‘नेपालको चिया क्षेत्रमा राजनीति हस्तक्षेप छ’

‘नेपालको चिया क्षेत्रमा राजनीति हस्तक्षेप छ’

केन्द्रबिन्दु
0
Shares

म बच्चा हुँदादेखि नै इलाम घुम्न जान्थेँ। स्कुले शिक्षाको लागि अध्ययन गर्दाखेरि पनि म झापाको चियाबारीमा घुम्न जान्थेँ। आँखाको दृष्टिले भ्याएसम्म चियाबारी देखिन्थ्यो। पछि कलेज पढ्न थालेपछि आइएको परीक्षा केन्द्र चियाको जिल्ला भनेर चिनिने इलाममा नै पर्यो। परीक्षा केन्द्र भएको क्याम्पस चियाबारीको बिचमा थियो। त्यसबेला चियाको बोटहरुले ढपक्क छोपेको देख्दा चियाबारी छाडेर फर्कन मनै लाग्दैनथ्यो। विस २०२८ सालतिर पहिलो पटक म इलामको चियाबारीमा पुगेको हुँ। चियाका बुट्टाहरु हेरेर म भविष्य सोच्ने गर्दथेँ। त्यहीबाँट मोहित भएर चिया व्यवसायलाई आफ्नो कर्मको रुपमा अंगाले।

व्यावसायिक सिलसिलामा पछि म जर्मनी जाँदाखेरि त्यहाँ दार्जिलिङको चिया पाइने रहेछ। मेरो झापा भद्रपुर घर भएपनि बेला बेला म दार्जिलिङ पनि घुम्न गइरहन्थें। दार्जिलिङको चियाबारी पनि हेरेको थिए। फेरि म आफैँ पनि चियाप्रेमी मान्छे हुँ। अनि जर्मनीमा मैंले त्यसबेला पिएको चिया आसामको रहेछ। खासमा भन्नुपर्दा ठाउँ ठाउँको चियाबारीबाट नै प्रभावित भएर म चिया व्यवसायमा लागेको हुँ।

झापामा चियाबारीमै लड्दै, खेल्दै हुर्किएको हुँ। तर व्यवसायका रुपमा चियाबारीमा प्रवेश गरेको चाँही आजभन्दा करिब ३० वर्ष अगाडि सन् १९९४ बाट हो। व्यवसायका रुपमा सुरु गर्दा ‘मुना चिया’ भन्ने थियो। त्यसको पसल काठमाडौंको न्यूरोडमा थियो। त्यहाँ थरि थरिका मान्छेहर आउँथे। त्यहाँ मैंले मुना चिया र पहाडको चिया(अर्थोडक्स)को व्यवसाय गरें। व्यवसाय गर्दै जाँदा पछि मलाई चियाको विषयमा अध्ययन नै गर्ने मन लाग्यो। पछि म दार्जिलिङको चियाबारे हेरे, घुमे, बुझे। त्यहाँको चिया बेलायतको महारानीले पिउनुहुन्छ भन्ने सुनेको थिए। त्यहाँ पुगेर त्यो चियाको स्वाद पनि लिए। पछि इलामतिर घुम्न जाँदा झापाको चिया र ती दुई ठाउँको चियामा खासै भिन्नता देखिन।

अध्ययन र उद्योग सँगसँगै
विभिन्न समयमा जर्मनी जाने अवसर मिल्यो। ‘सिचुआन विश्वविद्यालयमा चियाबारे अध्ययन पनि गरे। अध्ययनपछि म हामी चिया उद्योगी र व्यवसायीका रुपमा उत्कृष्ट हुन सकिन्छ भन्ने निष्कर्षमा पुगेँ। चिया उद्यमीका रुपमा काम सुरु गरेपछि ट्रकमा चिया लोड गरेर आफैं कोलकत्ता जान्थें। त्यहाँबाट जहाजमा लोड गरेर जर्मनी पुर्याउँथे। त्यसमा हामी २० जना मन मिल्ने साथीहरु थियौं। इलामबाट कोलकत्ता र त्यहाँबाट जर्मनीमा हामीले बजार फैलायौँ। विश्व बजारमा गइसकेपछि गुणस्तरका सवालमा प्रशस्त प्रश्नहरु आए। जसका कारण आफैँ केही नयाँ काम सुरु गर्ने लक्ष्य अनुरुप भारतको बैङ्लोरबाट प्राङारिक मल बनाउने मान्छे बोलाएर मल उत्पादनमा लागेँ।

