सुरक्षित तरिकाले कारोबार गर्न इसेवाले ल्यायाे एस्क्रो सुविधा

सुरक्षित तरिकाले कारोबार गर्न इसेवाले ल्यायाे एस्क्रो सुविधा

केन्द्रबिन्दु
42
Shares

इसेवाले आफ्ना ग्राहकका लागि नयाँ फिचर ‘एस्क्रो’ सुविधा ल्याएको छ । अनलाइन सपिङमा अग्रिम भुक्तानीपछि ग्राहकमाथि हुन सक्ने ठगी रोक्नका लागि कम्पनीले यो सुविधा ल्याएको हाे । अनलाइन माध्यमबाट सामान खरिद गर्दा बिक्रेतालाई समयमै भुक्तानी नहुने वा ग्राहकले अग्रिम भुक्तानी गरेपनि समयमै सामग्री नपाउने वा अग्रिम भुक्तानी गरेपछि विक्रेता सम्पर्कविहीन हुने जस्ता समस्या समाधान गर्नका यो सेवाले महत्वपूर्ण भूमिका खेल्ने इसेवाको भनाइ छ ।

के हाे एस्क्रो सुविधा ?

एस्क्रो सुविधाले अनलाइन लेनदेनहरूमा एक तटस्थ तेस्रो पक्षको रूपमा काम गर्छ। यसले खरिदकर्ता र विक्रेताहरूबीच सुरक्षित रकमको आदानप्रदान सुनिश्चित गर्छ। सुरक्षित र भरपर्दो प्लेटफर्म प्रदान गरेर, एस्क्रो सुविधाले सम्भावित जोखिमहरूलाई कम गर्छ र डिजिटल लेनदेनको लागि सुरक्षित वातावरणलाई बढावा दिन्छ।

एस्क्रो सुविधाले इसेवा प्रयोगकर्ताहरूलाई अर्को इसेवा वालेटमा सुरक्षित तरिकाले भुक्तानी गर्न अनुमति दिन्छ। कुनै पनि लेनदेन समय प्रेषक (पठाउने व्यक्ति) ले प्राप्तकर्ता (पाउने व्यक्ति) लाई पठाएको रकम प्रेषक आफैले आफ्नो खातामा ‘होल्ड’ गरेर राख्न मिल्छ। प्राप्तकर्ताले आफ्नो दायित्व पूरा गरेपछि बल्ल प्रेषकले होल्डमा राखेको रकम प्राप्तकर्ताले पाउन मिल्ने गरी जारी गर्न मिल्छ। यो प्रयोगकर्ताले ‘सेन्ड मनी’ भन्ने फिचरको प्रयोगमा गर्न सक्छन्।

उदाहरणको लागि तपाईंले एक अनलाइन स्टोरबाट सामग्री खरिद गर्दै हुनुहुन्छ। त्यसको लागि अग्रिम भुक्तानी गर्नुपर्ने अवस्था छ तर तपाईंले ती स्टोरलाई विश्वास गर्न सक्नुभएको छैन। यस्तोमा तपाईंले त्यो स्टोरले पठाएको जानकारीमा रकम पठाउनु भएपनि पूर्ण रूपमा रकम उनीहरूले पाएका हुँदैनन्। तपाईंले पठाउनु भएको रकम तपाईंकै खातामा होल्डमा हुन्छ। सामग्री पाइसक्नु भएपछि बल्ल सो रकम जारी (रिलिज) गर्न सक्नुहुन्छ।

यो सेवाको मुख्य उद्देश्य भनेको प्रेषक र प्राप्तकर्ता दुवैलाई रकम स्थानान्तरण कारोबार गर्दा आश्वासन र सुरक्षा प्रदान गर्नु हो। यो सुविधाले अपरिचित वा अज्ञात व्यक्तिलाई भुक्तानीको लागि पैसा पठाउने जोखिमहरू कम गर्न मद्दत गर्नेछ।
अहिले अनलाइन सपिङ लगायत अनलाइन कारोबार गर्दा ग्राहकहरू ठगिने प्रवित्ति बढेको छ। यस्तो अवस्थाका लागि यो सेवा निकै उपयोगी हुन्छ।

Logo