किसानलाई अनुदानमा ५४ हजार माछाका भुरा

किसानलाई अनुदानमा ५४ हजार माछाका भुरा

केन्द्रबिन्दु
0
Shares

दमौली (तनहुँ) । तनहुँको म्याग्दे गाउँपालिकाले शतप्रतिशत अनुदानमा कृषकलाई माछाको भुरा वितरण गरेको छ । व्यावसायिक रुपमा माछापालन गरिरहेका कृषकलाई प्रोत्साहन गर्न पालिकाले माछाका भुरा वितरण गरेको हो ।

गाउँपालिकाका सातवटै वडाका कृषकलाई ५४ हजार तीन सय माछाका भुरा वितरण गरेको गाउँपालिकाका पशु सेवा शाखा प्रमुख डा विनय शाहले जानकारी दिए । माछापालन गरिरहेका कृषकलाई प्रोत्साहन गर्न र माछापालन व्यवसायमा टिकाइराख्ने उद्धेश्यसहित गाउँपालिकाले अनुदानमा भुरा वितरण गरेको उनको भनाइ छ ।

डा शाहले भने, “विगत लामो समयदेखि माछापालन व्यवसायमा आवद्ध कृषकसँग भुरा प्राप्तिका लागि निवेदन माग गरेका थियौँ । निवेदन प्राप्त भएका २७ जना कृषकलाई भुरा वितरण गरिएको छ ।” उनका अनुसार प्रति रोपनी छ सयका दरले माछाका भुरा वितरण गरिएको हो ।

कृषकलाई तातो हावापानीमा हुर्किन सक्ने कमन कार्प जातका भुरा वितरण गरिएको डा शाहले बताए । उनले भने, “म्याग्दे गाउँपालिकाको हावापानीसँग मिल्ने प्रजातिका भुरा बाँडेका हौँ । यो माछा एक वर्षमा दुई किलोसम्म हुन्छ ।” गाउँपालिकाले सङ्घीय सरकार कृषि अनुसन्धान केन्द्र मातहतको मत्स्य अनुसन्धान केन्द्र बेगनासबाट प्रति भुरा ५० पैसामा खरिद गरेको हो ।

गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले माछापालक कृषकलाई प्रोत्साहन गर्न अनुदानमा भुरा वितरणको कार्यक्रम ल्याइएको बताए । “पालिकाले व्यावसायिक रुपमा काम गरिरहेका सबै कृषकलाई अनुदानको नीति ल्याएको छ, सोही बमोजिम कृषकलाई पनि शतप्रतिशत अनुदानमा भुरा वितरण गरेका हौँ”, उनले भने । उनले यो कार्यक्रमले व्यवसाय गरिरहेकालाई प्रोत्साहन हुने भन्दै नयाँलाई आकर्षण थप्ने विश्वास लिइएको उल्लेख गरे ।

गाउँपालिकाको वार्षिक स्वीकृत कार्यक्रम अनुसार सूचना माग अनुसार विवरण सङ्कलन गरी पोखरीको क्षमता हेरेर भुरा वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिए ।

म्याग्दे–४ का हिमनारायण कायस्थले गाउँपालिकाले निःशुल्क रुपमा उपलब्ध गराएको माछाका भुराले व्यवसाय सञ्चालनमा सहयोग पुगेको बताए । उनले भने, “हामी लामो समयदेखि माछापालनमा आवद्ध छौँ । व्यवसायलाई प्रोत्साहन गर्ने नीति गाउँपालिकाले लिएकाले हामीलाई सहज भएको छ ।”

म्याग्दे–४ का भिमकुमारी रानालाई एक हजार आठ सय, कायस्थलाई पाँच हजार चार सय, टोपप्रसाद थापालाई एक हजार दुई सय, वडा नं १ का पूर्णिमा थापालाई दुई हजार चार सय, जगतबहादुर थापालाई दुई हजार चार सय, सन्तमान बोटेलाई एक हजार आठ सय, वडा नं ३ का बोलबहादुर आलेलाई तीन हजार, टुपबहादुर थापालाई तीन हजार, धनबहादुर थापालाई एक हजार दुई सय, वसुन्धरा बराई मगरलाई दुई हजार चार सय, वसन्ती सारु मगरलाई एक हजार दुई सय, भरतबहादुर उच्चै मगरलाई छ सय, नविन बराईलाई एक हजार आठ सय, बालचन्द्र शाहीलाई छ सय, वडा नम्बर २ का लक्ष्मण थापालाई छ सय, विष्णुबहादुर नेपालीलाई एक हजार दुई सय, बेलबहादुर अधिकारीलाई एक हजार आठ सय माछाको भुरा वितरण गरिएको छ ।

वडा नं ५ का तालबहादुर आलेलाई तीन हजार छ सय, जगत थापालाई एक हजार आठ सय, मिनाकुमारी थापालाई पाँच हजार चार सय, बलिसिरा रानालाई छ सय, वडा नं ६ का श्रीबहादुर रानालाई छ हजार, शेरबहादुर गुरुङलाई तीन सय, वडा नं ७ का धु्रवराज वाग्लेलाई छ सय, ओमराज गोतामेलाई छ सय, अच्युतराज काफ्लेलाई एक हजार दुई सय, रमादेवी पौडेललाई एक हजार आठ सय भुरा वितरण गरिएको गाउँपालिका कार्यालयले जनाएको छ ।

Logo