उपत्यकामा घर जग्गाको कारोबार फस्टाउँदै, कहाँ कति हुँदैछ किनबेच ?

उपत्यकामा घर जग्गाको कारोबार फस्टाउँदै, कहाँ कति हुँदैछ किनबेच ?

केन्द्रबिन्दु
168
Shares

काठमाडौं । काठमाडौं उपत्यकाभित्र केही महिनाअघिसम्म सुस्ताएको घर जग्गाको कारोबार पछिल्लो समय भने बढ्दै गएको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभाग सार्वजनिक गरेको तथ्यांकले उपत्यकाभित्र जग्गाको किनबेच गर्ने संख्या बढ्दो रहेको देखाएको हो ।

चालु आर्थिक वर्ष २०८०/८१ को पौषदेखि चैतसम्म उपत्यकाभित्र विभिन्न मालपोत कार्यालयबाट १६ हजार ४१ संख्यामा घरजग्गा कारोबार भएको विभागले बताएको छ । जुन अघिल्लो महिनाको तुलनामा केही बढी रहेको देखिन्छ । पौषमा ३४ सय १०, माघमा ४१ सय ६५, फागुनमा ४२ सय ३ र चैत्रमा ४२ सय ६९ संख्यामा घर जग्गाको खरिद बिक्री भएको विभागको तथ्याङ्कमा उल्लेख छ । काठमाडौंमा ६, भक्तपुरमा १ र ललितपुर २ गरी उपत्यकाभित्र ८ वटा मालपोत कार्यालयबाट उक्त संख्यामा कारोबार भएको हो ।

गत वर्ष विभागका अनुसार पौषदेखि चैतसम्म १६ हजार ८६४ संख्यामा जग्गा किनबेच भएको थियो । जुन कारोबार गत वर्षको तुलनामा केही कम हो । यद्यपि सरकारले जग्गाको कित्ताकाट रोक्का गरी फुकुवा गरेपछि सुधारोन्मुख बाटोमा घर जग्गा कारोबार देखिन थालेको छ । उक्त संख्यामा जग्गाको कारोबार हुँदा राजश्व रकम बृद्धि भने हुन सकेको छैन । उपत्यकाभित्र विभिन्न मालपोत कार्यालयबाट १६ हजार ४१ संख्यामा घरजग्गा कारोबार हुँदा सरकारले ३६ करोड २७ करोड बढी राजश्व संकलन भएको छ । सरकाले गत वर्षको उक्त ४ महिनामा एक अर्ब २२ करोड ८९ लाख रुपैयाँ राजश्व संकलन गरेको थियो ।

गत वर्ष सरकारले १६ हजार ८६४ संख्यामा जग्गा किनबेच गरेको थियो । विभागका अनुसार थोरै संख्यामा भएपनि महिनापिछे उपत्यकाभित्र जग्गाको खरिद बिक्री गर्ने क्रम बढ्दो अवस्थामा छ । विभाग अनुसार चालु आर्थिक वर्षको अघिल्ला महिनाको तुलनामा यो ४ महिना कारोबार केही प्रतिशत बढेको हो । त्यसअघिका महिनामा भने कारोबार घटबढ भइरहेको देखिन्छ । पौषदेखि चैतसम्म उपत्यकाभित्र विभिन्न कार्यालयबाट १२ सय ९८ संख्यामा नामसारी भएको छ ।

घर जग्गाको कारोबार अपेक्षाकृत हुन नसकेता पनि बिस्तारै गति लिन थालेको अवस्था रहेको नेपाल जग्गा तथा आवास विकास संघका अध्यक्ष विदुर धमलाले जानकारी दिए । उनका अनुसार यो कारोबार सन्तोषजनक हैन ।

‘अहिले मान्छेसँग पर्याप्त खर्च गर्न सक्ने अवस्था छैन, घरजग्गाको कारोबार गर्दा केही रकम बैंकबाट लोन प्रयोग गर्नुपर्छ, तर अहिलेको अवस्थामा बैंकबाट पनि घरजग्गाको कारोबार गर्ने अवस्था छैन,’ उनले भने । सरकारी डाटामा घर जग्गाको कारोबार भएको देखिएता पनि प्रत्यक्ष रूपमा कारोबार बढी नसकेको उनको भनाई छ ।

चैत्रमा घर जग्गाको कारोबार घट्यो

उपत्यका सामान्य प्रतिशतले घरजग्गामा सुधार आउँदा देशभरका मालपोत कार्यालयबाट भने चैत्र महिनामा कारोबार घटेको छ । फागुन महिनाको तुलनामा चैत्रमा झिनो अंकले घर जग्गाको कारोबार घटेको भूमि व्यवस्थापन तथा अभिलेख विभागले आइतबार सार्वजनिक गरेको तथ्यांकले देखाएको हो ।

विभागको तथ्यांकअनुसार चैत्र महिनामा ५० हजार २३५ वटा लिखित पारित भएका छन् । जुन अघिल्लो महिनामा भने ५० हजार ९९८ वटा संख्यामा मात्रै भएको थियो । विभागका अनुसार चैत्रमा ५ हजार ८८६ वटा नामसारी भएको छ । अघिल्लो महिनाको तुलनामा चैत्रमा भने नामसारी गर्नेको संख्या बढेको छ । फागुन महिनामा ५ हजार ६९९ वटा नामसारी भएको विभागको तथ्यांकले देखाएको छ । फागुनमा लिखित पारित ३९ हजार दुई सय ६३ र नामसारी तीन हजार एक सय ५९ वटा जग्गाको भएको थियो ।

यस्तै, चैत्रमा ३९ हजार ८ सय २२ वटा जग्गा रोक्का र २९ हजार २ सय ४७ वटा जग्गा फुकुवा भएको पनि विभागको तथ्याङ्कले देखाएको छ । विभागका अनुसार चैत्रमा १८ वटा अपार्टमेन्टको लिखित पारित भएको छ । चालु आर्थिक वर्षको फागुन महिनामा ५५ वटा जग्गा दर्ता र दाखिल खारेज २१ सय ९३ वटा भएको पनि विभागले जानकारी दिएको छ । केही वर्ष अघिका तुलनामा जग्गाको कारोबार सुधारोन्मुख हुँदै गएको तथ्यांकले देखाएको छ ।

चैत्र महिनामा भएको घरजग्गा किनबेचबाट सरकारले ३ अर्ब रुपैयाँ राजस्व संकलन गर्न सफल भएको छ । विभागअनुसार चैत्रमा देशभरका मालपोत कार्यालयबाट सेवा दिएबापत ३ अर्ब ९४ करोड ८१ लाख ३६ हजार रुपैयाँ राजश्व संकलन भएको छ । अघिल्लो महिना अर्थात् फागुनमा घर जग्गाबाट सरकारलाई ३ अर्ब ९५ करोड ९८ लाख रुपैयाँ राजस्व संकलन भएको थियो ।

Logo