अर्थमन्त्री पुन र विश्व बैंकका दुई उपाध्यक्षबीच भेटवार्ता

अर्थमन्त्री पुन र विश्व बैंकका दुई उपाध्यक्षबीच भेटवार्ता

केन्द्रबिन्दु
56
Shares

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले विश्व बैंकका उपाध्यक्षद्वय आकिहिको निसिओ र ग्वाङ्झे चेनसँग भेटवार्ता गरेका छन्।

आकिहिको निसिओ विश्व बैंकका विकास वित्त (डीएफआई) परिचालन र ग्वाङ्झे चेन पूर्वाधार क्षेत्र हेर्ने उपाध्यक्ष हुन्। दुवै उपाध्यक्षसँग मन्त्री पुनले वासिङटन डिसीस्थित विश्व बैंक मुख्यालयमा गएराति भेटवार्ता गरेको उनको सचिवालयले जनाएको छ। अमेरिकी अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी)का उपाध्यक्ष रिकार्डो पुलिटीसँग अर्थमन्त्री पुनले भेटवार्ता गरेका थिए।

सो अवसरमा अर्थमन्त्री पुनले विश्व बैंकका उपाध्यक्ष आकिहिको निसिओसँग आगामी जुनमा काठमाडौँमा विश्व बैंक समूहअन्तर्गतको अन्तर्राष्ट्रिय विकास सङ्घ (आईडीए–२१)को बैठक गर्ने नेपालको प्रस्ताव स्वीकार गरेकामा धन्यवाद दिए। सो बैठकको राम्रो तयारी भइरहेको भन्दै त्यसका लागि काठमाडौँस्थित विश्व बैंकको देशीय कार्यालयसँग समन्वय गरिरहेको बताए। उनले नेपालमा सहुलियतपूर्ण कर्जा वा अनुदानमार्फत लगानीका थप क्षेत्र पहिल्याउन आग्रह गरे।

नेपालजस्ता विकासोन्मुख देशका लागि भरपर्दो माध्यम बनाउन सकिने भन्दै मन्त्री पुनले पछिल्लो दशकमा दूरसञ्चार, यातायात, स्वच्छ ऊर्जाजस्ता क्षेत्रमा नेपालले हासिल गरेका उपलब्धि विश्व समुदायले हेर्न लायक भएको उल्लेख गरे।

नेपाल सरकार र १६ विकास साझेदारले सन् २०२१ मा संयुक्त रुपमा अनुमोदन गरेको हरित, उत्थानशील र समावेशी विकास (ग्रिड) का लागि रणनीतिक कार्ययोजना समावेश गरिएको काठमाडौँ घोषणापत्रको मार्गनिर्देशनमा अघि बढेको उनले जानकारी दिए। सो घोषणापत्रको अवधारणाअनुसार आगामी वर्ष पहिलो हरित उत्थान र समावेशी विकास कार्यक्रम अन्तर्गतको (ग्रिड डिपीसी) कार्यान्वयन गर्न लागिएको उनको भनाइ थियो।

मन्त्री पुनले एक हजार ६३ मेगावाटको माथिल्लो अरुण अर्थजलाशययुक्त आयोजना र छ सय ३५ मेगावाटको दूधकोशी जलाशययुक्त आयोजनामा विश्व बैंकले लगानी गर्न देखाएको तत्परताका लागि प्रशंसा गरे।

विश्व बैंकको पूर्वाधार क्षेत्र हेर्ने उपाध्यक्ष ग्वाङ्झे चेनसँग भएको भेटमा मन्त्री पुनले नेपालले पूर्वधार विकासलाई उच्च प्राथमिकतामा राखेको बताए। सरकारका तर्फबाट ऊर्जा, यातायात र सहरी पूर्वाधार केन्द्रित योजनामा जोड दिइएको उनको भनाइ थियो।

Logo