काठमाडौं ।
संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले सन् २०२१ लाई आन्तरिक पर्यटन भ्रमण वर्षका रुपमा जोड दिने बताएका छन् । निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन केन्द्रीय कार्यसमितिले आज गरेको ‘पर्यटनमा कोभिड–१९ को प्रभाव र भावी कार्यदिशा’विषयक गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री भट्टराईले घोषणा गरे पनि नगरे पनि सन् २०२१ हाम्रा लागि आन्तरिक पर्यटन वर्ष भएकाले त्यसैलाई जोड दिन मन्त्रालयले दुई दिने विदाको अवधारणालाई छलफलका लागि अघि सारेको बताए ।
नेपालको अर्थतन्त्रमा ७० प्रतिशत अर्थात् झण्डै ८० अर्व विदेशी मुद्रा आर्जनमा योगदान गर्दै आएको पर्यटन क्षेत्रमा कोभिड–१९ को महामारीको सबैभन्दा ठूलो मार परेको उल्लेख गर्दै मन्त्री भट्टराईले भने–‘अब बल्ल कोरोना भाइरस विरुद्धको खोप प्रयोगमा आउन शुरु भएको छ । खोप शुरु भएपनि अझै एक वर्ष ठूलो मात्रामा विदेशी पर्यटक आइहाल्ने अवस्था छैन, यो समयमा नेपालको पर्यटन बजारलाई मर्न नदिने भनेकै आन्तरिक पर्यटकले हो ।’
आन्तरिक पर्यटन प्रवर्धन गर्नकै लागि दुई दिने विदाको अवधारणा अगाडि ल्याइएको चर्चा गर्दै मन्त्री भट्टराईले यो अवधारणबारे विज्ञहरुसँग अझै छलफल र परामर्श भइरहेको बताए । उनले भने, –‘यो निर्णय भइसकेको विषय हैन, अझै छलफलमै छ । सबैपक्षसँग छलफल गरेर मात्र निष्कर्षमा पुग्छौं ।’ तर, कुनै पनि अवधारणा हिजो असफल भयो भनेकै आधारमा आज पनि असफल नहुने उनको भनाई थियो । ‘हिजो असफल भयो होला तर त्यहि कुरा समय र परिस्थिति बदलिंदै जाँदा सफल पनि हुन्छ ।’ मन्त्री भट्टराईको भनाई थियो । यसलाई थोरै समय काम गरेरै धेरै उत्पादन दिने कोणबाट पनि हेर्नु पर्ने उल्लेख गर्दै मन्त्री भट्टराईले भने, –‘हामी अझै विज्ञहसँग छलफल गर्छौं, उचित निष्कर्ष निस्कियो भने अरु विदा कटौती गरेर पनि यो अवधारणा लागू गर्न सकिन्छ ।’
महामारीका कारण एक वर्षसम्म बन्दाबन्दीको अवस्थामा रहँदा मानिसमा उकुस–मुकुस भएकाले अर्को वर्ष नेपालमा पर्यटनको बाँध फुट्न सक्ने पनि उनले बताए । ‘ एक वर्षपछि नेपाल आउने पर्यटकको बाँध फुट्न सक्छ त्यसैले हामीले त्यसका लागि पूर्वतयारीका काम गरिरहनु जरुरी छ’ मन्त्री भट्टराईले भने ।
कोभिड १९ को महामारीका सन्दर्भमा सरकारले केहि गरेन भनेर बाहिर सरकारको आलोचना हुने गरेको सन्दर्भ उल्लेख गर्दै मन्त्री भट्टराईले कुनै पनि देशको साधन, स्रोत कति थियो र त्यसको परिचालन कति भयो भन्ने कोणबाट परिणाम खोज्नु पर्ने धारणा राखे । कोभिड अगाडिसम्म यसको परीक्षण गर्ने एउटै ल्याव हामीसँग थिएन, अहिले हामीसँग ७५ वटा ल्याव छन् । कोभिड संक्रमितको निको दर हाम्रो ९५ प्रतिशत छ, जुन दक्षिण एसियामै पहिलो हो । मृत्युदर पनि एकाध मुलुक बाहेक दक्षिण एसिया माहामी निकै राम्रो अवस्थामा छौं, मन्त्री भट्टराईले भने, ‘ केहि मानवीय क्षती भयो यो दुखद पक्ष हो तर व्यवस्थापनमा हामी कमजोर छैनौं ।’
कार्यक्रममा मन्त्रालयका पर्यटन बोर्डका प्रमुख कार्यकारी डा धनन्जय रेग्मी, होटल एसोसिएसन नेपालकी अध्यक्ष सृजना राणा र मन्त्रालयका अधिकृत रचना प्रधानद्वारा प्रस्तुत कार्यपत्रमाथि मन्त्रालयका सहसचिवद्वय बुद्धिसागर लामिछाने, कोमप्रसाद भट्टराई, पर्यटन विभागका महानिर्देशक रुद्रसिंह तामाङ र डा विजय पौडेलले टिप्पणी गरेका थिए । कार्यक्रममा मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाका, नीजि क्षेत्रका प्रतिनिधी र साथै कर्मचारीका विभिन्न संघ संगठनका प्रतिनिधीहरुले पनि आआफ्ना धारणा राखेका थिए ।































प्रतिक्रिया