मल उत्पादनका लागि पहिले मैले किसानहरुलाई नि:शुल्क गाई वितरण गरे। चिया उित्पादन गर्नका लागि सुहाउँदो वातावरण तयार गर्दै गयौँ। गाईको गोबर, गाईको पिसाब र अन्य विभिन्न घासपातहरुबाट मल बनाउने कामलाई निरन्तरता दियौँ। मैले भारतबाट बोलाएका मान्छेले नेपाली किसानका घर घरै गएर प्राङगरिक मल बनाउन सिकाइदिए। त्यही मलको प्रयोगबाट उत्पादित चिया गोर्खा टी स्टेटमार्फत विश्व बजारमा लगिरहेका छौँ।

अहिले मैले उत्पादन गर्ने चिया पाँच वटा देशरुमा जान्छ। इलामको सुन्दरपानी भन्ने ठाउँमा मैले उत्पादन गर्ने चिया र त्यसको कारखाना छ। सुन्दरपानीकै ब्राण्डको नामले चिया सप्लाई हुन्छ। यसो गदागर्दै चिया बनाउनमा दक्षिण एसियामै एक नम्बरमा पर्न सफल भइसकेका छौँ। चिया उत्पादन गर्नका लागि किसानलाई प्रोत्साहन गरिरहेका छौँ। यद्यपी, हामी अझैपनि किसानमा निर्भर छौँ तर दार्जिलिङका ठूलठूला बगान नै छन्।

चियाबाट समृद्धि टाढा छैन
हाम्रो समाजमा चियाले मानिसलाई हानी गर्छ भन्ने भाष्य मात्र निर्माण गरिएको छ। चिया हाम्रो लागि स्वास्थ्यवद्धक छ। श्रीलंकाले त कोरोना भाइरस संक्रमण फैलिरहेको बेलामा ‘चिया खाउ कोरोना भगाऔं’ अभियान नै चलायो। चिया यति फाइदाजन छ तर हामीले चियालाई प्राकृतिक रुपमै उत्पादन, भण्डारण र सप्लाई गर्न सकियो भने नेपालको समृद्धि धेरै टाढा छैन।

मैंले अर्थात मेरो काराखानले उत्पादन गर्ने चिया पुरै अर्गानिक हो। तीनवटा सहकारीहरु चियाखेतीमा आवद्ध गराएका छौं। सबै किसानहरु सहकारीमा आवद्ध हुनुपर्छ। सबै चिया हामी किन्छौं। तर राम्रो बजार र बजार मूल्य दिन्छौं भनेर पनि आए तर प्रतिस्पर्धा गर्न कठिन छ। हाम्रो कारखानको चियाको जाँच र परीक्षण नै जापान अमेरिका, बेलायत, जर्मनी लगायतका देशरुबाट हुन्छ। त्यसैले मेरो चिया पुर्णतः अर्गानिक छ। यसले मलाई व्यवसायीक रुपमा विभिन्न चुनौति पनि छन्।

चियाको बजारीकरणमा ठुला चुनौती मैले देखेको छु। चिया किन्दै आएका उद्योगी व्यवसायीहरुले किसानलाई अर्गानिक चिया उत्पादन गर्न सहयोग नगर्ने, उचित बजार मूल्य नदिने लगायतका समस्याहरु भोगिरहेका छन्। सहयोगी चिया उद्योगीहरु एकदमै कम मात्र हुनुहुन्छ। मेरै छिमेकमा पनि चियामा विषादीहरु प्रयोग गर्नुहुन्छ। चियामा केमिकल फेर्टिलाइज, युरियाहरु प्रयोग गर्नुहुन्छ। कुनैपनि रोग लाग्यो भने स्प्रे गर्नुहु्न्छ।

