट कृषिउपज खरिद गर्नुपर्छ। कृषकबाट खरिद गरिएको कृषिउपज मार्ट सञ्चालकले २० प्रतिशतसम्म मात्र नाफा लिएर बिक्री गर्छन्। विगतमा कृषिउपज बिक्री नहुने, उचित मूल्य नपाउने, बिक्री गर्न घरमा बोकेर डुलाउँदै जानुपर्ने कृषकको बाध्यता थियो। कृषि मार्ट र चिस्यान केन्द्र सञ्चालनमा आएसँगै कृषकको उक्त समस्या समाधान भएको छ।”

मध्यपहाडी लोकमार्गमा पर्ने त्रिधार्मिकस्थल हलेसीमा आगामी दिनमा दूध डेरीसमेत सञ्चालनको लागि तयारी गरिएको नगरपालिकाले जनाएको छ। दूध उत्पादनको लागि नगरपालिकाले भैँसी प्रवद्र्धन कार्यक्रम पनि सञ्चालन गरिरहेको छ।

हरेक दिन सयौँको सङ्ख्यामा त्रिधार्मिकस्थल हलेसीमा पर्यटक आउने गरेका छन्। जसकारण हलेसी क्षेत्रका होटल प्रायः सधैँ चलायमान हुन्छन्। तर, व्यवस्थापन हुन नसक्दा स्थानीयस्तरमा उत्पादन भएका कृषिउपज कुहिएर जाने र बाहिरबाट तरकारी भित्रिने गरेको थियो।

नगरपालिकाले कृषि मार्ट सञ्चालनमा ल्याएसँगै कृषकले उत्पादन गरेको सबै कृषिउपज बिक्री हुने विश्वास लिइएको छ। हिन्दू, बौद्ध र किराँत धर्मावलम्बीको सङ्गमस्थल हलेसीमा दैनिक सयौँको सङ्ख्यामा पर्यटक तथा भक्तजन आउने भएकाले पनि उक्त कृषि मार्ट निरन्तर सञ्चालन हुनेमा कृषक ढुक्क छन्।

Logo