तातोपानी नाकाबारे सर्वपक्षीय छलफल

तातोपानी नाकाबारे सर्वपक्षीय छलफल

केन्द्रबिन्दु
140
Shares

सिन्धुपाल्चोक । पुरानै लयमा फर्केको नेपाल-चीनबीचको व्यापारिक तातोपानी नाका पुग्ने अरनिको राजमार्गबारे सम्बद्ध सबैले चिन्ता व्यक्त गरेका छन् ।

सिन्धुपाल्चोक क्षेत्र नं १ बाट प्रत्यक्ष निर्वाचित प्रतिनिधिसभा सदस्य माधव सापकोटाको अग्रसरतामा आज तातोपानी भन्सार कार्यालयमा भएको सर्वपक्षीय छलफलमा बाह्रबिसेदेखि लिपिङसम्मको सडक मर्मत हुन नसक्दा नाका सञ्चालनको दिगोपनाबारे चिन्ता व्यक्त गरिएको छ ।

सङ्घदेखि स्थानीय तहका जनप्रतिनिधि, राजनीतिक दल, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख, भन्सार प्रमुख, अध्यागमन, क्वारेन्टाइन, उद्योग वाणिज्य सङ्घ र स्थानीयको उपस्थितिमा तातोपानी नाका सञ्चालन तथा चुनौतीबारे छलफल भएको हो ।

लामो समय बन्द रहेर गत भदौ १५ गतेदेखि मानवसहित दोहोरो आवतजावत खुलेको नाकाको सञ्चालन र चुनौतीबारे पूर्वबजेट छलफल तथा वर्षात्को समय सुरु हुन लागेकाले छलफल राखिएको उनले जानकारी दिए ।

प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा नाका पुग्ने सडकको स्तरोन्नति चीनले गरिदिने विषयमा भएको सहमतिका सन्दर्भमा चिनियाँ पक्षसँग छलफल भएको जानकारी दिँदै सांसद सापकोटाले सडक विभागले बनाएको डिपिआरअनुसार सडक स्तरोन्नति गरिदिन आग्रह गरिएको बताए ।

चीनले नेपालले तयार गरेको डिपिआरअनुसार काम गरेर सडक हस्तान्तरण गर्ने अवस्था नभएमा अर्थ मन्त्रालयबाट बजेट विनियोजन गरेर सडक स्तरोन्नति गरिने उनको भनाइ छ । सडक स्तरोन्नति, नाकामा अध्यागमनसहितको एकीकृत भवन, नेपालतर्फ स्वागतद्वारका विषयमा आफूले गम्भीरतापूर्वक अग्रसरता लिएर काम गरिरहेको सांसद सापकोटाले जानकारी दिए ।

जुरेदेखि लिपिङखण्डलाई प्राथमिकता दिएर काम गर्न सडक विभागलाई सुझाव दिँदै उनले कोदारीको इको पहिरो क्षेत्र, डाक्लाङ क्षेत्र, जुरे र बाह्रबिसे क्षेत्रमा सडक सञ्चालन गर्ने साधन तयारी अवस्थामा राख्न निर्देश गरे ।

सांसद सापकोटाले सडक विभागका अधिकारीलाई तत्कालीन र दीर्घकालीन प्राथमिकताअनुसार काम गर्न सुझाव दिए ।

भोटेकोसी गाउँपालिकाका अध्यक्ष पासाङ नोर्बु शेर्पाले स्थानीय सरकारले नाका सञ्चालनका लागि सहजीकरण गरिरहेको बताए । अर्बौंको राजस्व उठाउने तातोपानी नाकालाई राज्यले गाईको दूध खाएर स्याहार नगरेजस्तो भएको गुनासो गरे । उनले आगामी वर्षसम्म पनि सडक सुधार नभए नाका सञ्चालनमा कठिनाइ हुनसक्ने भन्दै चिन्ता व्यक्त गरे ।

Logo