लामो समयपछिकाे वर्षाले किसानलाई राहत

लामो समयपछिकाे वर्षाले किसानलाई राहत

केन्द्रबिन्दु
6
Shares

भद्रपुर (झापा) । लामो समयपछि वर्षा भएसँगै झापाका किसान खुसी भएका छन् । आज बिहानैदेखि पानी परेपछि किसानले लगाएको चैते धान, मकै, सुपारीलगायतका बालीलाई राहत मिलेको भन्दै किसान खुसी भएका हुन् ।

झापा गाउँपालिका–७ मा मकैखेती गरेका जीवनाथ लम्साल आज बिहानैदेखिको पानीले अलिकति भए पनि राहत मिलेको बताउँछन् । उनले भने, “धेरै समयपछि माटो भिज्ने गरी पानी परेको छ, हाम्रो जस्तो सुक्खा माटो भएको क्षेत्रलाई यसले राम्रो असर गर्छ ।”

आजको पानीले घोगा लाग्दै गरेको मकैका लागि रामवाणको काम गरेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना झापा एकाइका प्रमुख रविन्द्र सुवेदी बताउँछन् । “वर्षा ढिलो भए पनि माटो भिजेको छ, सबै किसानका लागि राहतको काम गर्छ”, उनले भने । लामो समयसम्म पानी नपर्दा नदीबाट सिँचाइ भएको ठाउँमा पानीको कमी हुँदै गएको तथा भूमिगत सिँचाइको सुविधा भएका क्षेत्रमा बिजुलीको भोल्टेज कम हुँदा किसानले आवश्यक सिँचाइ गर्न नपाएको बताएका छन् ।

गौरीगञ्ज गाउँपालिका–३ का सीताराम खड्काका अनुसार भूमिगत सिँचाइको व्यवस्था भए पनि खडेरीका कारण सबै बोरिङमा सुक्खा लागेको छ । “लामो समयको खडेरीका कारण धान, गहुँ आधाजति सुकिसकेका थिए, उत्पादनमा कमी भए पनि आजको पानीले राहत मिल्नेछ”, खड्काले भने । झापाका विभिन्न भागमा आज बिहानैदेखि सामान्य वर्षा भइरहेको छ ।

Logo