काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङले छिट्टै प्राधिकरणको आईपीओ निष्कासन हुने बताएका छन् ।
शुक्रबार पत्रकार सम्मेलन गर्दै प्रमुख कार्यकारी निर्देशक घिसिङले पुँजीको १० प्रतिशत सेयर आम सर्वसाधारणलाई निष्कासन गरी संकलन गरिएको रकम ठूला जलविद्युत आयोजनाहरूमा लगानी गर्ने दिशामा प्राधिकरण अघि बढी सकेको बताएका हुन् । विद्युत् प्रसारण तथा वितरणतर्फका पूर्वाधार संरचना विस्तार तथा सुदृढीकरणमा ठूलो लगानी परिचालन गरेको पनि उनले जानकारी दिए । । विगत ८ वर्षमा मात्र प्राधिकरण करिव एक खर्ब रुपैयाँ पूँजिगत लगानी गर्न सक्षम भएको पनि उनको भनाइ छ ।
घिसिङका अनुसार आठ वर्षमा प्राधिकरणले आफ्ना सहायक र सम्बद्ध कम्पनीहरूमा ५६ अर्ब ६८ करोड रुपैयाँभन्दा बढी लगानी गरेको छ । प्राधिकरणको आम्दानी १ खर्व १६ अर्ब रुपैयाँबाट उकालो लागेको घिसिङले बताए । ‘प्राधिकरणको कुल सम्पत्ति आठ वर्षअघि २ खर्व ११ अर्ब रुपैयाँ रहेकोमा हाल ६ खर्व ३२ अर्ब रुपैयाँ पुगेको छ, प्राधिकरणले अन्तराष्ट्रिय परामर्शदाता मार्फत आफ्नो सम्पत्तिको वास्तविक मूल्याङ्कन गरिएको छ,’ उनले भने ।
देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत भारतीय प्रतिस्पर्धी बजारको डे–अहेड र रियल टाइम मार्केट र मध्यकालीन सम्झौताबमोजिम पनि विद्युत् निर्यात भइरहेको उनले बताए । विद्युत् निर्यात परिमाण हरेक वर्ष बढिरहेका उनको भनाइ छ ।
नेपालले औपचारिक रूपमा विद्युत निर्यात नोभेम्बर २०२१ बाट शुरु गरेको थियो । निर्यातको मात्रा बढ्दै गएर गत आ.व. मा १ अर्ब ९४ करोड युनिट विद्युत् निर्यात गरी १७ अर्ब ७ करोड रुपैयाँ आम्दानी भएको छ । वर्षायाममा दैनिक ७ सय मेगावाटभन्दा बढी विद्युत् निर्यात भइरहेको बताउँदै सुख्खायाममा नदीमा पानीको बहाव घटी देशभित्रका नदी प्रवाही जलविद्युत् गृहहरूबाट विद्युत् उत्पादन घट्ने हुँदा माग धान्न गाह्रो रहेको पनि घिसिङले बताए । जसका कारण गत आ.व.मा भारतबाट १ अर्ब ९१ करोड युनिट अर्थात् १६ अर्ब ९३ करोड रुपैयाँ बराबरको विद्युत् आयात गरिएको बताए ।
यसरी गत आर्थिक वर्षमा आयातभन्दा करिव १३ करोड रुपैयाँ बढीको विद्युत् निर्यात भएको छ जसले गर्दा आर्थिक वर्ष २०८०/८१ बाट खुद विद्युत् आयातकर्ताबाट नेपाल खुद विद्युत् निर्यातकर्ता बनेर गौरवमय इतिहास बनाउन सफल भएको पनि प्रमुख कार्यकारी निर्देशक घिसिङले बताए ।





























प्रतिक्रिया