धादिङ । धार्केको धर्मकाटाको डिजिटलाइजेशनको औपचारिक शुभारम्भ गरिएकाे छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल, धुनिबेशी नगरपालिकाका मेयर बाल कृष्ण आचार्य र नेपाल ट्रक यातायात व्यवसायी महासघका अध्यक्ष हिरालाल श्रेष्ठले मंगलबार संयुक्त रुपमा एक कार्यक्रमका बीच धर्मकाटाको डिजिटलाइजेशनको औपचारिक शुभारम्भ गरेका हुन् ।
नेपाल ट्रक यातायात व्यवसायी महासंघको व्यवस्थापनमा रहेको यो धर्मकाटाको डिजिटल रूपान्तरणले ओभरलोड नियन्त्रणमा मद्दत पुग्ने विश्वास महासंघले व्यक्त गरेको छ।
धर्मकाटालाई डिजिटल बनाउने उद्देश्यसँगै ओभरलोडका कारण सडकमा हुने क्षति रोक्न र ट्रक व्यवसायलाई थप व्यवस्थित बनाउन यो कदम चालिएको महासंघका महासचिव राजेन्द्र बिक्रम बानियाँले बताए । उनले डिजिटलाइजेशनले धर्मकाटाको सञ्चालनलाई पारदर्शी बनाउने र ओभरलोड नियमन प्रभावकारी हुने बताए।
देशभरका धर्मकाटालाई डिजिटल बनाउने तयारी रहेको महासंघले जनाएको छ । हाल देशभर २१ वटा तौल पुल (धर्मकाटा)संचालनमा छन्। महासंघका अनुसार ती सबै धर्मकाटालाई क्रमशः डिजिटल बनाउने प्रक्रिया अघि बढाइने छ। डिजिटलाइजेशनपछि ओभरलोडको डेटा र ट्रकहरूको जानकारी सुरक्षित रूपमा व्यवस्थापन गर्न सकिनेछ।
मन्त्री दाहालले शुभारम्भ कार्यक्रममा डिजिटल धर्मकाटाले सरकारको यातायात नीति कार्यान्वयनमा सहयोग पुर्याउने विश्वास व्यक्त गरे। साथै, यस कदमले व्यवसायीलाई समेत जिम्मेवार बनाउने र यात्रु तथा मालसामानको सुरक्षित ढुवानी सुनिश्चित गर्ने बताए।
धर्मकाटाको डिजिटलाइजेशनले सडक संरचनाको दीर्घकालीन संरक्षणमा मद्दत पुर्याउने र ओभरलोडका कारण हुने दुर्घटना तथा सडक बिग्रिने समस्या कम गर्ने अपेक्षा महासंघको छ । महासंघले डिजिटल धर्मकाटाबाट तत्कालै लाभ प्राप्त हुने र अन्य क्षेत्रमा पनि डिजिटल रूपान्तरणलाई प्राथमिकता दिने योजना बनाएको छ।
दुर्घटना न्युनिकरणदेखि नियमनकारी निकायहरू ट्राफिक प्रहरी, यातायात व्यवस्था विभाग र व्यवसायीहरूलाई आफ्नो सवारी साधनले के कति भार वहन गरेको छ भन्ने विषयमा समेत जानकारी दिने महासचिव बानियाँले जानकारी दिए ।





























प्रतिक्रिया