कन्यामको चियाबारी सरकारको हो। त्यहाँ घुम्दा आँखा पोल्छ, नाक पोल्छ। विषादीका कारण त्यो चियाबारी मुनि बस्ने मान्छेहरुले विषादी मिसिएको पानी पिउन बाध्य छन्। वातावरण नै धुमिल भइसकेको छ।

मैले श्रीलंकामा दुईहप्ता हेरे, घुमे। त्यहाँ किसानहरुलाई सरकारको साथ र सहयोग छ। प्राङ्गारिक मलदेखि लिएर आवश्यक परिपुर्तीसम्म पाउने व्यवस्था छ। यद्यपी, त्यो कष्टपूर्ण र महंगो पनि छ। नेपालमा पनि सरकारले सचेतना, सहयोग गरिदियो भने भएका उद्योगहरु प्राङ्गारिक हुनेछन्। चियाले मूल्य पाउनेछ।

मेरो छिमेकीहरुले चियाको मूल्य बजारमा नौ सय रुपैयाँ पनि पाउँदैन। मैले आँखा चिम्लेर १२ सय पाउँछु नि। फेरि अरुले मलाई तैले त १२ सय पाउँछस भन्छन्। त्यसमा लगाएको लगानी कति छ त्यो देख्दैनन्। म किसानलाई हरियो पत्तिको एक सय सात रुपैयाँ दिन्छु। म मार्केटबाट बोनस दिलाउँछु। मेरो प्राङ्गारिकमा जति पनि प्रमाणीकरण गर्न लाउने देशका नाम लिए मैले त्यो सबै म ब्यहोर्छु।

यसमा सरकारले केही गर्नुपर्दैन। बाहिर पठाउने चियामा गुणस्तर राम्रो दिएमात्रै पनि पुग्छ। मैले त त्यो गरिरहेको छु। मैले मात्र गरेर त हुँदैन। हामीले यस कुरामा प्रधानमन्त्री, अर्थमन्त्री, गृहमन्त्रीलगायतलाई भेटेर कन्भिन्स गराएका छौं। तर हचुवाको भरमा विषादी प्रयोग गरिरहेका छन्। तर सुविधा बराबरी दिइन्छ। यसकारण पनि चिया उत्पादनमा किसानको आकर्षण घट्दो छ। हाम्रो चियाबारीमा काम गर्नेहरुले हाम्रो ब्राण्डलाई अर्कै नाम राखिसक्यो। उनीहरुले त अब कति चिया दिन सक्छस भनेर पनि सोध्न थालिसके।

सरकारले एउटा नीति तथा कायक्रम बनाइदिए राहत हुन्थ्यो। यही काम मैले श्रीलंकामा गर्न पाए। त्यहाँ सुरुमा म एकदम न्यून ब्याजमा पैसा पाउँछु। पछि मैले उत्पादन गरेर बेचेको चियामा मलाई राम्रो मूल्य दिन्छ। सुरुमा मलाई २०–२५ प्रतिशत दिन्छ।

भूपि शेरचनले भनेजस्तै–‘म देशैभरी इलामै इलाम छर्न चाहन्छु’ भनेजस्तै पुरै इलामलाई अर्गानिक गर्न सक्नुपर्छ। सक्यौं भने ७० लाख किलो चिया उत्पादन हुन्छ। यतिबेला लगभग १२ देखि १५ हजार किसान आवद्ध छन् उनीहरुले राम्रो मूल्य पाउन सक्छन। देशबाट अहिले वर्षेनी ४ अर्बको चिया बाहिर जान्छ भने यसमा सरकारले ठुलो लगानी र ठुलो नीति ल्याउनै पर्दैन।

