चालू आर्थिकवर्षको ७ महीनामा व्यापारघाटा २७ प्रतिशतले वृद्धि

चालू आर्थिकवर्षको ७ महीनामा व्यापारघाटा २७ प्रतिशतले वृद्धि


काठमाडौँ

चालू आर्थिक वर्षको सात महीनामा कूल वस्तु व्यापार घाटा २७ दशमलव एक प्रतिशतले वृद्धि भएको छ । व्यापार घाटा बढेर सात खर्ब ८० अर्ब १७ करोड पुगेको छ ।

नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको चालू आर्थिक वर्षको सात महीनाको विवरणमा व्यापार घाटा बढेको उल्लेख गरेको छ । सो अवधिमा कूल वस्तु आयात २६ प्रतिशतले बढेर आठ खर्ब ३३ अर्ब २७ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १८ दशमलव नौ प्रतिशतले बढेको थियो ।

आधारमा भारतबाट भएको आयात २४ दशमलव आठ प्रतिशत, चीनबाट ३६ दशमलव छ प्रतिशत र अन्य मुलुकबाट भएको आयात २३ दशमलव दुई प्रतिशतले बढेको छ । पेट्रोलियम पदार्थ, एमएस बिलेट, हवाईजहाज तथा पार्टपुर्जा, तयारी पोशाक, अन्य मेशिनरी तथा पार्टपुर्जा लगायतका वस्तुको आयात बढेको छ भने दूरसञ्चारका उपकरण तथा पार्टपुर्जा, सिमेन्ट, कच्चा भटमासको तेल, स्वास्थ्य उपकरण तथा औजार, सुपारी लगायतका वस्तुको आयात घटेको छ ।

बैंकका अनुसार चालू आवको सात महीनामा कूल वस्तु निर्यात ११ दशमलव पाँच प्रतिशतले वृद्धि भई ५३ अर्ब आठ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात १२ दशमलव नौ प्रतिशतले वृद्धि भएको थियो ।

यस्तै भारततर्फ २१ दशमलव एक प्रतिशत र अन्य मुलुकतर्फ एक दशमलव चार प्रतिशतले निर्यात वृद्धि भएको छ भने चीनतर्फ ३१ दशमलव एक प्रतिशतले कमी आएको छ । वस्तुगत आधारमा पोलिष्टर यार्न, जस्तापाता, दलहन, जडीबुटी, ऊनी गलैँचा, जुटका सामान लगायतका वस्तुको निर्यात बढेको छ भने अलैँची, छाला, रोजिन, जुत्ता तथा चप्पल, आयुर्वेदिक औषधि लगायतका वस्तुको निर्यात घटेको छ ।

निर्याततर्फ रसुवा भन्सार कार्यालय, कृष्णनगर भन्सार कार्यालय र सुक्खा बन्दरगाह भन्सार कार्यालयबाहेकका भन्सार नाकाबाट भएको निर्यातमा वृद्धि भएको छ । त्यसैगरी, कञ्चनपुर भन्सार कार्यालयबाट भएको आयात घटेको छ भने अन्य सबै नाकाबाट भएको आयातमा वृद्धि भएको छ ।

शोधान्तर स्थिति ४९ अर्ब घाटामा

बैंकको विवरण अनुसार चालू आवको सात महीनामा शोधान्तर स्थिति ४९ अर्ब ३२ करोडले घाटामा रहेको छ । चालू खाता घाटा विस्तार भई एक खर्ब ६६ अर्ब २४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा एक खर्ब ४२ अर्ब नौ करोड रहेको थियो ।

अमेरिकी डलरमा अघिल्लो वर्षको सात महीनामा एक अर्ब ३८ करोड रहेको चालू खाता घाटा समीक्षा अवधिमा एक अर्ब ४६ करोड पुगेको छ । समीक्षा अवधिमा शोधनान्तर स्थिति ४९ अर्ब ३२ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति १८ अर्ब २८ करोडले घाटामा थियो । अमेरिकी डलरमा शोधनान्तर स्थिति अघिल्लो वर्षको सात महीनासम्ममा १७ करोड ९१ लाखले घाटामा रहेकोमा समीक्षा अवधिमा ४३ करोड ३० लाखले घाटामा रहेको छ ।
रासस

Logo