आन्तरिक स्रोतको प्रभावकारी परिचालन अपरिहार्य छः अध्यक्ष ढकाल

आन्तरिक स्रोतको प्रभावकारी परिचालन अपरिहार्य छः अध्यक्ष ढकाल

केन्द्रबिन्दु
9
Shares

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले कुनै पनि मुलुकको दिगो विकासको लागि आन्तरिक श्रोतको प्रभावकारी परिचालन अपरिहार्य रहेको बताएका छन् ।

राष्ट्रिय कर दिवस २०८१ को अवसरमा बुधबार महांसघको सचिवालयमा आयोजित “लगानीमैत्री वातावरण प्रवर्द्धनका लागि अन्तरनिकाय समन्वय” विषयको अन्तरक्रिया कार्यक्रममा अध्यक्ष ढकालले सो कुरा बताएका हुन् ।

सो अवसरमा बोल्दै अध्यक्ष ढकालले मुलुक सञ्चालन र विकासको मेरुदण्ड नै त्यो देशले परिचालन गर्ने राजस्वको आयतनमा निर्भर हुने भएकोले कुनै पनि मुलुकको सबल अर्थव्यवस्था र उन्नत समाज निर्माणको लागि आन्तरिक श्रोतको प्रभावकारी परिचालन अपरिहार्य रहेको बताए ।

ढकालले विगत केही बर्षदेखि निजी क्षेत्र र सरकारको समेत अत्यन्त चासोको रुपमा रहेको लगानी प्रवर्द्धन सम्बन्धी विषयले समग्र कर प्रशासनलाई झकझकाइ यस पटकको कर दिवसमा दिशानिर्देश गरेको हुँदा यो मुद्दाले गति लिन थालेको आभास निजी क्षेत्रलाई भएको जानकारी दिए ।

उनले कर प्रशासनले राजस्व लक्ष्य निर्धारण र संकलन मात्र हैन करदाताको मनोबल बढाइ व्यावसायिक गतिविधि बढाउने क्रियाकलाप र वातावरण सिर्जना गर्नेतर्फ ध्यान दिइएमा राजस्व संकलन स्वाभाविक रुपमा वृद्धि भई आर्थिक गतिविधि बढ्ने बताए ।

अध्यक्ष ढकालले आन्तरिक श्रोतको परिचालन भन्ने बित्तिकै त्यसको प्रत्यक्ष सम्बन्ध त्यो मुलुकको कर प्रणाली र राजस्व प्रशासनसँग जोडिएको हुनाले लक्षित राजस्व संकलनको लागि उद्योगधन्दा, व्यवसायजन्य क्रियाकलापहरू सुव्यवस्थित ढंगले सञ्चालन भएको हुनुपर्नेमा जोड दिए । यसको लागि व्यवसायमैत्री वातावरण निर्माणको साथै विदेशी लगानीको हकमा लगानी र प्रतिफलको फिर्ताको सुनिश्चिततासहित सम्बद्ध सबै सरकारी निकायहरुको एकीकृत र समन्वयकारी प्रयासको आवश्यकता रहेको जानकारी दिए ।

आन्तरिक राजस्व विभाग, राजस्व अनुसन्धान विभाग, उद्योग विभाग, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशकहरु उपस्थित भएको उक्त कार्यक्रममा कार्य समितिका पदाधिकारी र विभिन्न वस्तुगत संघ र उद्योगी व्यवसायीहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा विभिन्न व्यक्तिहरुको जिज्ञासालाई सम्बोधन गर्दै आन्तरिक राजस्व विभागका महानिर्देशक रामप्रसाद आचार्यले औद्योगिक र लगानीमैत्री वातावरण तयार गर्न सामुहिक प्रयासको आवश्यकता रहेको बताए । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक सुमन दाहालले अपेक्षित लगानीको वातावरण बन्न नसकेको अवस्थाको विश्लेषण गर्दै आफ्ना काम कारर्बाहीहरुलाई पारदर्शी बनाइ समीक्षा हुनुपर्नेमा जोड दिए ।

उद्योग विभागका महानिर्देशक राजेश्वर ज्ञवालीले अन्तरनिकाय समन्वयको सार नै औद्योगिक वातावरण प्रवर्द्धनको लागि भएको भन्दै विभागबाट प्रदान गरिने सेवा प्रवाहलाई अझ उन्नत र परिष्कृत बनाउने प्रतिबद्धता व्यक्त गरे ।

यसै गरी राजस्व अनुसन्धान विभागका महानिर्देशक चण्डीप्रसाद घिमिरेले पछिल्लो समय कर प्रणाली सम्बन्धी नीतिहरु लगानीमैत्री बन्दै आएको बताए । कार्यक्रमको समापन महासंघका उपाध्यक्ष सुरकृष्ण वैद्यले गरेका थिए ।

Skip This
Skip This
Logo