नाडा अटो शोको आकर्षणमा देखिँदै यी ५ ईभी गाडी, कुनको के छन् विशेषता ?

नाडा अटो शोको आकर्षणमा देखिँदै यी ५ ईभी गाडी, कुनको के छन् विशेषता ?


काठमाडौं । नजिकिँदै गरेको ‘नाडा अटो शो–२०२४’ मा प्रदर्शनीका लागि विभिन्न कम्पनीले आफ्ना नयाँ प्रडक्ट भित्र्याउने क्रम जारी छ । एकपछि अर्को नयाँ मोडलका इलेक्ट्रिक भेहिकल (ईभी) गाडी नेपालका भित्रिराख्दा उक्त सवारीले निकै चर्चासमेत पाइरहेका छन् ।

ग्राहकको पहिलो प्राथमिकतामा ईभी गाडी पर्ने महसुस गर्दै नेपाली आधिकारिक कम्पनीहरूले ल्याएका सो ब्रान्डका गाडी अटो शो अवधिभर आकर्षणमा पर्ने देखिन्छ । यही भदौ ११ गतेदेखि १६ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन हुने १६औं संस्करण अटो शोमा ईभी गाडीको बाहुल्यता हुने व्यवसायीहरू बताउँछन् ।

अटो शोको अधिकांश स्टल ईभी सवारी बिक्री गर्ने कम्पनीहरूको रहेको नाडा अटो शोका सभापति अनुप कुमार बरालले जानकारी दिए । उनका अनुसार यसपटक पनि ईभीमय अटो शो हुनेछ । अटो शोलाई लक्षित गर्दै अहिले इन्धन र ईभीका दर्जानौं नयाँ गाडीहरू भित्रिसकेका छन् । नाडा अटोमोबाईल्स एशोसिएशन अफ नेपालको नेतृत्वमा आयोजना हुने यस अटो शोलाई नयाँ गाडी खरिद गर्ने अवसरको रूपमा पनि हेर्न गरिन्छ ।

अटो शोमा गाडी बुकिङ तथा खरिद गर्नेहरूलाई कम्पनीहरूले अफरको व्यवस्थापन मिलाउने भएकाले हेर्न र किन्नको घुइँचो लाग्ने गर्छ । अहिले कम्पनीहरू अटो शोबाट आफ्ना ब्रान्डका गाडी कति बुकिङ वा बिक्री गर्न सकिन्छ भन्ने योजना बुनिरहेका छन् । आधुनिक फिचरले सुसज्जित साथै दमदार पर्फर्मेन्स भएका ईभी बजारमा आइराख्दा कुन ब्रान्डको गाडी किन्ने भन्ने अन्योलता ग्राहकमा छ । यद्यपि सोही अन्योल मेटाउँदै अटो शोका लागि भनेरै नेपालमा धमाधम नयाँ गाडी आइरहेका छन् ।

अटो शोका लागि भनेर नेपाल आएका साथै आउने तयारीमा रहेका केही ईभी गाडीहरूको फिचर र मूल्य हेरौं-

स्काइवेल ‘एसयूभी बी ११’

चिनियाँ ब्रान्ड स्काइवेलको नेपालका लागि आधिकारी बिक्रेता जी मोटर्स प्रालिले नाडा अटो शोलाई लक्षित गर्दै आफ्नो नयाँ प्रडक्ट ल्याउने भएको छ । कम्पनीले ‘एसयूभी बी ११’ मा ५२० किलोमिटर र ४१० किलोमिटर रेन्ज दिने ईभी गाडी ओटो शोमा प्रदर्शनी गर्ने भएको हो ।

जी मोटर्सले हाल ६२० किलोमिटर रेन्ज भएको ‘स्काईवेल ईटी–५’ प्रिमियम एसयूभी ईभी गाडी बिक्री गर्दै आएका छ । सोही गाडीको लो भर्जन ‘एसयूभी बी ११’ रहेको कम्पनीका प्रबन्ध निर्देशक कैलाशबाबु गेलालले बताए । एसयूभी बी ११ गाडीमा क्रमशः ७१ र ५१ किलोवाट क्षमताको ब्याट्री जडान भएको छ । गेलालले ईटी–५ जस्तै एसयूभी बी ११ रहेको तर, क्षमताका हिसाबले यी दुवै गाडी भिन्न रहेको बताए । कम्पनीले उक्त गाडीको मूल्य भने सार्वजनिक गरिसकेको छ ।

कम्पनीका अनुसार स्काइवेल ७१ किलोवाट आवर ब्याट्रीको मूल्य ८९ लाख ९० हजार र ५१ किलोवाट आवर ब्याट्री भएको ईभीको ७९ लाख ९० हजार रुपैयाँ तोकिएको छ । उक्त शो अवधिभर यी गाडीको बुकिङ १०० भन्दा बढी हुने अपेक्षा रहेको गेलालले जानकारी दिए ।

अवतार ११

नेपालका दुई व्यवसायिक घराना सिजी ग्रुप र एमएडब्लू ग्रुपले मिलेर ल्याएको अवतार–११ पनि नेपाली बजारमा आइसकेको छ । उक्त ईभी गाडी पनि अटो शोको प्रदर्शनीमा राख्ने बताइएको छ । उक्त गाडी धेरै ग्राहकको अटो शो अवधिभर आकर्षणमा रहने अनुमान गरिएको छ ।

