काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघ र ट्रेड युनियनबीच श्रमसम्बन्धी समस्या समाधान गर्न फोरम स्थापना भएको छ । यस सम्बन्धमा गत साता महासंघ सचिवालय, टेकुमा भएको बैठकमा सहमति भएको हो ।
महासंघ सचिवालयमा भएको बैठकमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले पछिल्लो समय देशमा रोजगारदाता–श्रमिक सम्बन्ध सुधार हुँदै गएको बताए । ढकालले भविष्यमा आउनसक्ने कुनै पनि चुनौती समाधान गर्न रोजगारदाता र श्रमिकबीच सहकार्य र समन्वय हुनुपर्ने बताए ।
बैठकमा संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटीयूसीसी)का अध्यक्ष योगेन्द्र कुँवरले गत मंसिरमा भएको समझदारी पत्र समीक्षा गर्नुका साथै आगामी दिनहरूमा आउनसक्ने चुनौतीहरूको द्विपक्षीय रूपमा न्यूनीकरणका उपायहरू पहिचान गर्दै जाने, सामाजिक सुरक्षा कोषलाई अझ सक्रिय पर्दै जानुपर्ने र यसका लागि श्रमिक र रोजगारदाता दुवै पक्षको भूमिकालाई बढाउँदै जान पर्ने जरुरी रहेको बताए ।
यस्तै नेपाल ट्रेड युनियन महासंघ (जीफण्ट)का अध्यक्ष विनोद श्रेष्ठले उद्योग पनि बचाउने र श्रम बजारलाई पनि व्यवस्थित गर्दै अगाडि बढ्ने दृष्टिकोण स्थापित गर्न जरुरी रहेको बताए । ‘द्विपक्षीय समझदारी गरिएको विषयलाई सम्झना गर्दै त्यस समझदारीमा उल्लेख गरिएका कार्यक्रमहरूलाई द्विपक्षीय रूपमा कार्यसमिति निर्माण गरी अगाडि बढ्न जरुरी छ,’ उनले भने ।
महासंघका उपाध्यक्ष एवं रोजगारदाता परिषद्की सभापति ज्योत्सना श्रेष्ठले गत मंसिरमा भएको समझदारीलाई छिट्टै कार्यान्वयन गर्नुपर्ने र दुवै पक्षको सहमतिमा क्षेत्रगत, उत्पादकत्वलगायतका आधारमा न्यूनतम पारिश्रमिक निर्क्योल गरिनुपर्ने विषयमा छलफल बैठक आयोजना हुनुपर्ने कुरालाई जोड दिइन्
प्रतिक्रिया