१९ खर्ब ६७ अर्ब पुग्यो विदेशी मुद्रा सञ्चिति, १५ महिनाको आयात धान्ने

१९ खर्ब ६७ अर्ब पुग्यो विदेशी मुद्रा सञ्चिति, १५ महिनाको आयात धान्ने

केन्द्रबिन्दु
98
Shares

काठमाडौं । विदेशी विनिमय सञ्चिति जेठ मसान्तमा १९ खर्ब ६७ अर्ब १९ करोड रुपैयाँ पुगेको छ । २०८० असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २७.८ प्रतिशतले वृद्धि भई २०८१ जेठ मसान्तमा १९ अर्ब ६७ अर्ब १९ करोड पुगेको हो ।

नेपाल राष्ट्रय बैंकले चालु आर्थिक वर्ष २०८०/८१ जेठसम्मको तथ्याङक सार्वजनिक गर्दै अमेरिकी डलरमा यस्तो सञ्चिति १४ अर्ब ७२ करोड पुगेको देखिएको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति ३०.२ प्रतिशतले वृद्धि भई १७ खर्ब ५२ अर्ब ७७ करोड पुगेको छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंक बाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति एघार महिनामा २ खर्ब १४ अर्ब ४२ करोड कायम भएको छ ।

२०८१ जेठ मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.३ प्रतिशत रहेको छ । एघार महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १५.१ महिनाको वस्तु आयात र १२.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको राष्ट्र बैंकले बताएको छ ।

विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरुक्रमशः ३४.५ प्रतिशत, १०५.२ प्रतिशत र २९.२ प्रतिशत रहेका छन् । २०८० असार मसान्तमा यी अनुपातहरु क्रमशः २८.८ प्रतिशत, ८३.० प्रतिशत र २५.० प्रतिशत रहेका थिए ।

Logo