काठमाडौं । नेपाल निप्पोन चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीज (एनएनसीसीआइ) आजबाट बाट सञ्चालनमा आएको छ । आइतबार एक कार्यक्रमकाे आयोजना गर्दै एनएनसीसीआइ औपचारिक रूपमा स्थापना भइ सञ्चालनमा आएको घाेषणा गरिएकाे हो ।
नेपाल र जापानबीचको व्यापार, उद्योग, पर्यटन र आर्थिक सम्बन्धलाई सुदृढ गर्नका लागि यस संस्थाको स्थापना गरिएका जानकारी दिइएको छ । उक्त संस्थाको प्रथम वार्षिक साधारण सभाबाट अध्यक्ष पदमा सौरभ ज्योति निर्वाचित भएका छन् ।
उनी ज्योति ग्रुपका अध्यक्ष पनि हुन् ।

सामाजिक सेवा मूलक संस्थाका रूपमा दर्ता गरिएको यस एनएनसीसीआइले नेपाल र जापानका उद्योगपति, व्यापारी, तथा व्यवसायीक समुदायबीच सहकार्य र समझदारीलाई प्रवर्द्धन गर्ने उद्देश्य राखेको अध्यक्ष ज्योतिले जानकारी दिए ।
‘यस संस्थाले नेपाल र जापानबीचका सम्बन्धलाई थप मजबुद बनाउनेछ, दुई देशबीचको व्यापार, कृषि, उद्योग, र पर्यटनको विकासमा टेवा पुर्याउनेछ,’ उनले भने ।
यस्तै, एनएनसीसीआइको उपाध्यक्षमा ऋतुसिंह बैद्य र कोषाध्यक्ष तुषार धर तुलाधर बनेका छन् । सचिवमा विजय सिंह वैद्य, सुहिद राज घिमिरे, दिनेश तुलाधर र अंकुर झुनझुनवाला निर्वाचित भएका छन् ।
यसैगरी संस्थाको सदस्यमा पद्ममा ज्योति, सुरज वैद्य र त्रिभुवन धर तुलाधर बनेका छन् ।

नेपाल निप्पोन चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीजको कार्यालयको उद्घाटन जापानी दूतावासका मिशन उप–प्रमुख तामुरा ताकाहिरोले गरेका थिए । यो चेम्बर कुनै मुनाफा वितरण नगर्ने गरी सञ्चालन गरिने बताइएको छ । आर्जित मुनाफा चेम्बरका उद्देश्यहरू पूरा गर्न मात्र खर्च गरिने व्यवस्था रहेको छ । यस संस्थाको सदस्य बन्न इच्छुक १८ वर्ष उमेर पुगेका नेपाली नागरिकले १० हजार शुल्क बुझाएर सदस्यता प्राप्त गर्न सक्ने बताइएको छ । तर, सदस्यता हस्तान्तरण गर्न भने नसकिने अध्यक्ष ज्योतिले जानकारी दिए ।

संस्थाले समाज कल्याण ऐन २०४९ तथा कम्पनी ऐन २०६३ अनुसार कानुनी प्रक्रिया पालना गर्दै वैदेशिक आर्थिक, प्राविधिक, तथा वस्तुगत सहयोग लिनुपरेमा समाज कल्याण परिषद्को पूर्व स्वीकृति लिनेछ ।
चेम्बरको कोष सदस्यता शुल्क, अनुदान, तथा अन्य वैधानिक स्रोतबाट संकलन गरी सञ्चालन गरिने बताइएको छ । कुनै संशोधन आवश्यक परेमा, साधारण सभाबाट पारित विशेष प्रस्तावका आधारमा मात्रै कार्यान्वयन गरिने पनि संस्थाको विधानमा उल्लेख छ ।





























प्रतिक्रिया