कम्पनीले अवतार–११ एसयूभीको मूल्य अनुमानित १ करोड ४५ लाख रुपैयाँ तोकिसकेको छ । ९० किलोवाट आवरको ब्याट्री क्षमता रहेको यस गाडीलाई सिंगल चार्जमा ५५५ किलोमिटर कुँदाउन सकिन्छ । उक्त गाडीको टप स्पिड ९० किलोमिटर प्रतिघण्टा रहेको छ । सीएचएन प्लेटफर्ममा बनेको यसएसयूभीको ह्वीलबेस २९७५ एमएम, चौडाई १९७० एमएम, उचाई १६०१ एमएम र लम्बाई ४८८० एमएम रहेको छ । आधुनिक फिचरहरू समावेश गरिएको यस गाडीलाई स्क्रिनहरू हुवावेको सफ्टवेयरले सञ्चालन गर्छ । यसको इन्टेरियरमा १०.२५ इन्चको डिजिटल इन्ट्रुमेन्ट क्लस्टर, १५.६ इन्चको इन्फोटेन्मेन्ट स्क्रिन दिएको छ । पछाडि बस्ने यात्रुको लागि छुट्टै १०.२५ इन्चको डिस्प्ले स्क्रिन समेत दिइएको छ । नेपालमा आएसँगै यो गाडी आम ग्राहकको रोजाइमा पर्ने अपेक्षा कम्पनीले लिएको छ ।

टाटा पन्च ईभी

टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले नाडा अटो शोलालाई लक्षित गर्दै ‘टाटा पन्च ईभी’ ल्याएको छ । नाडा अटो शोमा प्रमुख आकर्षण केन्द्र बन्ने अनुमान गरिएको टाटा पन्च ईभीमा आधुनिक फिचरहरू समावेश गरी तयार परिएको एउटा लोकप्रिय गाडी हो । उक्त गाडीमा दुई वटा ब्याट्री अप्सन दिइएको छ । सो ईभी गाडीमा २५ र ३५ किलोवाट आवरको ब्याट्री प्याक जडान गरिएको छ । उक्त गाडीमा क्रमशः ६० र ९० किलोवाट क्षमताको मोटर दिइएको छ ।

हाल भित्रिएको पन्च ईभीमा ३५ किलोवाट आवरको ब्याट्री छ । सिप्रदीले टाटा पन्च ईभीको मूल्य करिव ३२ लाखदेखि ४२ लाख रुपैयाँ तोकिएको छ । नेपाली सडक लागि उपयुक्त गाडीको १९० मिलिमिटर ग्राउन्ड क्लियरेन्स रहेका छ ।

बीवाईडीको एम ६

साइमेक्स इंकले नेपालमा बीवाईडीका विभिन्न मोडलका गाडी बिक्री गर्दै आएको छ । नाडा अटो शोमा पनि प्रायः बीवाईडीको नयाँ प्रडक्ट देखिँदै आएको छ । तर, यस पटकको अटो शोमा बीवाईडीको नयाँ कुन आउने रहेछ भन्ने धेरैको चासो छ । अटो शोलाई लक्षित गर्दै बीवाईडीले ७ सिट क्षमताको ‘एम–६’ गाडी ल्याउने बुझिएको छ । यद्यपी कम्पनी आफैले भने यसको औपचारिक घोषणा भने गरिसकेको छैन । साइमेक्स इंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) साहिल श्रेष्ठले यो गाडी ल्याउने कि नल्याउने भनेर टुङ्गो लागि नसकेको बताए ।

‘यो गाडी ल्याई प्रदर्शनीमा राख्ने योजना कम्पनी हो तर, अटो शो अगावै यो गाडी आउने देखिएन, यो गाडी नआए प्रदर्शनीमा बीवाईडीका अन्य मोडलका गाडी राख्छौं,’ उनले भने । ७१.८ किलोवाट ब्याट्री क्षमता भएको एम६ ले एक पटको फुल चर्चामा ५३० किलोमिटर रेन्ज दिन्छ । विश्व बजारमा यो गाडी चार वटा रङमा उपलब्ध छ ।

नामी बक्स

एमएडब्लू वृद्धि अटोकर्प प्रालिले पनि अटो शोमा आफ्नो नयाँ गाडी प्रदर्शनीमा राख्ने भएको छ । कम्पनीले ‘नामी बक्स’ मोडलको गाडी प्रदर्शनीमा राखने भएको हो । लम्बाई ३७३२ मिमी, चौडाई १ ५७९ मिमी रहेको यस गाडीको २ हजार ४२३ मिमी ह्वीलबेस रहेको छ । यो ३३ किलोवाट र १२५ एनएम टर्क प्रदान गर्दछ । गाडीले ६ सेकेन्डमा ०–५० किमी/घण्टाको गति हासिल गर्ने बताइएको छ । कम्पनीले नामी बक्सको मूल्य ३९ लाख ९९ हजार रुपैयाँ निर्धारण गरेका छ ।

Skip This
Skip This
Logo