दशैंमा दुई पाङ्ग्रे सवारी किन्दा छुटैछुट, कुन कम्पनीले ल्याए कस्ता अफर ?

दशैंमा दुई पाङ्ग्रे सवारी किन्दा छुटैछुट, कुन कम्पनीले ल्याए कस्ता अफर ?

केन्द्रबिन्दु
180
Shares

काठमाडौं । नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गर्दै दुई पाङ्ग्रे सवारीका बिक्रेता कम्पनीहरूले धमाधम अफर सार्वजनिक गरिरहेका छन् । उक्त कम्पनीहरूले यो चाडपर्वमा आफ्नो ब्रान्डका सवारीको खरिदमा छुटसहितका अफरको व्यवस्था गरेका हुन् ।

दशैं, तिहार, छठमा नयाँ मोटरसाइकल तथा स्कुटर किन्ने योजना बनाएकाहरूलाई लक्षित गर्दै कम्पनीहरूले ग्राहकको सहुलियतको लागि यस्तो व्यवस्था गरेको बताइन्छ । युवापुस्तामाझ लोकप्रिय दुई पाङ्ग्रे सवारी अन्य बेलामा भन्दा चाडपर्वमा धेरै खरिद हुन्छन् । यसपटक (२०८१) को चाडपर्वलाई लक्षित गर्दै कम्पनीहरूले मोटरसाइकल तथा स्कुटर खरिदमा नगद छुटदेखि एक्सचेन्जसम्मका अफर ल्याएका छन् ।

कम्पनीहरूले ग्राहकहरूलाई आकर्षित गर्नका लागि यस्ता किसिमका स्कीमहरू चाडपर्व विशेष गर्दै प्रत्येक वर्ष ल्याएकाे पाइन्छ । युवामा दुई पाङ्ग्रेको क्रेजको मध्यनजर गर्दै ल्याइएका आकर्षक अफरले नयाँ बाइक किन्नेहरूलाई आकर्षण गरिरहेको हुन्छ । दशैं तिहारमा नयाँ बाइक चढ्न चाहनेहरु विभिन्न शोरुममा पुगेर बाइक छानिरहेका छन् । नयाँ सवारी किन्नेहरूको लागि अवसरको रूपमा हेरिने अफर कुन कम्पनीले के ल्याएका छन्, त्यो हेरौं-

‘एक्कासी मालामाल’

यो चाडपर्वमा मालामाल हुन केही गर्ने नपर्ने हिरोका बाइक खरिद गर्दा पुग्ने स्कीम ‘एक्कासी मालामाल’ ल्याउने कम्पनी हो सीजी मोटर्स । कम्पनीले ‘दशैं, तिहार–२०८१ को बहार दुई चक्के किन्दा चार चक्के उपहार’ नारासहित उक्त अफर ल्याएको हो ।

सीजी मोटर्सका अनुसार एक्कासी मालामाल अफर अन्तर्गत हिरोका मोटरसाइकल तथा स्कुटर किन्दा बम्परमा कार जित्न सकिने छ । हिरोका बाइक तथा स्कुटर किन्दा यसपटको पर्वमा नेटा भी कार जित्न सकिने कम्पनीले बताएको छ ।

यसैगरी एक्साइटमेन्ट, एड्भेन्चर र अपार पुरस्कारमा ग्राहकले ८ हजारदेखि ५ लाख रुपैयाँसम्म नगद जित्न सक्नेछन् । ग्राहकले आफूसँग भएको जुनसुकै ब्रान्डको पुरानो दुई पाङ्ग्रे साधनसँग हिरोको मोटरसाइकल तथा स्कुटर एक्सचेन्ज गर्न सक्ने कम्पनीले जानकारी दिएको छ ।

‘दशैँ आयो क्यास पायो’

हेर्दै आकर्षक देखिने यो स्कीम सुजुकीको हो । नेपालका लागि सुजुकी मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता भीजी अटोमोबाइल्सले ल्याएको ‘दशैँ आयो क्यास पायो’ स्कीममा आकर्षक छुटको व्यवस्था गरिएको छ । एक्सचेन्ज र फाइनान्सको सुविधा पनि रहेको यो स्कीम छठ पर्वसम्म चल्ने कम्पनीले जानकारी दिएको छ ।

कम्पनीका अनुसार यी सवारीको खरिदमा ग्राहकले उक्त स्कीम अन्तर्गत न्यूनतम ७ हजारदेखि ५ लाख रुपैयाँसम्म नगद पाउने छन् । यस्तै, कम्पनीले सुजुकीका बाइक तथा स्कुटर यो चाडपर्वमा लिँदा ५ वर्षको वारेन्टीका साथै निःशुल्क ५ वर्षसम्मको सर्भिसिङ सुविधा पनि दिनेछ ।

‘बिगेस्ट १०शैं’

नेपालमा लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता एमएडब्लू राइडले चाडपर्वलक्षित गर्दै स्पेशल अफर सार्वजनिक गरेको छ । कम्पनीले यसपटकको पर्वमा यामाहाका सवारी खरिद गर्ने ग्राहकलाई मध्यनजर गर्दै ‘बिगेस्ट १०शैं’ योजना ल्याएको हो ।

