काठमाडौँ । अब विदेशबाट भिसा तथा मास्टर मार्फत रकम सोझै नेपालका कुनै पनि बैंक खातामा जम्मा गर्न सकिने भएको छ ।
नबिल बैंकसँगको सहकार्यमा हाम्रो पात्रोले सोमबारदेखि यो सेवा सञ्चालनमा ल्याएको हो । कम्पनीका अनुसार कुनै पनि अन्तरराष्ट्रिय कार्ड (भिसा तथा मास्टरकार्ड) बाट रकम ट्रान्सफर गर्न सकिनेछ । जसमा कुनै पनि शुल्क नलाग्ने बताइएको छ ।
इजी सेन्ड नाम दिइएको यो फिचर हाम्रो पात्रोको एपमै उपलब्ध गराइएको छ । जसमा गएर कार्ड डिटेल उल्लेख गरी नेपालका कुनै पनि बैंक खातामा तत्कालै जम्मा गर्न सकिने हाम्रो पात्रोले जनाएको छ ।
‘नेपालमा सुरक्षित रूपमा तत्कालै रकम पठाउन चाहने विदेशमा रहेका मानिसहरूलाई सहज र विश्वसनीय विकल्पका रूपमा इजीसेन्ड डिजाइन गरिएको छ ।’ हाम्रो पात्रोले भनेको छ, ‘चाहे तपाईं आफ्ना साथीभाइ वा घरपरिवारका लागि पठाउनुहोस् अथवा कुनै व्यक्तिगत भुक्तानी नै किन नगर्नुहोस्, इजिसेन्डले तपाईंलाई भिसा तथा मास्टर कार्ड प्रयोग गरी नेपालका कुनै पनि बैंक खातामा रकम पठाउने सुविधा दिन्छ ।’
यसरी पठाइएको रकम तुरुन्तै नेपाली बैंक खातामा जम्मा गरिने र रकम पठाउने कार्य सम्पन्न हुने बित्तिकै प्राप्त रकम प्रयोग गर्न सकिनेछ । भिसा तथा मास्टर कार्डको रकम पठाउने कार्य निकै सहज र थोरै चरणमा सम्पन्न गर्न सकिन्छ ।
कसरी गर्छ काम ?
यसका लागि सबैभन्दा पहिला तपाईंले इजीसेन्ड अकाउन्ट खोल्नुपर्ने हुन्छ । जसका लागि सुरक्षित प्रोफाइल बनाउन केही आधारभूत व्यक्तिगत विवरण उपलब्ध गराउनुपर्छ ।
यति गरिसकेपछि रकम प्राप्त गर्ने व्यक्तिको बैंक खाता लगायतका विवरण उल्लेख गर्नुपर्ने हुन्छ । त्यसपछि आफ्नो भिसा तथा मास्टर कार्डको विवरण राखेर रकम पठाउन सकिन्छ । यसरी गरिने सम्पूर्ण भुक्तानी सुरक्षित रूपमा सम्पन्न हुने हाम्रो पात्रोले जनाएको छ ।
उल्लिखित चरण पूरा गर्ने बित्तिकै रकम प्राप्त गर्ने व्यक्तिको खातामा जम्मा हुन्छ । घर बसेर विना शुल्क सहजै रकम पठाउन र प्राप्त गर्न सकिने हाम्रो पात्रोको यो सुविधा खासगरी विदेशमा बस्ने नेपालीहरूका लागि निकै उपयोगी हुने विश्वास हाम्रो पात्रोले व्यक्त गरेको छ ।





























प्रतिक्रिया