काठमाडौं । नेपाल विद्युतीय व्यवसायी महासंघले ‘फिन इलेक्ट्रो टेक–२०२४’ को आयोजना गर्ने भएको छ । ११औं संस्करणको ट्रान्सवेल्ड ट्रान्सफर्मरद्वारा प्रायोजित उक्त मेला सोमबार आयोजक टिमले पत्रकार सम्मेलन गर्दै कात्तिक २९ गतेबाट भृकुटीमण्डपमा सञ्चालन हुने जानकारी दिएको हो ।
इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स सामग्रीहरूको अन्तर्राष्ट्रियस्तरको बृहत् यो मेलामा सम्पूर्ण विद्युतका सामग्रीहरू उपलब्ध हुने महासंघका अध्यक्ष रेशम प्रसाद देवकोटाले जानकारी दिए । विद्युतीय सामग्रीको कुम्भ मेलाका रूपमा हेरिएको फिन इलेक्ट्रो टेकमा गुणस्तरीय सामग्री प्रयोगलाई प्राथमिकता दिइने बताइएको छ ।
उक्त मेला कात्तिक २९ गतेदेखि सुरु भइ मंसिर २ गतेसम्म सञ्चालन हुने महासंघले जानकारी दिएको छ । आम उपभोक्तालाई नवीनतम र गुणस्तरीय सामग्री प्रयोगमा जनचेतना जगाउने उद्देश्यका साथ फिन इलेक्ट्रो टेक आयोजना गर्ने भएको देवकोटाको भनाइ छ ।
‘प्रविधिको नयाँ आयाम, विद्युतीय सामग्रीमा सुरक्षा र गुणस्तर कायम’ भन्ने नाराका साथ मेला आयोजना गर्न लागेको महासंघले मेला अवधिभर उपभोक्ता हकहित सम्बन्धी जन चेतनामूलक कार्यक्रम पनि सञ्चालन गरिने बताएको छ ।
‘सञ्चार एवं सूचना प्रविधि तथा विद्युतीय एवं वैकल्पिक ऊर्जा उद्यमीहरूलाई एकै स्थानमा जमघट गराई व्यवसायिक प्रवर्धन गर्नु पनि हाम्रो उद्देश्य हो, उद्योगमा भएका नवीनतम उपलब्धि र उपकरणहरूको बारेमा बुझ्नको लागि मेलाले मद्दत गर्नेछ,’ उनले भने ।
महासंघका अनुसार फिन इलेक्ट्रो टेकमा हल भित्र र बाहिर गरी ९८ वटा प्याभिलियन तथा स्टलहरू रहने छन् । जसमा नेपाली उत्पादन लगायत बहुराष्ट्रिय कम्पनीहरूको उत्पादनहरु, ट्रान्समिसन तथा डिष्ट्रिव्यूसन सामाग्री, ऊर्जा आपूर्ति तथा नियन्त्रण यन्त्र, हाउस वायरिङ्ग सामाग्री, वायर, केबुल एवं कण्डक्टर, अत्याधुनिक प्रकारका स्विचहरू, एलिडी लाइटिङ्ग, इलेक्ट्रोनिक्स उपकरण, घरेलु विद्युतीय उपकरणहरू, कार्यालय प्रविधि, बहुसञ्चार उपकरण, सूचना प्रविधि, वैकल्पिक ऊर्जा तथा अन्य विद्युतीय सामग्रीको प्रदर्शन गरिनेछ ।
प्रत्येक दुई वर्षमा आयोजना हुने इलेक्ट्रो टेकमा यसपटकको टाइटल स्पोन्सरमा ट्रान्सवेल्ड ट्रान्सफर्मर (ट्रान्सवेल्ड नेपाल प्रा.लि.) र प्लेटिनम स्पोन्सरमा प्रिमियर वायर्स (प्रिमियर वायर्स प्रा.लि.) रहेको छ ।
प्रदर्शनीमा भारत, चीन, जापान, ताइवान, फ्रान्स, स्पेन, मलेसिया, जर्मनी, इटाली, अष्ट्रेलिया आदिका विभिन्न इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स सम्बन्धी उत्पादनहरु रहने छन् । यस्तै, मेलामा ट्रान्सवेल्ड, प्रिमियर, अर्किड, जानकी, सि एण्ड एस, लिशा, दिन्ज, स्विफट गोल्ड, केइआई, जनता, एच।पि।एल।, फिलिप्स, हेभल्स, सिमेन्स, उषा, एंकर, ओरियन्ट, चिन्ट, हिमस्टार, अल्मीक, लिब्राईट, एरिगोल्ड, इण्डोटेक, गोल्डम्यान लगायतका स्वदेशी तथा विदेशी ब्रान्डहरूको सहभागिता रहने महासंघले बताएको छ ।
चार दिनसम्म चल्ने प्रदर्शनीमा करिव ५० हजार बढीले अवलोकन गर्ने अपेक्षा महासंघले लिएको छ । महासंघका अनुसार प्रदर्शनीमा प्रवेशको लागि खल्तीबाट अग्रिम बुकिङ पनि खुल्ला गरिसकिएको छ ।































प्रतिक्रिया