नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेको छ। भेटमा अटोमोबाइल क्षेत्रमा भएका विभिन्न विषयहरूमा छलफल भएको छ।
अध्यक्ष चौधरीले अटोमोबाइल व्यवसायको क्षेत्रमा देखा परेका समस्याहरूबारे संक्षिप्त रूपमा प्रस्तुत गरे। उनले सरकारको हालका कार्यविधिहरूका कारण अटोमोबाइल व्यवसायीहरू निरुत्साहित हुँदै गएको बताउँदै नेपालको अटोमोबाइल व्यवसायलाई उकास्न आवश्यक नीतिगत सुझावहरू पेश गरेका छन्।
छलफलमा अध्यक्ष चौधरीले विशेषगरी अटोमोबाइल व्यवसायलाई पुनः गतिशील बनाउन बैंकहरूबाट निजी सवारी साधनको हायर पर्चेस लोन प्रवाह गर्ने प्रकियामा लोन टू भ्यालू रेसियोको हालको ५० प्रतिशतको सीमालाई वृद्धी गरेर ७५ प्रतिशत गरिनुपर्ने बताए।
साथै, चालु पुजी कर्जा मार्गदर्शन २०७९ लागु भएपछि लागू भएको मितिभन्दा अगाडी कर्जा लिएकाहरूलाई त्यो व्यवस्था लागू नहुने तर यो लागू भएको मिति पछि कर्जा लिएकाहरूलाई मात्रै चालु पुजी कर्जा मार्गदर्शन २०७९ लागू हुनेगरी कार्यान्वयनमा ल्याएमा सम्पूर्ण समस्याको समाधान हुने बताए।
त्यसैगरी, उनले नेपालमा नेपालमा विद्युतीय सवारी साधनहरूका सम्बन्धमा सरकारले स्थायी प्रकृतिको नीति तथा नियम ल्याउनुपर्ने बताए।
अध्यक्ष चौधरीले दुई पांग्रे सवारी साधनहरूको सन्दर्भमा पैठारीकर्ताले डिलरलाई बिल गरेको दिनबाट सवारी कर लाग्दै आएकोमा डिलरले ग्राहकलाई बिल गरेको दिनबाट मात्र कर लाग्ने व्यवस्था मिलाउन सरकारलाई आग्रह गरेका छन्।
छलफलमा प्रधानमन्त्री ओलीले सवारी साधन, टायरट्युब, ब्याट्री तथा लुब्रिकेन्टस उद्योगहरूको वर्तमान अवस्थाका सम्बन्धमा विशेष चासो र जिज्ञासा राखे। उनले नाडा अध्यक्ष चौधरीले प्रस्तुत गरेका समस्याहरूको समाधानका लागि आवश्यक पहलकदमी लिइने समेत आश्वासन दिएका छन्।





























प्रतिक्रिया