काठमाडौं । नेपालका लागि टाटा मोटर्सको अधिकारिक वितरक सिप्रदी ट्रेडिङले नेपाली बजारमा पन्च डट ईभी भित्र्याएको छ । यही भदौ ११ गतेदेखि सुरु हुने ‘नाडा अटो शो’मा लन्च गर्ने तयारीस्वरुप सिप्रदी ट्रेडिङले पन्च डट ईभी भित्र्याएको हो ।
यो गाडी हाल कम्पनीले टेस्ट ड्राइभको लागि राखेको छ ।
पन्च डट ईभी टाटा मोटर्सको चौथो ईभी हो। यसअघि टाटा मोटर्सले नेक्सन ईभी, टिगोर ईभी र टियागो ईभी बजारमा ल्याएको थियो। भारतीय बजारमा निकै रुचाइएको यो पन्च डट ईभीले नेपालमा पनि राम्रै बजार पाउने कम्पनीको विश्वास छ ।
आज काठमाडौंमा आयोजित टेस्ट ड्राइभ इभी समारोहमा सिप्रदी ट्रेडिङका जेनेरल म्यानेजर सावन्त जंग सिजापतिले पन्च डट ईभीले फाइभ स्टार रेटिङ पाएको जानकारी दिँदै निकै सुरक्षित रहेको बताए । ईभीका सन्दर्भमा नेपाली बजारमा टाटा नंबर वान ब्राण्ड रहेको र पन्च डट ईभीले झनै यो स्टारडमलाई मजबुत बनाउने उनको दाबी छ ।
टाटा पन्च डट ईभी दुई ब्याट्री अप्सन २५ किलोावाट आवर र ३५ किलोवाट आवरमा उपलब्ध छ। नेपाल आएको पन्च ईभी ३५ किलोवाट आवरको ब्याट्रीयुक्त हो। ५ सिट क्षमताको यो विद्युतीय एसयूभीले एक पटकको फुल चार्जमा ३ सय १५ देखि ४ सय २१ किलोमिटरभन्दा बढी रेन्ज दिने दाबी गरिएको छ।
हाल ५ कलरमा उपलब्ध यस पन्च डट ईभीमा १६–इन्च एलआरआर टायर, १९० मिमी ग्राउन्ड क्लियरेन्स, प्रभावशाली एप्रोच, डिपार्चर र र्याम्प–ओभर एंगल्स लगायतका विशेषताहरू रहेका छन् । सिप्रदीले भन्सारबाट गाडी छुटाउनका लागि ४० लाखदेखि ४२ लाख रुपैयाँ मूल्य तोकेको छ । यद्यपि, यो गाडीको आधिकारिक मूल्य भने नाडा अटो शोमा मात्रै सार्वजनिक गर्ने कम्पनीको भनाई छ ।
प्रतिक्रिया