काठमाडौं,
राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले जापानसँगै चीन र साउदी अरेबियाका गन्तव्यमा उडान गर्ने भएको छ । आगामी भदौ दोस्रो सातादेखि जापानको ओसाका उडान गर्ने तयारीमा रहेको निगमले क्रमशः साउदी अरब र चीनमा थप नयाँ गन्तव्य विस्तार गर्न लागेको हो ।
निगमले साउदी उडानका लागि जनरल सेल्स एजेन्ट (जीएसए) नियुक्तिका लागि केही दिनअघि बोलपत्र आह्वान गरिसकेको छ । यात्रुदेखि कार्गो एजेन्टका लागि समेत ग्लोबल बोलपत्र आह्वान गरेको हो । जीएसएको टुङुगो एक महीनाभित्र लाग्ने निगमले जनाएको छ । जीएसए प्रक्रिया पूरा गरी दशैँ अघि नै साउदी अरबको रियाद विमानस्थलमा जहाज उडान गर्ने तयारी गरिएको निगमका सहायक प्रवक्ता नवराज कोइरालाले जानकारी दिनुभयो ।
“ साउदी उडानका लागि बोलपत्र आह्वान गरिसकेका छौँ, साउदीको सिभिल एभिएसनलाई बोलाएर अडिट गरेपछि आगामी अक्टोबर महीनासम्म उडान शुरु गरिनेछ ”, उहाँले भन्नुभयो । साउदीमा विशेष गरी रोजगारीका लागि जाने नेपाली युवालाई लक्षित गरेर उडान गर्न लागिएको छ । सकेसम्म दशैँअघि नै रियाद विमानस्थलमा जहाज उडान गर्ने योजनाका साथ आवश्यक कागजी प्रक्रिया पूरा गरिसकेको निगमले जनाएको छ । यो गन्तव्यमा निगमले साताको तीन दिन (सोमबार, बुधबार र शुक्रबार) उडान गर्ने योजना छ ।
निर्धारित योजना अनुरुप निगमले भदौ १२ गते (२९ अगष्ट २०१९) देखि काठमाडौँ–ओसाका सिधा नियमित उडान गर्ने तयारी गरेको छ । यसअघि निगमले असार १९ गतेदेखि ओसाका उडान गर्ने योजना बनाए पनि टिकट बुकिङ कम भएको र पर्यटकीय सिजन प्रतिकूल रहेको भन्दै उडान तालिका परिवर्तन गरी भदौमा सारेको थियो । निगमका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ओसाका कान्साइ अन्तर्राष्ट्रिय विमानस्थलमा साताको तीन दिन सोमबार, शुक्रबार र बुधबार उडान गरिने योजना छ ।
रासस































प्रतिक्रिया