सेयर बजारमा आज पनि दाेहाेराे अंकको गिरावट

सेयर बजारमा आज पनि दाेहाेराे अंकको गिरावट

केन्द्रबिन्दु
56
Shares

काठमाडौं । साताको दोस्रो दिन पनि सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले घटेको छ । सोमबार १६.१८ अंकले घट्दै नेप्से परिसूचक १९५८.१९ विन्दुमा रहँदा कारोबार रकम पनि घटेको छ ।

६९ लाख ७८ हजार ३२१ कित्ता सेयर २ अर्ब ८९ लाख रुपैयाँमा किनबेच भएको छ । यसअघि आइतबार २४.५८ अंकले घट्दै नेप्से परिसूचक १९७४.३७ विन्दुमा रहँदा ९७ लाख ६२ हजार ८०३ कित्ता सेयर किनबेच भएको थियो । कारोबार रकम ३ अर्ब ७९ करोड ५७ लाख रुपैयाँ थियो ।

१३ मध्ये विकास बैंकबाहेक सबै उपसूचक घट्दा नेप्सेसँगै कारोबार रकम घटेको हो । आइतबार भने सर्वाधिक विकास बैंक उपसमूह २.६५ प्रतिशतले घटेको थियो ।
१७७ कम्पनीको सेयरमूल्य घट्दा लगानीकर्ताले गुमाएका छन् । ६२ कम्पनीको सेयरमूल्य बढेको छ भने ७ कम्पनीको सेयरमूल्य स्थिर रह्यो ।

२८.४ प्रतिशत लाभांश घोषणा गरेको सिटिजन लाइफ इन्स्योरेन्स सर्वाधिक कारोबार हुनेमा कम्पनीको सूचीमा पहिलो नम्बरमा छ । उक्त कम्पनीको ३१ करोड ९८ लाख रुपैयाँको सेयर किनबेच भएको छ । नेपाल फाइनान्सको १० करोड ८१ लाख, पोखरा फाइनान्सको ९ करोड ८० लाख, हिमालयन रिइन्स्योरेन्सको ६ करोड ६५ लाख र गोर्खाज फाइनान्सको ६ करोड ३६ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

सेयरमूल्य बढ्ने कम्पनीका बोटलर्स तराई, माउन्टेन हाइड्रो, सीवाइसी लघुवित्त, दिव्यश्वरी हाइड्रोपावर, बराही हाइड्रोपावर लगायत छन् । पोखरा फाइनान्स र दोल्ती पावर कम्पनीको सेयरमूल्य घटेर नेगेटिभ सर्किट नै लागेको छ । पिपुल्स पावर, समता घरेलु लघुवित्त, नाडेप लघुवित्तको पनि सेयरमूल्य घटेर लगानीकर्ता नोक्सानमा परेका छन् ।

Logo