उक्त अफर अन्तर्गत रहेर यामाहाका दुई पाङ्ग्रे सवारी खरिद गर्दा दश लाख रुपैयाँसम्म हात पर्ने साथै क्यासब्याक पाउने छन् । नयाँ सवारीको खरिदमा कम्पनीले एक्सचेन्जको सुविधा दिएको छ । यसका साथै कम्पनीले बाइकको खरिदमा सहज फाइनान्सको व्यवस्था पनि मिलाएको छ ।

‘खुशी तीन गुणा’

चाडपर्वलाई लक्षित गर्दै सार्वजनिक गरेको यो स्कीम हो, भेस्पा र अप्रिलियाको । उक्त ब्रान्डका स्कुटरको बिक्रेता डेल्टा अटोकर्पले ल्याएको यस स्कीमा आकर्षक योजना समावेश गरिएको छ । ‘खुशी तीन गुणा’ नामक यो अफरअन्तर्गत भेस्पा र अप्रिलिया स्कुटरको हरेक खरिदमा १० हजार देखि ७५ हजार रुपैयाँसम्म नगद छुट साथै ६ हजार रुपैयाँ बराबरको स्मार्ट वाच उपहारमा पाउने छन् ।

डेल्टा अटोकर्प अनुसार यो चाडपर्वमा भेस्पा र अप्रिलिया स्कुटर खरिद गर्दा हरेक हप्ता होनर २०० फाइभ जी मोडलको स्मार्ट फोनसमेत जित्ने अवसर सकिने छ । ‘खुशी तीन गुणा’ स्कीममा कम्पनीले ईजी फाइनान्सको सुविधा पनि व्यवस्था गरेको छ ।कम्पनीले बम्पर उपहारको रूपमा कप्पलका लागि ५ दिनको वाली टुर जित्न सक्ने अवसर ल्याएको छ । यसैगरी ग्राहकले आफूसँग भएको पुरानो मोटरसाइकल वा स्कुटर ल्याएर नयाँ स्कुटरसँग एक्सचेन्ज गर्न सक्ने कम्पनीले बताएको छ ।

नयाँ युगको आरम्भ

टिभिएसको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गर्दै विशेष योजना ल्याएको छ । यसपटकको पर्वमा कम्पनीले टिभिएसका दुई पाङ्ग्रे सवारी खरिद गर्ने ग्राहकलाई मध्यनजर गर्दै ‘नयाँ युगको आरम्भ’ स्कीम ल्याएको हो ।

जगदम्बा मोटर्सका अनुसार टिभिएसको मोटरसाइकल र स्कुटर खरिद गर्दा ग्राहकले १० लाख रुपैयाँसम्म जित्न सक्ने छन् । यस स्कीममा हरेक सप्ताह १०० प्रतिशत क्यास ब्याक जित्ने अवसर रहेको कम्पनीले जानकारी दिएको छ । कम्पनीले वारेन्टीका साथ पुरानो बाइक वा स्कुटरको सट्टामा एक्सचेन्ज सुविधा, ग्यारेन्टी बिनाको ईजी फाइनान्स उपलब्ध गराउने बताएको छ ।

‘क्यास सफारी’

बजाजका बाइकको नेपालका लागि आधिकारिक बिक्रेता हंशराज हुलास चन्द एण्ड कम्पनी प्रालिले चाडपर्वलाई मध्यनजर गर्दै ल्याएको अफर हो ‘क्यास सफारी’ । कम्पनीले ल्याएको ‘हात हातमा हात्ती, लकमा लखपति’ योजनामा अन्तर्गत बजाजका मोटरसाइकल किन्ने ग्राहकले स्योरसर्ट १०० वटासम्म हात्ती जित्न सक्ने छन् ।

कम्पनीका अनुसार एक हात्ती बराबर एक हजार रुपैयाँ हुनेछ । कम्पनीले सार्वजनिक गरेको यस स्कीममा बाइक खरिद गर्ने ग्राहकले सहज फाइनान्स सुविधा साथै पाँच वर्षसम्मको वारेन्टी पाउने बताएको छ । त्यसैगरी हरेक साता एक जोडीलाई चितवनमा जङ्गल सफारी उपलब्ध गराउने कम्पनीले बम्पर उपहारमा १ जोडीलाई केन्यामा जङ्गल सफारी गराउने भएको छ ।

‘हाम्रो चाडबाड, होन्डाको खुसियाली बारबार’

होन्डाको नेपालका लागि आधिकारिक बिक्रेता स्याकार ट्रेडिङले ‘हाम्रो चाडबाड, होन्डाको खुसियाली बारबार’ योजना सार्वजनिक गरेको छ । यो अफर कम्पनीले चाडपर्वमा दुई पाङ्ग्रे सवारी किन्ने ग्राहकहरूलाई लक्षित गर्दै ल्याएको हो ।

कम्पनीका अनुसार होन्डाको कुनै पनि मोटरसाइकल तथा स्कुटर खरिदमा स्क्र्याच कुपनमार्फत १० लाख रुपैयाँसम्म जित्न सकिने कम्पनीले बताएको छ । ग्राहकले ‘चुज योर स्किम’ अन्तर्गत थप १० हजार वा १२ हजार ५ सय रुपैयाँ बराबरको पाँच वर्षे एएमसी प्याकेज पाउन सकिनेछ । ग्राहकले होन्डाको बिग बाइक खरिदमा एक लाख रुपैयाँसम्मको नगद छुट पाउन सक्नेछन् ।

Logo