चिया नीतिमा सरकार गम्भीर छैन
नेपालमा पहिले चिया नीति थिएन। वि.स. २०५७ सालमा पहिलो पटक नेपालमा चिया नीति बनेको हो। त्यतिबेलाको टी बोर्ड(चिया तथा कफि विकास बोर्ड)को अध्यक्ष भुवन पाठक हुनुहुन्थ्यो। त्यो नीति निर्माणमा मेरो पनि भूमिका छ। त्यो नीति एकदम राम्रो बनाएका थियौं। श्रीलंक र भारतको पनि अध्ययन गरेर बनाएका थियौं। त्यो नीतिलाई पछि तत्कालिन कृषिमन्त्रीमार्फत मन्त्रिपरिषदबाट पास पनि भयो। पछि लागु हुने अवस्थामा पनि गयो। चिया नीतिको दफा ४ को उपदफा ४ मा के भनेका थियौं भने चियाखेतीमा आवद्ध किसान र सरकारको ५० प्रतिशत लगानीमा चल्ने गरि चिया बोर्ड गठन गरौं भन्ने थियो। पछि राजनीति दलहरुको हस्तक्षेप गरे।

जसका कारण न चिया खेती लागू भयो न चिया बोर्ड नै गठन गर्न सकियो। चिया नीति बनेको २३ वर्षसम्म पनि चिया नीति लागु हुन सकेको छैन। २३ वर्ष बितिसक्दा हाम्रो अनुभवले के भन्छ भने सरकारले चिया नीतिमा काम गरेन। टी बोर्डमा चिया बारे केही जानकारी नभएका मान्छेलाई नियुक्त गर्यो। कुनैबेला मसँग इलाम जाँदा चियाको बोट देखाएर अध्यक्षले नै सोध्नुभयो–‘चिया कहाँ फल्छ ?’

विश्वभरका सबै देशका चियाहरु आफ्नै ब्राण्ड बनाएर विश्व बजारमा जान्छन्। तर हामी मकैबारी नाम लिएर चिया बेच्न जानु ? ब्राण्डनेम राख्नुपर्दैन ? भन्ने कुरामा म आफैंले अग्रसरता लिए। पहाडी चियाको म अध्यक्ष पनि थिए। मैले धेरै काम गरे। विदेश निर्यात गर्ने चियाको नाम ‘नेपाल टी’ भनेर पठाउने भनेर प्रस्ताव गरें। त्यो नाम पनि टी बोर्डका अध्यक्षले अस्वीकार गरिदिए। किनभने उनी चियाबारे अनभिज्ञ थिए। पटक पटक यस्तो भयो। चियाबारे जानकारी नभएकाहरुका कारण समस्या अहिलेपनि जारी छ।

एकताका मलाई एनओसी(नो अब्जेक्सन लेटर) दिइएन। पछि हामीले नेपाल टी क्वालिटी फरम दि हिमालय भन्ने ब्राण्ड बनायौं। त्यही ब्राण्डलाई टेकेर व्यवसाय गर्यौं। तर त्यो नीति आजसम्म पनि लागु हुन सकिरहेको छैन। अहिले जति पनि दलहरु सरकारमा जान्छन् जो कृषिमन्त्री हुन्छन्। उनीहरुले अगाडिको ढोकाबाट हुन्छ कि पछाडिको ढोकाबाट हुन्छ, त्यही बाटोबाट टी बोर्डमा पदाधिकारी नियुक्त गर्नुहुन्छ। हामी सहि बाटो हिड्न सकेनौं। चिया व्यवसायीसँग सम्बन्धित छ वटा संगठनका साथीहरु मिलेर यसो गर्न पाइदैन भनेर कृषिमन्त्रीलाई भनेका छौं। अनि हामीले अब पनि चिया नीति अनुसार काम गर्नुभयो भने टि बोर्डलाई नै बहिस्कार गर्छौं भनिसकेका छौं। हामीले सहि बाटोमा लाने प्रयास गर्दैछौं।

