युवाहरु विदेशिँदा गाडी कसलाई बेच्ने भनेर खोज्न जानुपर्ने अवस्था आयोः अध्यक्ष चौधरी [भिडियाे]

युवाहरु विदेशिँदा गाडी कसलाई बेच्ने भनेर खोज्न जानुपर्ने अवस्था आयोः अध्यक्ष चौधरी [भिडियाे]

केन्द्रबिन्दु
252
Shares

काठमाडौं । नाडा अटोमोवाईल्स एशोसिएशन अफ नेपाल (नाडा)का अध्यक्ष करण चौधरीले बढ्दो संख्यामा युवा विदेशिँदा गाडी कसलाई बेच्ने भनेर खोज्न जानु पर्ने अवस्था आएको बताएका छन् । ईमानद्वारा इप्पान र नाडासँगको सहकार्यमा बिहीबार काठमाडौंमा आयोजित प्री–बजेट छलफलमा उनले युवा विदेशिँदै गर्दा गाडी बिक्रीमा पनि कमी आएको बताएका हुन् ।

‘नेपाली अटोमोवाईल्स क्षेत्र अहिलेको अवस्थामा धराशायी बन्दै गएको छ, व्यवसायीलाई सर्भाइव हुन कठिन भईरहेको अवस्था हो, युवा विदेशिँदा अटो क्षेत्रमा पनि त्यसको असर पर्दै गएको देखिन्छ,’ उनले भने ।

अध्यक्ष चौधरीले अटो स्वच्छ बिजनेस गर्ने क्षेत्र रहेको बताउँदै यसलाई इलिगल बनाउनेतर्फ नलाग्नसमेत आग्रह गरेका छन् ।

अटो क्षेत्रमा देखिएका समस्याको समाधान गर्न अहिलेबाटै पहल नगरे आगामी दिन झन् यस क्षेत्र अफ्ठ्यारो अवस्थामा पर्ने उनले बताए । ‘अटो क्षेत्रको बिजनेस खच्किँदै गएको अवस्था छ, अहिले यस क्षेत्रको सुधार नगरे कहिलै पनि यो क्षेत्र माथि आउला भनेर भन्न सकिँदैन,’ उनले भने ।

सरकारले पनि नाफा आर्जन गर्ने हिसाबले काम गर्न आवश्यक रहेको उनको भनाइ छ ।

वार्षिक ९० अर्ब रुपैयाँ योगदान दिँदै आएको अटो क्षेत्र अहिलेको अवस्थामा ३० अर्ब रुपैयाँमा झरेको पनि चौधरीले बताए । यस क्षेत्रलाई निरूत्साहित गर्न नहुने उनको तर्क छ ।

सरकारले व्यवसायीलाई व्यवसायीक वातावरण सिर्जनाका निमित्त काम गर्नुपर्ने पनि अध्यक्ष चौधरीले बताए । ‘बजेटले हात बान्छ, मौद्रिक नीतिले मुख टाल्छ, अहिलेको अर्थतन्त्रको अवस्थाले नदिमा फालिदिन्छ, यस्तो अवस्थामा व्यवसायीलाई सरकारले प्रोत्साहन गर्नको लागि आवश्यक छ, निजी क्षेत्रलाई खुसी बनाउन केही गर्न पर्दैन, नीजि क्षेत्रबाट सञ्चालित बिजनेसलाई फस्टाउने वातावरण गरिदिए उपयुक्त हुन्छ,’ उनले भने ।

आगामी बजेटबाट मौद्रिक नीतिलाई सम्बोधन गरेर करको दर हल्का खुकुलो बनाइ दिनुपर्ने पनि बताए । साथै अवैध तरिकाबाट पार्ट आयात हुँदा सरकारको राजश्व संकलनमा कमी आइरहेको अध्यक्ष चौधरीले बताए ।

‘अहिलेको अवस्थामा व्यवसाय बन्द गरेर हिँड्न नसक्नु हाम्रो बाध्यता हो, तर व्यवसायी साथीहरू व्यवसायलाई बन्द गरी विदेशी सक्नुभएको छ, सबैलाई लाग्न सक्छ, गाडी बिक्री भइरहेको देखिन्छ, तर अहिलेको अवस्थामा ईभीबाहेक अन्य गाडी बिक्री भएको छैन,’ उनले भने ।

Logo