काठमाडौँ । पहाडी जिल्लामा उत्पादन हुने अर्थोडक्स चियाको बजारीकरण र प्रवर्द्धनमा सरोकारवालाहरूले साथ दिए स्वदेशमै आत्मनिर्भर हुन सकिने युवा चिया उद्यमीहरूले बताएका छन् । काठमाडौको ठमेलमा रहेको छायाँ सेन्टरमा हालै आयोजना गरिएको ‘चिया प्रतिस्पर्धा’मा सहभागी युवा उद्यमीहरूले चियाबाटै आत्मनिर्भर बन्न सकिने भएकाले विदेशिनु नपर्ने बताएका हुन् ।
टी स्टेसन इन्कका अध्यक्ष एवं चिया उद्यमी प्रज्वल प्रधानले नेपालको चियालाई नेपालकै बजारमा विस्तार गर्न र चियालाई संस्कृतिका रूपमा विकास गर्न आवश्यक रहेको औँल्याउँदै विश्व बजारमा नेपाली अर्थोडक्स चियालाई चिनाउन स्वदेशमै भब्य प्रदर्शनीहरू गर्नुपर्ने बताए ।
‘हाम्रो अर्थोडक्स चिया विदेशमा त निर्यात भइरहेको छ तर स्वदेशकै पारखीहरूलाई पनि स्वादमा अभ्यस्त गराउन जरुरी छ । वास्तवमा अर्थोडक्स चियालाई नेपालीहरूले बुझ्न नसकेको हो कि जस्तो लाग्छ । तर हामी युवाहरूको समूह चिया संस्कृतिको विकास एवं यसलाई व्यवसायका रूपमा अँगालेर स्वदेशमै केही गर्ने प्रयासमा छौँ,’ उनले भने ।
विश्व बजारमा नेपाली चियाको माग बढिरहेको भए पनि स्वदेशमा बजारीकरण नभएकाले समस्या भइरहेको टी स्टेसन इन्ककी कोषाध्यक्ष एवं उद्यमी उषा योल्मू सुब्बाको धारणा छ । ‘गुणस्तरीय उत्पादन गरेको खण्डमा विश्वले नेपाली अर्थोडक्स चियालाई एकदमै रुचाएको छ । जसका कारण हामीजस्ता सयौँ युवाहरूका लागि चिया उद्योग एक आत्मनिर्भर पेसाका रूपमा विकसित भइरहेको छ । तर सरकारले पर्याप्त ध्यान नदिँदा स्वदेशमै बिक्री गर्न समस्या भइरहेको छ,’उनले भनिन् ।
चिया विज्ञ एवं प्राविधिक सोनाम पाल्जोर लामाले अर्थोडक्स चिया पहाडी जिल्लाको गहना भएकाले यसको बजारीकरणमा ध्यान दिनुपर्ने बताए । चिया पेय पदार्थ मात्र नभई नेपाली समाजको संस्कार र संस्कृति पनि भएकाले स्वदेशमै यसको प्रवर्द्धन गर्नुपर्नेमा जोड दिए । पछिल्लो समय युवाहरूको आकर्षण चिया क्षेत्रमा देखिने गरेको उनले बताए ।
चिया विज्ञ एवं उद्यमी डा. नरेन्द्र गुरुङले नेपालमा उत्पादित चियाका लागि अक्सन सुरु भएकोमा खुशी व्यक्त गर्दै अक्सनका कारण नेपाल र अन्तरराष्ट्रिय बजारमा ठूलो फड्को मार्ने बताए । जसका कारण युवाहरूलाई स्वदेशमै बस्न र चियामै आत्मनिर्भर हुन प्रोत्साहन मिलेको उनको भनाइ छ ।
‘नेपालमा दुई करोड ६० लाख किलो वार्षिक चिया उत्पादन हुन्छ । जापानमा मुलाको अक्सन हुन्छ तर नेपालमा चिया रोपण भएको डेढसय वर्ष नाघिसक्यो । किसानस्तरमा गएको ४० वर्ष नाघिसक्यो । अर्थोडक्सकै कुरा गर्ने हो भने ५०–६० लाख किलो उत्पादन भइरहँदा पनि अक्सन नै छैन, मोनोपोली रूपमा व्यापार भइरहेको छ । यसमा राज्यले सोच्नुपर्छ र किसान एवम् उद्यमीलाई प्रोत्साहित गर्नसक्नुपर्छ,’ उनले भने ।
नेपालले वर्षमा करिब तीन करोड किलोग्राम चिया उत्पादन गर्ने गरेको छ । त्यसमध्ये दुई करोड किलोग्राम उत्पादन सीटीसी चियाको छ । भन्सार विभागको तथ्यांक अनुसार नेपालले गत आर्थिक वर्ष एक करोड ६५ लाख किलोग्राम चिया विदेश निर्यात गरेको थियो, जसबापत करिब चार अर्ब राजस्व आम्दानी गरेको थियो ।
नेपालमा उत्पादन हुने सीटीसी चियाको करिब ५० प्रतिशत हिस्सा निर्यात हुने गरेको छ भने अर्थोडक्स चियाको करिब ९० प्रतिशत हिस्सा निर्यात हुने गरेको छ । १५ हजारभन्दा धेरै कृषकले अर्थोडक्स चिया उत्पादन गर्ने गरेका छन् । तर अक्सन मार्फत चिया बिक्री गर्ने विधि, प्रक्रिया र केन्द्रको अभावमा नेपाली उत्पादन भारतमा निर्भर हुने गरेको छ । सरकारले ०७१।७२ मा अक्सन सेन्टर बनाउने भन्दै बजेट वक्तव्यमार्फत कार्यक्रम ल्याएको थियो । उक्त कार्यक्रमअन्तर्गत अक्सन कमिटी निर्माण तथा आवश्यक पूर्वाधारसमेत तयार भएका थिए । तर सरकारले अक्सन सेन्टर सञ्चालन गर्ने निर्णय नगरेपछि अहिलेसम्म चियाको अक्सन सेन्टर सञ्चालनमा आउन सकेको छैन । नेपालमा साना, ठूला र मझौला गरी करिब एकसय २० वटा कारखाना सञ्चालनमा छन् ।





























प्रतिक्रिया