काठमाडौं । निरन्तर अर्थात् (शुक्रबार र शनिबार) परेको भारी वर्षाले देशभरका जलविद्युत् आयोजनामा ठूलो क्षति पुर्याएको छ । बाढीका कारण १६ वटा जलविद्युत् आयोजनामा क्षति पुगेको हो ।
खोलामा आएको बाढीका कारण निर्माणाधीन र विद्युत् उत्पन्न हुन सुरु गरेका आयोजनामा क्षति पुगेको स्वतन्त्र ऊर्जा उत्पादकको संस्था, नेपाल (इप्पान)ले जानकारी दिएको छ । इप्पानका अनुसार मान्डू हाइड्रोपावरद्वारा मकवानपुर प्रवद्र्धित २२ मेगावाट क्षमताको बागमती साना जलविद्युत् आयोजना पनि क्षतिग्रस्त बनेको छ । उक्त आयोजनाको पावर हाउस पूर्वरूपमा डुबेको कम्पनीले जानकारी दिएको हो । यस्तै, माउन्टेन हाइड्रो नेपालद्वारा प्रवद्र्धित २२.१ मेगावाट क्षमताको तल्लो हेवाखोला जलविद्युत् आयोजनालाई पनि बाढीले क्षति पुर्याएको छ ।
पाँचथर जिल्लामा निर्माणाधीन यो आयोजनालाई गत वर्षको बाढीबाट पनि प्रभावित बनाएको थियो । यसपटक पनि खोलामा आएको बाढीले पावर हाउस डुबानमा परेको कम्पनीले जानकारी दिएको छ ।
यसैगरी पाँचथर पावरद्वारा प्रवद्र्धित १४.९ मेगावाटको हेवाखोला जलविद्युत् आयोजना क्षति पुगेको छ । गत वर्षको बाढीले क्षतिग्रस्त आयोजना पुनर्निर्माण सकेर सञ्चालनमा आउनै लाग्दा यो आयोजना पनि अहिले पुनः क्षतिग्रस्त भएको हो ।
साहस ऊर्जाद्वारा प्रवद्र्धित ८६ मेगावाटको सोलु दुधकोशी जलविद्युत् आयोजनाको पनि बाढीले हेडवक्र्समा क्षति पुर्याइ अहिले उत्पादन बन्द गरिएको कम्पनीले बताएको छ । सोलुखुम्बु रहेको यो आयोजनामा पनि ठूलो रकम बराबरको क्षति पुगेको बताइएको छ ।
यसका साथै सगरमाथा जलविद्युत् कम्पनीद्वारा प्रवद्र्धित ३ मेगावाटको माइखोला क्यासकेड जलविद्युत् आयोजनाको बाँध र टेलरेसमा क्षति पुगेको छ । इलाममा रहेको यो हाइड्रोपावरमा क्षति पुगेपछि उत्पादन बन्द गरिएको बताइएको छ ।
सगरमाथा जलविद्युत् कम्पनीद्वारा प्रवद्र्धित ९.६ मेगावाटको माइखोला जलविद्युत आयोजनाको बाँध र प्रसारण लाइनमा क्षति पुगेको छ । यसैगरी १ मेगावाटको फेमे खोला जलविद्युत आयोजनाको बाँध र विद्युतगृह पूर्णरूपमा क्षति पुगेको छ ।
यस्तै, लमजुङ जिलामा रहेको ५ मेगावाटको सिउरीखोला जलविद्युत् आयोजनाको टेलरेस, इन्टेक र टनेलमा क्षति पुगेको छ । ४० मेगावाटको सुपरन्यादी जलविद्युत् आयोजनाको पहुँचमार्गमा पनि क्षति पुगेको छ । यो आयोजनाको प्रोटेक्सन वालमासमेत क्षति पुगेको बताइएको छ ।
२५ मेगावाटको इलेप खोला तातोपानी जलविद्युत् आयोजनाको पनि पहुँचमार्गमा ठूलो क्षति पुर्याएको बताइएको छ । यसैगरी नुवाकोटमा रहेको २१६ मेगावाटको माथिल्लो त्रिशूली १ जलविद्युत् आयोजनाको क्याम्प हाउस र पहुँचमार्गमा क्षति पुर्याएको छ । र, सो आयोजनाको ३ वटा कन्टेनर बगाएको पनि बताइएको छ । यसका साथै पाँचथर जिल्लामा रहेको १० मेगावाटको हेवाखोला जलविद्युत आयोजनाको क्रसर पुरिएको छ भने पहुँचमार्गमा क्षति पुगेको छ । उक्त आयोजनाको प्रसारण लाइनको टावर ढलेको भने पावर हाउसमा जडान गर्न ल्याइएकाे सामग्री बगाएको पनि कम्पनीले बताएको छ ।
सभाखोला बी जलविद्युत आयोजनाको पहुँचमार्ग, पावरहाउस पुरिएकाे छ भने बाँधमा क्षति र अस्थायी पुल बगाएकाे छ । पाँचथरमा रहेको १५.१ मेगावाटको सो आयोजनामा ठूला रकम बराबरको क्षति पुगेको हो ।
यसैगरी ६.३ मेगावाटको सभाखोला सी जलविद्युत् आयोजनाको पहुँचमार्गमा क्षति पुगेको छ भने ८६.५९ मेगावाट लान्द्रुक मोदी जलविद्युत् आयोजनाको पहुँचमार्गमा क्षति बढीले पुर्याएको छ । यो आयोजना कास्कीजिल्लामा पर्छ । यस्तै, १०० मेगावाटको सुपर त्रिशूली जलविद्युत आयोजनाको २ वटा स्काभेटर, २ वटा लोडर र ३ वटा ट्रिपर बगाएको छ । सो आयोजनाको बेलीब्रिज बगाएको छ भने पावर हाउस स्काभेसन पुरिएको कम्पनीले जानकारी दिएको छ । यी आयोजना मात्र नभई अन्य आयोजनामा पनि क्षति पुगेको हुन सक्ने इप्पानले जानकारी दिएको छ । इप्पानका अनुसार बाढीले क्षति पुर्याएका आयोजनाको थप विवरण आउँन बाँकी रहेको छ ।





























प्रतिक्रिया