विद्युतीय गाडी खरिद गर्ने ग्राहकलाई आकर्षित गर्दै बैंकः सस्तो ब्याजदरमा सवारी कर्जाको अफर

विद्युतीय गाडी खरिद गर्ने ग्राहकलाई आकर्षित गर्दै बैंकः सस्तो ब्याजदरमा सवारी कर्जाको अफर

केन्द्रबिन्दु
69
Shares

काठमाडौँ । आजदेखि काठमाडौँको भृकुटीमण्डपमा यो वर्षको नाडा अटो शो सुरु भएको छ । भदौ १६ गतेसम्म चल्ने मेलामा व्यावसायीहरूले सवारीसाधन बिकाउनका लागि विभिन्न छुटलगायतका अफरहरू ल्याएका छन् । सोहीक्रममा बैंकहरूले पनि आफ्नो ब्याजदर सस्तो बनाएर ग्राहक तान्ने कोशिश गरिरहेका छन् ।

अटो शोमा बैंकहरूले स्टल नै राखेर विभिन्न छुटका स्किमहरू ल्याएका छन् । यसरी हेर्दा बैंकहरूबीच पनि ग्राहकलाई आकर्षित गर्न प्रतिस्पर्धा देखिन्छ । बैंकहरूले प्रिमियम कम जोडेर सस्तो ब्याजदरमा सवारी कर्जा उपलब्ध गराउने अफर ल्याएका हुन् ।

जसमा कतिपय बैंकहरूले एकल अंकको ब्याजदरमै कर्जा दिने योजनाहरू ल्याएका छन् । यसरी हेर्दा बैंकहरूले विद्युतीय गाडी खरिद गर्ने ग्राहकलाई आकर्षित गराउन खोजेको देखिन्छ । उनीहरूले गाडी खरिदमा सहज फाइनान्सिङलगायत सरल सुविधा ल्याएका छन् ।

हाल बैंकहरूले कर्जाको प्रकृतिअनुसार आधार दरमा १.५ प्रतिशतदेखि ५ प्रतिशतसम्म प्रिमियम लिने गरेका छन् । तर नबिल बैंकले गाडी खरिदका लागि ४ प्रतिशतसम्म प्रिमियम लिने जनाएको छ । जबकि हाल बैंकको आधारदर ७.६३ प्रतिशत छ । बैंकबाट गाडी खरिदका लागि क्रण लिँदा प्राइभेटमा आधार दरमा २ देखि ४ प्रतिशत र कमर्सियलमा आधार दरमा ३ देखि ४ प्रतिशत प्रिमियम जोडिने जनाइएको छ । विद्युतीय गाडीमा प्राइभेटतर्फ १ देखि ३ प्रतिशत र कमर्सियलमा आधार दरमा ३ देखि ४ प्रतिशत प्रिमियम थपिने बैंकले जनाएको छ । बैंकको स्थिर ब्याजदर भने १०.४९ प्रतिशत रहेको छ ।

यस्तै, ग्लोबल आईएमई बैंकले आधार दरमा ३.५० प्रतिशत प्रिमियम थपिने जनाएको छ । हाल बैंकको आधार दर ८.९ प्रतिशत छ । त्यसैगरी एनआईसी एशिया बैंकको हाल ९.१९ प्रतिशत आधार दर रहेको छ । बैंकले ३ प्रतिशत प्रिमियम थपे गरेर सवारी कर्जा उपलब्ध गराउने जनाएको छ ।

हाल सानिमा बैंकको आधार दर ७.८३ प्रतिशत, प्राइमको ८.४९ प्रतिशत, नेपाल एसबीआईको ८.३, राष्ट्रिय वाणिज्य बैंकको ६.७१, कुमारीको ८.८९, नेपाल बैंकको ७.९७, एभरेष्टको ७.२९ र कृषि विकास बैंकको ८.०७ प्रतिशत छ । यी बैंकहरूले अटो बजार लक्षित गरी सवारी कर्जा दिँदा क्रमशः ५ प्रतिशत, ३ प्रतिशत, ३.२५ प्रतिशत, ३.५ प्रतिशत, ५,३ प्रतिशत, ५ प्रतिशत र २.५ प्रतिशत प्रिमियम थपिने जनाएका छन् ।

सिद्धार्थ बैंकको आधार दरमा ३.२५ प्रतिशत प्रिमिय जोडिने भएको छ भने नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ४.५० प्रतिशत, हिमालयनले ४ प्रतिशत, स्ट्याण्डर्ड चार्टर्डले ४, एनएमबीले ४.५, माछापुच्छ्रेले ४, प्रभुले ४.५, सिटिजन्सले ४, प्राइमले ५ र लक्ष्मी सनराइजले ३.५० प्रतिशत प्रिमियम जोड्ने भएका छन् ।

Logo