विश्व बजारमा फड्को
नीजि क्षेत्रका कारण विश्व बजारमा नेपाली चियाले ठूलो फड्को मारिसक्यो। विश्वका विभिन्न देशरुले सहभागी हुनेक्रम जारी छ। केही समारोहमा त नेपालले गोल्ड मेडल पाएको छ। मेरो आफ्नै कारखानाले गोल्ड मेडल पायो। अब हामीलाई विश्व बजारमा कसैले पनि चुनौती गर्न सक्दैन। मैले विश्वका सबै मुलुकसँग वार्ता गरेर हामीलाई चुनौति दिन सक्नुहुन्न पनि भनिसकेको छु।

विश्वमा भेटिएका चिया व्यवसायीहरुलाई सगरमाथाको बेसक्याम्पमा लगेर चियाको स्वाद चखाउँछु भन्यौं। चखायौं पनि। अहिले विभिन्न देशका पत्रकार र व्यवसायीहरुले त्यस्ता समारोहहरु अझै गरौं भनिरहेका छन्। तर कसरी गर्ने ? अहिले प्रदेश एक सरकारले चिया अन्तरक्रियाका लागि दुई करोड ५० लाख रुपैयाँ छुट्याएको छ भन्ने सुन्यौं। त्यसको जिम्म फेरि एनआएनएलाई दिएछ। त्यो गैरआवासीय संस्थाले अन्तर्राष्ट्रिय बारहरुसँग समन्वय गरेर अन्तरक्रिया गर्नसक्छ ? हामीले उहाँहरुलाई हाम्रो अनुभव पनि लिएर गर्न सुझाव दिएका थियौं। आउँदो जेठमा त्यो कार्यक्रम हुने भनिएको छ। हेरौं कसरी गर्नुहुन्छ।

चिया खेतीको बारेमा सहकार्यका लागि भारतलगायतका छिमेकी राष्ट्रहरु पनि तत्पर देखिएका छन्। पहिले एकचोटी भारतसँग सहकार्य समेत भएको थियो। तर त्यो सम्झौताको फाइल सिंदरबारमै अड्किएछ। पछि हामीले खोज्दा फाइल नै हराएछ। अब फाइल हराएपनि भारतले प्रक्रिया अगाडि बढाइसकेको छ। छिट्टै चियाखेती विश्वमै ब्राण्ड हुनेछ भन्ने आशा लिएका छौं। तर हाम्रो ८० प्रतिशत बजार भारत हो। भारतले अब चिया लिएर जाने ट्रकबाट नमुना लिएर त्यसको परीक्षणको नतिजा नआउञ्जेलसम्म नलिने नीति अपनाएको छ। यसकारण नेपालमा रहेका चिया उद्योगहरु बन्द हुने अवस्थामा छन्। यसका लागि सरकारले तादरुकता देखाउन जरुरी छ।

चिया व्यवसायीहरुको सरकारसँग कहिल्यै पनि सहकार्य हुन सकेन। नेपालका विभिन्न सरकारहरुले चिया खेतीलाई प्राथमिकता दिएको भएपनि अहिलेका सरकारले त्यति प्राथमिकतामा राखेको पाइँदैन। अहिलेको अवस्थामा झन राम्रो व्यवस्थाको कल्पना गरेका थियौं तर हामे अनुभवले के भन्छ भने सरकारबाट हामीले साथ र सहयोग पाएनौं। हाम्रो आर्थिक कुटनीति कमजोर छ। श्रीलंकाले आफ्नो राजदुतलाई नै चिया बेच्न अनुमति दिन्छ। आफ्नो राष्ट्रिय दिवसमा पनि चिया उपहार दिन्छ। हाम्रो नेपालमा पनि ३० भन्दा बढी देशका दुतावासहरु छन्। उहाँहरुसँग सहकार्य गर्नुपर्दछ। चिया व्यवसायलाई पर्यटनसँग जोड्न सकियो भने अपार सम्भावना छन्। मैले यसलाई पनि सँगै लिएर अघि बढेको छु।

(चिया उद्योगी एवम व्यवसायी उदय चापागाईंसँग गरेको कुराकानीमा आधारित।)

Logo